स्थानीय तहमा ऐनविपरीत बजेट

असार १० भित्रै बजेट पेस गरिसक्नुपर्नेमा प्रदेश ४ का कतिपय स्थानीय तहले अझै ल्याएका छैनन् । ल्याएकाहरूले छलफलबिनै पारित गरेका छन् । सभाको अध्यक्षता गरेका पालिका प्रमुखले नै बजेट पेस गरेका छन्
कान्तिपुर संवाददाता

पोखरा — स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ उपदफा १ ले भन्छ, ‘सबै स्थानीय तहका उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको सदस्यले आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्रै सभामा पेस गर्नुपर्छ ।’ सोही दफाका विभिन्न उपदफामा बजेटमाथि कार्यतालिका बनाई १५ दिनभित्र छलफल सक्नुपर्ने, परिमार्जन गर्न सकिने र असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने उल्लेख छ ।

Yamaha

तर प्रदेश ४ का विभिन्न स्थानीय तहले अझै बजेट प्रस्तुत गरेका छैनन् । प्रस्तुत गरेकामध्ये पनि कतिपयले सामान्य छलफल मात्र र कसैले छलफलै नगरी पारित गरेको पाइएको छ । सभाको अध्यक्षता गरेका पालिकाका प्रमुखले नै बजेट पेस गरेको भेटिएको छ ।

स्याङ्जाका अधिकांश स्थानीय तहले आर्थिक वर्ष २०७५/०७६ को बजेट अझै ल्याएका छैनन् । असार १० मा नगर र गाउँसभा गरी नीति तथा कार्यक्रम ल्याइए पनि बजेट बाँकी छ । ५ नगर र ६ गाउँपालिकामध्ये फेदीखोला गाउँपालिकाले मात्रै बजेट प्रस्तुत गरेको छ । पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीले जनताको अपेक्षाअनुरुप जान आफूखुसी बजेट नल्याएको बताइन् । ‘कहाँ के आवश्यक छ, बहस चलाउँछौं अनि मात्र बजेट ल्याएर पारित गर्छौं,’ उनले भनिन्, ‘जनताको आवश्यकताभन्दा बाहिरी क्षेत्रमा बजेट नजाओस् भनेर ढिला भएको हो ।’ गत वर्ष सडकमा मात्र ठूलो बजेट परेको भन्दै विषयगत कार्यालयले विरोध गरेकाले अहिले त्यसलाई समेट्न प्रारम्भिक छलफलमै समय लागेको हो ।

भीरकोट, चापाकोट, गल्याङ र वालिङ नगरपालिका, आँधीखोला, कालीगण्डकी, बिरुवा, अर्जुनचौपारी र हरिनाश गाउँपालिकामा नीति तथा कार्यक्रम पास भएको छ । बजेट भने ल्याइएको छैन ।

कास्कीका रूपा र अन्नपूर्ण गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐनविपरीत बजेट प्रस्तुत गरेका छन् । दुवै गाउँपालिकाका अध्यक्षले नै नियम मिचेका हुन् । रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले असार ८ को गाउँसभामा बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरे । त्यो भोलिपल्टै पारित भयो । गत वर्षजस्तै यसपालि पनि आफैंले बजेट प्रस्तुत गरेको उनी बताउँछन् । ओझाले कार्यपालिकाले आफूलाई बजेट प्रस्तुत गर्न तोकेको जनाए पनि लिखित निर्णय भएको देखिँदैन । उपाध्यक्ष लाल सुब्बा गुरुङले आपसी समझदारीमा अध्यक्षलाई बजेट प्रस्तुत गर्न दिइएको बताइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेलले उपाध्यक्षकै अध्यक्षतामा बनेको बजेट तथा योजना तर्जुमा समितिले बजेट निर्माण गरेको जनाए । ‘उपाध्यक्षले पेस गरेको बजेट कार्यपालिका बैठकले अनुमोदन गर्‍यो,’ उनले भने, ‘अरू सबै प्रक्रियामै भयो, गाउँसभामा बजेटको प्रस्तुतीकरण मात्रै अध्यक्षले गर्नुभएको हो ।’

अन्नपूर्ण गाउँपालिकामा पनि आइतबार अध्यक्ष युवराज कुँवरले ५० करोड ४४ लाख रुपैयाँको बजेट प्रस्तुत गरे । पारित पनि भइसकेको छ । उनले बजेट प्रस्तुत गर्दा गल्ती भएको स्वीकारे । ‘गत वर्ष कार्यादेशबमोजिम आफैंले प्रस्तुत गरकाले यस वर्ष पनि आफैंले गर्ने होला भन्ने भयो,’ उनले भने, ‘गल्ती भएछ भन्ने पछिमात्रै थाहा भयो ।’ उपाध्यक्ष सगुन गुरुङले पनि आफूलाई यस विषयमा थाहा नभएको बताइन् । ‘बजेटको तयारी मेरै अध्यक्षतामा भयो,’ उनले भनिन्, ‘प्रस्तुत पनि मैले नै गर्नुपर्छ भन्ने थाहा भएन ।’

तनहुँको व्यास नगरपालिकाले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । गत आइतबार उपप्रमुख मीरा जोशीले नीति, कार्यक्रम र बजेटसँगै प्रस्ताव गरेकी थिइन् । नगरपालिकाले बुधबार डाकेको पत्रकार सम्मेलनमा मेयर वैकुण्ठ न्यौपानेले बजेट सर्वसम्मत रूपमा पारित भएको बताए । बजेट १ अर्ब १२ करोड २४ लाख ३४ हजार रुपैयाँको छ ।
भिमाद नगरपालिकामा नीति कार्यक्रममाथि छलफल भइरहेको छ । म्याग्दे, ऋषिङ, आँबुखैरेनी गाउँपालिकाले नीति तथा कार्यक्रम पेस गरेका छन् । बन्दीपुर गाउँपालिकाले भने असार १९ लाई गाउँसभा बोलाएको छ । सोही सभामा नीति, कार्यक्रम र बजेट प्रस्ताव गरिने उपाध्यक्ष करुणा गुरुङले बताइन् ।
गोरखाको धार्चे गाउँपालिकाको बजेट अधिवेशन प्रतिपक्षी दलका गाउँसभा सदस्यको विरोधपछि स्थगित भएको छ । आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको गाउँपालिकाले मंगलबार बजेट अधिवेशन आह्वान गरेको थियो । गाउँपालिका उपप्रमुखको संयोजकत्वमा हुने बजेट तथा योजना तर्जुमा समिति गठनै नगरी प्रस्तुत भएपछि बहिष्कार गरिएको ६ नम्बर वडाध्यक्ष धनकुमार घलेले बताए । ‘विषयत समितिसँग छलफल गरेर बजेट प्रस्तुत गर्नुपर्ने रहेछ, त्यसो भएन, कार्यपालिका सदस्यसँग पनि छलफल गरिएन,’ उनले भने, ‘वडा भेलाबाट योजना आइसकेको छ, अध्यक्षले जनसंख्या आधारमा बजेट बाँडफाँड नगर्ने, टुक्रे योजनामा पैसा नहाल्ने भन्दै नयाँ प्रस्ताव पेस गर्नुभयो ।’ बजेट बाँडफाँडमा चित्त नबुझेपछि विपक्षी दलका गाउँसभा सदस्य उठेर हिँडेका थिए ।

गाउँसभामा विपक्षी नेकपाका २५ सदस्य छन् भने प्रमुख र उपप्रमुखसहित कांग्रेसका १४ सदस्य छन् । गाउँपालिका प्रमुख सन्तोष गुरुङले केही दिनलाई बजेट अधिवेशन स्थगित भएको बताए । नीति तथा कार्यक्रमसँग नमिल्ने खालका योजना आएको उनको भनाइ छ । ‘यस वर्ष टुक्रे योजनामा र दामासाही रूपले रकम नबाडौँ भन्ने सहमति थियो, योजनाअनुसार आउँदा त्यसरी नै आयो, यही कारण समस्या भएको हो,’ गुरुङले भने ।
(प्रतीक्षा काफ्ले, दीपक परियार, प्रताप राना, हरिराम उप्रेतीको सहयोगमा)



प्रकाशित : असार १४, २०७५ १८:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

४० हजार अमेरिकी डलरसहित युवक पक्राउ

हरिहरसिंह राठौर

धादिङ — अवैध रुपले झोलामा ४० हजार अमेरिकी डलर बोकेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पृथ्वीराजमार्गको सिम्लेमा स्थानीय पसलेसँग सस्तो दरभाउमा डलर साट्‌ने क्रममा प्रहरीले शंका गरी पक्राउ गरेकोथियो ।

प्रहरीले नवलपरासी जिल्ला सरावल गाउँपालिका–३ निवासी २८ वर्षीय आनन्दप्रसाद कलवारलाई डलरसहित पक्राउ गरेको हो ।

कलवारसँग एक सय दरका ४ सय थान अमेरिकी डलर बरामद भएको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए । कलवारले आफूसँग रकम नभएर खाना नखाएको भन्दै सस्तोमा डलर साटी दिन पसलेसँग आग्रह गरेका थिए ।

त्यति ठूलो मात्रामा नगद बोकेर सस्तो दरभाउमा साट्‌न खोज्नुले नक्कली डलरको आशंका भएपनि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग , ललितपुर पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित : असार १४, २०७५ १७:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT