तीन बालबालिकाको शंकास्पद मृत्युः अनुसन्धानमै बित्यो वर्षदिन

विद्या राई

काठमाडौँ — भोजपुरको पूर्वी अरुण गाउँपालिका –३ मा तीन अबोध बालबालिकाको ‘शंकास्पद’ मृत्यु भएको एक वर्ष बितेपनि अनुसन्धान अझै टु‌ंगो लागेको छैन ।

अनुसन्धान कहाँ पुग्यो, किन ढिला भइरहेको छ भन्ने सवालमा प्रहरी, प्रशासन र सरोकारवाला बेखबर छन् । अनुसन्धान निकाय, राजनीतिक दल, जनप्रतिनिधिहरु अनुसन्धानप्रति मौन छन् ।

Yamaha

स्थानीय निर्वाचनताका १४ वर्षीय रञ्जीव सापकोटा, १३ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयालको ‘शंकास्पद’ मृत्यु भएको थियो । असार १० गते साँझ अचानक हराएका तीनै बालबालिकाको शव १२ गते मरेङडाँडास्थित स्थानीय तोरन कार्कीको माछा पोखरीमा फेला परेको थियो ।

उक्त घटनाबारे सुरुमा जिल्ला प्रहरी कार्यालय र क्षेत्रीय अनुसन्धान ब्युरो, विराटनगरले एकसाथ एक महिना लामो अनुसन्धान गरेका थिए । उनीहरूको अनुसन्धान ढिलो र शंकास्पद बन्दै गएको स्थानीयको गुनासोपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको थियो । सीआइबीको टोलीले गत वर्षको साउन १३ गते घटनास्थल पुगी एक साता अनुसन्धान गरेर काठमाडौं फर्केको थियो ।

अनुसन्धान अधिकृत दधिराम न्यौपानेको नेतृत्वमा खटिएको सीआईबी टोलीले घटनाबारे सत्यतथ्य ल्याउन पीडित परिवारले अपेक्षा गरेका थिए । तर एक वर्ष बित्दासम्म यथार्थ पत्ता लाग्नुको साटो अनुसन्धान सुस्ताउदै गएपछि पीडित परिवारमा पीडा र निराशा थपिदै गएको छ ।

चाँडै पत्ता लाग्ने आशा एक वर्षसम्म पुरा नभएपछि पीडित परिवार गुनासो गर्न थालेका छन् । ‘किन लुकाएका हुन्, ढाँट्नुपर्ने कारण के छ, खेलबाड किन गरिरहेका हुन्, थाहा पाउन सकिएन,’ रञ्जीवका बुबा रविन्द्र सापकोटाले भने । घटनाको अनुसन्धान भन्दै सामान्य बनाएर गुपचुप बनाउने हुन् कि भन्ने पिडाले पीडित परिवारलाई चिन्ता छ ।

पीडित परिवारसँग घटनाबारे यथार्थ पत्ता लाग्ने आशा अहिलेसम्म जिवितै छ । मृतक सुष्मा र प्रदीपका बुबा चेतनाथ फुयाल भन्छन्, ‘वर्षौपछि नै भएपनि एकदिन त न्याय कसो नपाइएला, घटनाको रहस्य कसो पत्ता नलाग्ला ?’ अनुसन्धानका नाममा समय लम्ब्याउदै जति नै ढाकछोप गर्न खोजेपनि लुक्न/लुकाउन नसक्ने उनको तर्क छ ।

जिल्लामा यस घटना भएपछि चार जना सीडीओ र तीनजना डीएसपी फेरिए । घटना भएको बेला कार्यरत सीडीओ गोमादेवी चेम्जोङ र डीएसपी काजीकुमार आचार्य विवादित बनेर अन्यन्त्र सरुवा भए । त्यसपछि आएका नेतृत्वले अनुसन्धान भइरहेको भनेर टार्दै सरुवा हुँदै अन्यत्र जाने गरेका छन् ।

अनुसन्धान निकायको चासो पातलिदै गएको छ । जिल्लाबाट सीडीओ, डीएसपी, सहायक सीडीओ पटक पटक प्याउली पुग्छन् । पीडित र स्थानीयसँग घटनाबारे सोध्ने र फर्कने बाहेक अन्य पहल गर्न सकेका छैनन् । सीडीओ र डीएसपीसँग के भइरहेको छ भन्दा पनि के भएको थियो र सीआइबीलाई औँल्याउने बाहेक अन्य जवाफ नै हुदैन ।

सीडीओ हिरादेवी पौडेलले घटना सीआइबीमा छानबिन भइरहेको बाहेक जानकारी नभएको बताइन् । थप जानकारीका लागि सीआइबीलाई नै सोध्न भनिन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी केशव थेबेले पनि सीआइबीलाई नै औँल्याए । ‘एकचरण अनुसन्धान भइसकेको जानकारीमा छ, निचोड के हो भन्ने सीआइबीले ल्याएको छैन,’ उनले भने, ‘थप जानकारीका लागि सीआइबीलाई नै सोध्नुहोस् ।’

सीआईबीमा डीआईजी पुष्कर कार्कीदेखि नारायण सिंह खड्कासम्म नेतृत्व फेरिदा अनुसन्धान जहिको त्यहि छ । यसअघि अनुसन्धानका डकुमेन्ट, पोष्टमार्टम रिपोर्ट, भिसेरा, डायटम परीक्षण प्रतिवेदन, स्थानीयको बयान र प्राविधिक विश्लेषण हेर्दा कसैले कर्तव्य गरी मारेको नदेखिएको सीआइबीले बताएको थियो । एक लेभलको अनुसन्धान केन्द्र र प्रदेशको चुनावअघि नै जिल्ला प्रहरी कार्यालय भोजपुरमा पठाएको बताएको थियो ।

‘पहिले जे थियो त्यसबाहेक थप प्रगति छैन, अनुसन्धान जारी छ,’ सम्पुर्ण जिम्मेवारी जिल्ला प्रहरी कार्यालयलाई दिएको डीआइजी खड्काले भने, ‘घटनाको बेला प्राविधिक सहयोगको लागि सीआइबीले सहयोग गरेको हो, घटना दर्ता उही भएकाले मिसिल, रिपोर्ट, फाइल सबै उतै छन्, थप अनुसन्धान गरिरहेको होला यसबारे उतै डीएसपीलाई बुझ्नुहोस् ।’ यस्ताखाले घटना २० औँ वर्षसम्म अनुसन्धान गरेर निचोड निकालेर पनि मुद्दा चलाउन मिल्ने भएकोले आत्तिनु नपर्ने उनको भनाइ छ ।

अनुसन्धान भन्दै घटना सामान्य बन्दै गएपछि पीडितलाई आशंका थपिदै गएको छ । पोष्टमार्टम रिपोर्ट पीडित पक्षलाई देखाइएको छैन । पोष्टमार्टम भोजपुर सदरमुकाममा नगरी शव धरान लैजानुले सत्यतथ्य लुकाउन खोजिएको पीडित बताउँछन् । शव पोष्टमार्टम गरिएको अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘डाइटम कम्पेयर टेस्ट’ प्रविधि नहुँदा शंकास्पद मृत्यु घटना अनुसन्धान जटिल बनेको प्रतिष्ठानले बताउँदै आएको छ ।

प्रतिष्ठानका विशेषज्ञले जाँच गर्दा प्रदीपको घाँटीमा खानेकुरा अड्किएको, सुष्मा र रञ्जीवको घाँटीमा चुईँगम अड्किएको फेला पारेका थिए । चिकित्सकका अनुसार बालबालिकाको शरीरमा अन्य चोटपटक, दागधब्बा र विषादी थिएन ।

उनीहरूको मृत्यु डुबेरै भएको वा हत्या गरेर पोखरीमा फालिएको भन्ने छुट्याउन डाइटम कम्पेयर टेस्ट गर्नुपर्ने फरेन्सिक विशेषज्ञको भनाइ छ । काठमाडौं, सामाखुसीस्थित प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले प्रविधि अभाव देखाउँदै ‘डाइटम कम्पेयर टेस्ट’ गर्न नसकेको रिपोर्ट दिएको थियो ।

प्रतिष्ठानका फरेन्सिक विशेषज्ञ सहायक प्राध्यापक डा. विकास साह र जुनियर रेसिडेन्ट डा. दीक्षान्त पोखरेलको टिमले बालबालिकाको मृत्युको यकिन कारण खुल्न नसकेको भनी साउन अन्तिम साता प्रहरीलाई रिपोर्ट बुझाएको थियो ।

डाइटम ल्याब राख्न गृह मन्त्रालयको अनुमति नभएकाले मृत्युको कारण खुलाउन नसकेको रिपोर्टमा उल्लेख थियो । मृतक बालबालिकाको शरीरमा पाइएको र पोखरीको पानीको डाइटम तुलनापछि मात्र मृत्युको सही तथ्य फेला पार्न सकिने उनीहरूको तर्क छ । देशभित्र यस्तो प्रविधि नभए अन्य मुलुकमा लगेर पनि जाँच गर्न सकिने चिकित्सक टिमले प्रहरीलाई सुझाएका थिए । डीआईजी खड्काले यसको फाइल आफूसित नभएकाले बोल्न नमिल्ने बताए ।

नेतृत्वपंक्ति बेखबर
घटनालगत्तै पूर्वसांसद कुमारीलक्ष्मी राईले घटनास्थलमा लगिएको कुकुर चुनावी सुरक्षामा खडा गरिएको सेनाको बिटमा पस्न लाग्दा तानिएको अभिव्यक्ति दिएपछि देशभर यो चर्चाको विषय बनेको थियो ।

केहि समय चर्चाको विषय बनेपनि त्यसयता घटनाको चर्चा हुन छाडेको छ । कांग्रेसका जिल्ला सभापति नन्दमणि राईले पछिल्लो अपडेटबारे जानकारी नभएको बताए । ‘पहिले बुझ्दा अनुसन्धान हुदैछ भन्थे, अहिले के हुदैछ बुझेको छैन,’ उनले भने ।

अधिकारकर्मी सविना राई भन्छिन्, ‘पहिले पटक–पटक ताकेता गरेकै हो, पछिल्लो समय बुझ्न सकेको छैन, भोजपुरमा बालबालिकाको क्षेत्रमा ठुलो घाटा पुगेको छ, सरकार चुपचाप छ ।’ जिल्ला तहले पहल गरेर मात्रै पार नलाग्ने भएपछि पीडित परिवार माथिल्ला नेतृत्वपंक्तिमा गुहार माग्न पुगेका थिए ।

सरकारको प्रशासनिक तथा राजनीतिक उच्च ओहदामा भोजपुरकै माटोले जन्माएका व्यक्तित्वले नेतृत्व गरिरहेका छन् । हाल पनि मुख्यमन्त्री शेरधन राई, प्रतिनिधिसभा सदस्य सुदन किरातीदेखि राष्ट्रपति विद्यादेवी भण्डारीसम्मले नेतृत्व सम्हालिरहेका छन् ।

तर आफ्नै जिल्लामा भएको घटनाबारे बेवास्ता गरिदिएको पीडित परिवार दुखेसो पोख्छन् । यसबारे प्रतिनिधिसभाका सदस्य सुदन किरातीले नयाँ सरकार गठनसँगै बजेट र कार्यक्रममा खट्नुपरेकाले केहि ओझेलमा परेको बताउँछन् । ‘बेवास्ता गरेको भन्दा पनि समय अभावले बुझ्न नपाएको हो,’ उनले भने ।

पिडा र संघर्षका वर्षदिन
पीडित परिवारको एकवर्ष घटना टुगों लाग्ला, न्याय पाउँला भन्ने आशा र संघर्षमै बित्यो । पीडित परिवार र उनका पक्षले स्थानीय सरकारदेखि प्रधानमन्त्री, राष्ट्रपति कार्यालयसम्म धाए । गाउँमा सघंर्ष समिति बनाएर अनुसन्धान चाडो र प्रभावकारी हुनुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रम महिनौसम्म चलाए ।

अरुण गाउँपालिका र जिल्ला प्रशासन कार्यालयसँग चरण चरणका बैठक भए । दुवै निकायले माग पुरा गरिदिने विश्वास दिलाएपछि आन्दोलन रोकिए । अनुसन्धानका लागि पहल गर्ने सहमति छदै थियो ।

तीनैजना बालबालिकालाई सहिद घोषणा गर्न र उनीहरु पढेका स्थानीय विद्यालय शारदा माविमा शालिक निर्माण गर्न पहल गर्ने, क्षतिपूर्ती दिलाउने गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले आश्वासन दिएका थिए । गृहमन्त्रालयमा पत्र लेखेर पठाइसकेको कार्की बताउँछन् । डेढ महिनाअघि गाउँपालिकाले जनही एक लाखको दरले पीडितलाई राहत दिएको छ ।

रञ्जीवका बुबा रवीन्द्र सापकोटा कृषिका कर्मचारी हुन् । सुष्मा र प्रदीपका बुबा चेतनाथ फुयालले प्याउली बजारमा फेन्सी पसल गरेर घरव्यवहार धान्दै आएका थिए । तीन सन्तानमध्ये दुईको शंकास्पद मृत्युपछि उनले साढे ४ लाखमा पसल विक्री गरे । शव पोष्टमार्टमका लागि धरान लैजाँदाको गाडी खर्च, पोष्टमार्टम र काजकिरिया खर्च धान्न पसल बेच्नुपरेको थियो ।

चेतनाथ गाउँमा बस्ने वातावरण नभएपछि ऋणपान गरेर इटहरीको हलगढास्थित आमाबुबाको घर पुगे । आठ महिनादेखि उनको परिवार गाउँ फर्किएका छैनन् । जग्गाजमिन बाँझै छ । छोरी र पत्नी निर्मला बिरामी छन् । बुढेसकालले छोएका बाबुआमाको स्थिती नाजुक छ । परिवारको स्थिती र अर्थोपार्जन गर्ने माध्यम नभएपछि दैनिकी दिनानुदिन दयनीय बन्दै गएको छ ।

गाउँमा आन्दोलनका गतिविधि रोक्नका लागि गाउँपालिका अध्यक्ष कार्कीले जिविका चल्ने जागिर लगाइदिने आश्वासन दिएका थिए । ‘अहिले यस्तो हुदैछ, उस्तो हुदैछ भन्ने पनि छैन, सबै चुपचाप छन्, गाउँपालिकाले गर्छु भन्न छाडेको छैन, केहि गरेको छैन,’ चेतनाथले भने ।

अध्यक्ष कार्कीले आन्दोलन रोक्न जागिरको प्रलोभन देखाएको कुरा स्वीकार्दैनन् । ‘सहानुभुतिका लागि सहयोग गर्छु पो भनेको हो, मैले मारेको होर जागिर खुवाएर आन्दोलन रोक्नु भनेको होर ?’ अर्थको अनर्थ नलाउन उनले भने । ‘पहल गर्ने ठाउँ सम्म पुगेको छु, पुग्नेछु, घटनाको टुगों लगाएर छाड्छु,’ उनले थपे ।
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कालीगण्डकीमा जिप खस्दा चालकसहित दुई बेपत्ता, उद्धारमा कठिनाई

कान्तिपुर संवाददाता

म्याग्दी — रघुगंगा गाउँपालिका-१, तिप्ल्याङ नजिक बिहीबार कालीगण्डकीमा जिप खस्दा चालकसहित दुई जना बेपत्ता भएका छन् । 

अन्नपूर्ण गापा-७, घराम्दीबाट सदरमुकाम बेनीतर्फ गइरहेको लु २ च २४५४ नम्बरको रातो प्लेटको डवल क्याविन भएको बोलेरो जिप अपराह्न करिब ४ बजे कालीगण्डकी नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिपमा चालक रवि खड्का र सविता परियार थिए । अन्य यात्रु भए/नभएको खुलेको छैन ।

घटनास्थलमा प्रहरी, स्थानीय पुगे पनि कालीगण्डकीमा पानीको सतह बढेकोले उद्धारमा कठिनाई भएको प्रहरी उपरीक्षक वीरबहादुर बुढाले बताए ।

घटनास्थल बेनी-जोमसोम सडकको बेगखोला खड्डामा पर्छ ।

प्रकाशित : असार १४, २०७५ १८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT