पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

आश गुरुङ

लमजुङ — पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । उक्त सडक हिमाली जिल्ला मनाङ पुग्ने एकमात्र सडक हो । बुधबार राति सडकका ठाउँठाउँमा पहिरो गएपछि बिहीबार बिहानैदेखि उक्त ठाउँमा सवारी आवागमन ठप्प भएको स्थानीयले बताएका छन् ।

लमजुङ खण्डमा पर्ने विभिन्न ३ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।

Yamaha

मर्स्याङ्दी गाउँपालिका-३ अर्खलेबेंसी, ४ को काप्रेभीर र मनाङ सिमाना नजिकै च्याम्चे क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध बनेको पहिरो गएको ठाउँ पुगेका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

पहिरो खुलाउन प्रजिअ ढकाल, डीएसपी यादव ढकालसहितको टोली पुगेको र खुलाउने प्रयास भइरहेको उनीहरुले बताएका छन् । उक्त क्षेत्रमा निर्माणधिन जलविद्युत आयोजना, प्रहरी र स्थानीयको सहयोगमा सडक खुलाउने काम थालिएको प्रजिअ ढकालले बताए ।

मर्स्याङ्दीगाउँपालिका ४ का वडा अध्यक्ष सुमन गुरुङले सडकमा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको र खुलाउनेकार्यमा लागेको बताए । पहिरोका कारण पैदलयात्रीलाई वारपार गर्न समस्या परेको उनले बताए ।

Esewa Pasal

प्रकाशित : असार १४, २०७५ ११:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मनोमानी रूपमा औषधि बिक्री

स्थानीय ४ मेडिकलमा सिलबन्दी
कान्तिपुर संवाददाता

नेपालगन्ज — बाँकेका औषधि पसल सञ्चालकले चिकित्सकको सिफारिसबिना नै औषधि बिक्री गरी सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्दै आएको पाइएको छ ।

मापदण्ड पूरा नगरी औषधि बिक्री गरेको भन्दै सिल गरिएको नेपालगन्ज २० राँझास्थित मेडिकल । तस्बिर : ठाकुरसिंह

औषधि पसल सञ्चालनका लागि अनुमति लिएकाले बिक्री अनुमति नलिएका औषधिसमेत बिक्री गरी स्वास्थ्यमाथि खेलवाड गरेका हुन् । चिकित्सकको सिफारिसबिना नशालु औषधिसमेत बिक्री गरेको पाइएको अनुगमनकर्ताले बताए । दर्ता भएका अधिकांश औषधि पसलेले पनि बिक्री गर्दा मापदण्ड पूरा नगरेको पाइएको छ । पछिल्लो समय बाँकेका विभिन्न स्थानमा सञ्चालित औषधि पसलको अनुगमन गरेपछि उक्त तथ्य खुलासा भएको हो ।

मापदण्ड पूरा नगरी बिक्री वितरण गर्ने सञ्चालकलाई औषधि व्यवस्था विभाग नेपालगन्जले कारबाही सुरु गरेको छ । सातायता अनुमति नलिएका औषधि बिक्री गर्ने तीन पसल सिल गरिएको छ । उनीहरूको औषधि बिक्री अनुमतिपत्र ३० दिनका लागि निलम्बन गरिएको विभागका फार्मेसी निरीक्षक यादवप्रसाद ढकालले बताए । ‘औषधि पसल सञ्चालन अनुमति लिने तर बिक्री अनुमति नलिएका धेरै भेटिए । चिकित्सकको सिफारिसबिना नै औषधि बिक्री गरिएको पनि पाइयो,’ उनले कान्तिपुरसँग भने, ‘कतिपय पसलेले नशा लाग्ने औषधि विवरण नै नराखी बिक्री गरेको पाइएपछि कारबाही सुरु गरेका छौं ।’

आइतबार अनुगमन गर्दा चार औषधि पसल सञ्चालकले त्यसरी बिक्री गरेको भेटिएपछि उनीहरूलाई कानुनी दायरामा ल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिका २० राँझास्थित शान्ति नन्दन मेडिकलले अनुमति नलिएका औषधि बिक्री गरेको पाइएपछि एक महिना निलम्बन गरी सिल गरिएको छ । औषधि ऐन २०३५ को दफा १० (क) बमोजिम मेडिकल सञ्चालक रामनन्दनप्रसाद बर्माको औषधि बिक्री इजाजत निलम्बन गरिएको हो ।

त्यस्तै, कोहलपुरस्थित सीमा मेडिकल हल, आयुर्वेद औषधि पसल र सुरक्षा मेडिसिन डिस्ट्रिब्युटरलाई कारबाहीको दायरामा ल्याइएको निरीक्षक ढकालले जानकारी दिए । सीमा मेडिकल सञ्चालकले अनुमति नलिएका साइकेटिक औषधिको बिक्री गरी अभिलेख नराखेका कारण कारबाही गरिएको हो । आयुर्वेद औषधि पसलेले अनुमति नै नलिई एलोपेथिक औषधि बिक्री गरेको र सुरक्षा मेडिसिनले दर्ता नभएका औषधि पसललाई वितरण गरेको पाइएपछि कारबाही गरिएको निरीक्षक ढकालले बताए । बाँकेमा एउटा व्यक्तिका नाममा औषधि पसल दर्ता गरेर अर्कैले सञ्चालन गर्ने गरेका थुप्रै छन् । कतिपय औषधि पसलमा फार्मेसी नपढेका व्यक्तिले औषधि बिक्री गर्दै आएका छन् । औषधि व्यवस्था विभागले यहाँका शतप्रतिशत औषधि पसलको अनुगमन गर्न भ्याएको छैन ।

यसअघि नेपालगन्ज १८ कारकाँदोस्थित लामा मेडिकल हल र कोहलपुर ११ स्थित जीवनज्वाला मेडिकल हलमा अनुमति नलिएका औषधि बिक्री गरेको पाइएको थियो । औषधि व्यवस्था विभागले अनुमति नै नलिई औषधि बिक्री गर्ने दुवै मेडिकल हलको अनुमतिपत्र १५ दिनका लागि निलम्बन गर्दै त्यस अवधिसम्म औषधि पसल सिल गरेको थियो ।

प्रकाशित : असार १४, २०७५ ११:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT