संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

रासस

काठमाडौँ — सांसद खगराज अधिकारीले प्रतिनिधिसभामा निर्माणाधीन खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइका आयोजनाको उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दै सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका छन् । 

सांसद अधिकारीले प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘देशभर निर्माणाधीन अवस्थामा रहेको चालु आव २०७५/७६ सम्म सरकारको छनोटका खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइ र अन्य आयोजना सम्पन्न गरी तत् प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन आवश्यक भएको’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले संविधानले संघ, प्रदेश र स्थानीय तहको अधिकार बाँडफाँड गरेको अवगत गराउँदै निमार्णाधीन खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइ र अन्य आयोजना प्रदेश तहमा हस्तान्तरण गरे पनि प्रदेशमा आवश्यक उपकरण, स्रोतसाधन र जनशक्तिको कमी रहेको बताए ।

Yamaha


सांसद अधिकारीले त्यस्ता आयोजनाका बारेमा प्रदेशमा संघले गरोस् भन्ने मान्यतासमेत रहेको उल्लेख गरे । उक्त प्रस्तावका समर्थक सांसद विशाल भट्टराईले एक सरकारले सुरु गरेको आयोजना अर्को सरकारले अविछिन्न रुपमा सम्पन्न गर्नुपर्ने र निर्माणाधीन आयोजनालाई बेवारिसे अवस्थामा छोड्न नहुने बताए ।

सांसद ध्रुवकुमार शाहीले प्रस्तावको समर्थन गर्दै कुनै पनि खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइसम्बन्धी आयोजना सम्पन्न गरी हस्तान्तरण गरेपछि मात्र नयाँ आयोजना सुरु गर्दा उपयुक्त हुने धारणा व्यक्त गरे । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद मीनबहादुर विश्वकर्माले बजेट विनियोजनमाथिको छलफल चलिरहेका बेला छलफललाई प्रभावित गर्ने गरी सत्ता पक्षकै सांसदबाट सार्वजनिक महत्वको प्रस्ताव आउँदा शंका उत्पन्न भएको छ भने ।

उनले सार्वजनिक महत्वको प्रस्तावका विषयवस्तु महत्वपूर्ण भए पनि सरकारले बजेटमा विनियोजनमा गरेको भेदभावपूर्ण व्यवहारको परिणाम स्वरुप सत्ता पक्षका सांसदले असन्तुष्टि पोख्न यो प्रस्ताव ल्याएको आरोप लगाए ।

सांसद अतहर कमाल मुसलमानले विकास निर्माणका आयोजनामा संघले अनुगमन गर्नुपर्ने बताए । सांसद घनश्याम खतिवडाले संविधानको अनुसूचीमा तीनै तहका अधिकार बाँडफाँड गरिएको भए पनि निमार्णाधीन आयोजना केन्द्रीय सरकारले सम्पन्न गर्नुपर्ने बताए ।

सांसद यज्ञराज सुनुवारले सार्वजनिक महत्वको प्रस्ताव महत्वपूर्ण भएकाले संसद्ले गम्भीरतापूर्वक लिई सुनुवाइ गर्नुपर्ने धारणा व्यक्त गरे । सांसद भवानीप्रसाद खापुङले संविधानअनुसार प्रदेश र स्थानीय तहमा आयोजना निर्माण समयको किटानी गरेर आवश्यक प्राविधिक जनशक्ति र बजेटको व्यवस्थापन गर्नुपर्ने सुभाव दिए ।

सांसद गणेशसिंह ठगुन्नाले कतिपय ठूला आयोजनाका लागि केन्द्र सरकारबाट छुट्याइएको बजेट निकै कम भएको भन्दै त्यस्तो रकमले प्रभावकारी काम हुन नसक्ने तर्क गरे । सांसद रीता न्यौपानेले प्रदेश सरकारसँग तत्काल राष्ट्रिय महत्वका ठूला सडक र पुल निर्माण गर्ने क्षमता विकास भइनसकेकाले त्यस्ता आयोजनाको निर्माण केन्द्रीय सरकारले नै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

सांसद गणेश पहाडीले खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइसम्बन्धी निर्माणाधीन योजना बजेट बिना स्थानीय र प्रदेश तहमा हस्तान्तरण गर्दा पूरा गर्न कठिन हुने बताए । सांसद कृष्णकुमार श्रेष्ठले केन्द्रबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएका निर्माणाधीन आयोजना केन्द्रबाटै सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गरे ।

सांसद महेश बस्नेतले स्थानीय तहलाई स्रोतसाधन सम्पन्न बनाउनुपर्ने र समयमै विकास निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्नुपर्नेमा जोड दिए । सांसद लक्ष्मणलाल कर्णले केन्द्र सरकारले बजेटको बहानामा योजना सम्पन्न नगर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउँदै संघीयता कार्यान्वयनका लागि प्रदेश सरकारलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

सांसद प्रेमबहादुर आलेले कतिपय योजनामा बहुवर्षीय ठेक्का भएर पनि आवश्यक बजेट विनियोजन नहुँदा काम अघि बढ्न नसकेको गुनासो गर्दै त्यस्ता योजना केन्द्र सरकारबाटै सम्पन्न हुनुपर्ने बताए ।

सांसदहरु यज्ञबहादुर बोगटी, बिमला विक, सरिताकुमारी गिरि, कृष्ण राई, दुर्गा पौडेल, भरतकुमार साह, छक्कबहादुर लामा, प्रेम सुवाल, अग्निप्रसाद सापकोटा, टेकबहादुर बस्नेत लगायतले निर्माणाधीन खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइका आयोजना अलपत्र हुन नदिन विशेष व्यवस्था गरी केन्द्र सरकारले नै सम्पन्न गरी स्थानीय तहमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका थिए ।

सांसद अधिकारीले केन्द्रको स्रोतबाट निर्माणाधीन आयोजना अलपत्र हुनसक्ने र समयमै सम्पन्न हुन नसक्ने र विकास निर्माणमा गम्भीर असर पर्ने भएकाले ती आयोजना समयमै सम्पन्न गर्न अत्यावश्यक भएको भन्दै गत जेठ २९ गते संघीय सचिवालयलमा उक्त प्रस्ताव दर्ता गराएका थिए ।

Esewa Pasal

प्रकाशित : असार १४, २०७५ १५:१७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

देशैभर फैलियो मनसुन

सामान्यदेखि मध्यम खालको वर्षा हुने
रासस

काठमाडौँ — यस वर्षको मनसुन देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले एक विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले तीन दिनसम्म देशका धेरै स्थानहरुमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।

देशका पूर्वी र मध्यका केही स्थानमा सक्रिय भएको मनसुन बुधबारदेखि मध्य हुँदै पश्चिमतर्फ फैलिएको मौसमविद् सुवास रिमालले जानकारी दिए ।

उनका अनुसार क्रमिक रुपमा मनसुनी वर्षाको गतिविधि बढ्नेछ । बिहीबार पनि देशका अधिकांश भेगमा बदली र केही स्थानमा वर्षा भएको छ । बिहीबार साँझ र रातितिर काठमाडौं उपत्यकासहित देशका केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाले यस वर्ष जेठ २५ (जुन ८) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश भएको घोषणा गरेको थियो । मनसुन घोषणा भएको लामो समय बितिसक्दा पनि पूर्ण रुपमा सक्रिय हुन नसक्दा पर्याप्त वर्षा हुन सकेको थिएन ।

महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार सबैभन्दा बढी डडेल्धुरामा १८, दाङमा १२, विराटनगरमा ११ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौंको भने वर्षा रेकर्ड गरिएको छैन । बिहीबार काठमाडौंको अधिकतम् तापक्रम ३० र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित : असार १४, २०७५ १५:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT