रौतहटमा प्रहरीसँगको भिडन्तमा एकको मृत्यु 

शिव पुरी

रौतहट — रौतहटको राजदेवी नगरपालिकास्थित सीमा क्षेत्रमा हतियारसहित आपराधिक समूह नेपाल प्रवेश गरेको सूचना पछि पक्राउ गर्न गएका सुरक्षाकर्मी माथि गोली प्रहार गरेपछि भएको भिडन्तमा बिहीबार राति एक जनाको मृत्यु भएको छ । 

रौतहटमा प्रहरीसँगको भिडन्तमा एकको मृत्यु 

घटनास्थलबाट प्रहरीले अत्याधुनिक हतियार एसएमजी र गोली बरामद गरेको छ । मृतकको सनाखत हुन सकेको छैन ।


राजदेवी नगरपालिकास्थित मुडवल्वा टोलको बाग्मती नदी तटबन्धमा हतियाधारी समूह पक्राउ गर्न केन्द्रिय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी र इलाका प्रहरीका डीएसपी शान्तिराज कोइरालासहितको टोली एम्बुस थापेर बसेको थियो । अनटेस्ट मोटरसाइकलमा आएका समूहलाई रोक्ने प्रयास गर्दा गोली प्रहार गरे पछि दोहोरो भिडन्त भएको हो ।


भिडन्तमा एकजनाको खुट्टा र पिठ्यूमा गोली लागेको थियो । २ जना भारततर्फ भागेको प्रहरीले जनायो । गोली लागेर घाइतेको उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइदै गर्दा बाटोमै मृत्यु भएको हो ।


घट्नास्थलबाट एकथान एसएमजी र गोलीहरु बरामद गरिएको डीएसपी कोइरालाले बताए । ‘सुरुमा पक्रने प्रयास गरेको हौ,’ उनले भने, ‘आपराधिक समुहबाट लगातार फायरिङ गर्न थाले पछि जवाफी कारबाहीमा एक जनाको मृत्यु भयो ।’


मृतकको पहिचान खुलेको छैन । घट्नास्थलमा राति ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सीमाक्षेत्र नजिक भिडन्त भएकोले उक्त समूह पारि भागेको हो । खुला सिमाका कारण आपराधिक काममा संलग्नहरु सहजै नेपाल–भारत वारपार गर्न सक्छन् । श्रोतका अनुसार हतियार बिक्रि गर्न उक्त समुह नेपाल आउँदा भिडन्तमा परेकाे हाे ।

प्रकाशित : असार १५, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?