२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

गंगामायाको स्वास्थ्य गम्भीर : अस्पताल

काठमाडौँ — ३० दिनदेखि वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य गम्भीर र स्थिर रहेको अस्पतालले जनाएको छ । उनलाई आईसीयूमा राखिएको छ । १३ वर्षअघि भएको छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै उनी अनशन बसेकी छन् ।

गंगामायाको स्वास्थ्य गम्भीर : अस्पताल

‘उनको अवस्था गम्भीर भए पनि स्थिर छ,’ अस्पतालका निर्देशक डा.भूपेन्द्र बस्नेतले भने । उनका अनुसार गंगामायाको रगतको रुटिन परीक्षण प्रतिवेदन सामान्य देखिएको छ ।

संवेदनशील हुन आयोगको आग्रह
मानव अधिकार आयोगले गंगामायाको जीवनरक्षाका लागि संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ । आयोग अध्यक्ष अनुपराज शर्माले बिहीबार गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको भेटमा ३० दिनदेखि अनशनरत अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उल्लेख गर्दै संवेदनशील हुन आग्रह गरेका हुन् । उनले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न र रेडकर्नर नोटिस जारी भएका आरोपीलाई कूटनीतिक पहल वा अन्य उपयुक्त तरिकाबाट नेपाल झिकाई कानुनबमोजिम कारबाही गर्न आग्रह गरे ।

प्रत्युत्तरमा गृहसचिव राईले अधिकारीको जीवनरक्षाका लागि सरकार संवेदनशील भएको उल्लेख गर्दै दण्डहीनताको अवस्था आउन नदिन अविलम्ब पहल गर्ने प्रतिबद्धता जनाए । प्रहरी महानिरीक्षक खनालले रेडकर्नर नोटिस जारी भएको व्यक्तिलाई नेपाल ल्याउन प्रयास भइरहेको जानकारी गराए ।

यसैबीच नेपालका लागि राष्ट्रसंघीय आवासीय प्रतिनिधि भ्यालेरी जुलियन्डले गंगामायाको जीवनरक्षाका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन् ।

पुल्चोकस्थित राष्ट्रसंघीय आवासीय कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उनले नेपाल सरकार, मानव अधिकारसम्बन्धी संघसंस्था र अन्य सरोकारवालालाई भेटी गंगामायाको जीवनरक्षाका लागि आग्रह गरेका हुन् ।

प्रकाशित : असार १५, २०७५ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?