हङकङमा मारिएका दिलबहादुरकी श्रीमती र छोरीलाई हङकङ आईडी

किसन राई

हङकङ — हङकङ प्रहरीले गोली हानी हत्या गरेका दिलबहादुर लिम्बूकी श्रीमती सोनी राई र छोरी तान्छोमा लिम्बूले स्थायी परिचयपत्र (परमानेन्ट आईडी) पाएका छन् । आईडीसँगै उनीहरुलाई फ्लाट र करिब चार लाख हङकङ डलर पनि उपलब्ध गराइएको छ ।

हत्याको किटनीसहित हङकङ प्रहरीविरुद्ध मुद्दा दायर गर्नअघि कानुनी सोलिसिटर र सहयोगीका साथ सोनी राई । आमा-छोरी ।

२०६५ साल चैत्र ४ का दिन निहत्था दिलबहादुर लिम्बूलाई प्रहरी जवान हुइ का–किले गोली हानेका थिए । हो मान्तिनस्थित सार्वजनिक पार्कमा बस्ने गरेका लिम्बूले हल्ला गरेको स्थानीयले सिकायत गरेपछि हुइ त्यहाँ पुगेका थिए । आईडी चेक गर्ने क्रममा उनीहरुबीच भएको विवादमा हुइले गोली चलाएका थिए ।

Yamaha

घटनापछि हङकङ नेपाली महासंघको नेतृत्वमा सम्पन्न विरोध प्रदर्शनमा हजारौं सहभागी बनेका थिए । प्रदर्शन हङकङ सरकारको मुख्यालयमा पुगेर सभामा परिणत भएको थियो । उक्त घटना विश्वभर समाचारको विषय बनेको थियो । सोही क्रममा नेपालमा रहेकी उनकी श्रीमती र छोरी हङकङ आएका हुन् ।

उक्त घटनालाई लिएर बनाएको छानबिन समिति (कोरोनर्स कोर्ट) ले ‘न्यायिक हत्या’ भन्ने प्रतिवेदन दिएपछि हत्यासम्बन्धी मुद्दा लगाइएको थियो । २०६७ साल माघ ७ का दिन अदालतले समितिको प्रतिवेदन सदर गर्दै मुद्दा खारेज गरेपछि सोनी राईको तर्फबाट क्षतिपूर्तिसम्बन्धी दाबी गर्ने बताइएको थियो । पुनरावेदनको लागि आर्थिक समस्या परेपछि कानुनी लडाइँ सकिएको थियो । सुरुआती मुद्दाका लागि सरकारी आर्थिक सहयोग (लिगल एड) प्राप्त भएको थियो ।
मुद्दामामिलाकै क्रममा सरकारले केही रकम दिएर नेपाल फर्काउन चाहेको महासंघका तत्कालीन अध्यक्ष हेम लिम्बूको अनुभव रहेको छ । नेपाल फर्कनुभन्दा आईडी प्राप्त गर्न सके आमा-छोरीको जीविकोपार्जन सहज हुने भएकोले उपायको खोजी गरिएको थियो । आश्रित भिसाको लागि स्पोन्सरको रुपमा रहेका दिलबहादुर लिम्बूको मृत्यु भइसकेकोले कानुनी व्यवधान रहेको थियो । यस स्थितिमा उनीहरुको बसाइ ७ वर्ष लम्ब्याउनुको विकल्प थिएन । यसका लागि छोरीलाई स्टुडेन्ट र आमालाई संरक्षकको रुपमा भिसा प्राप्त भएको थियो ।

हङकङको अध्यागमन ऐन (इमिग्रेसन अर्डिनेन्स) अनुसार वैधानिक कागजातसहित ७ वर्ष लगातार बस्ने व्यक्तिलाई स्थायी परिचयपत्र प्राप्त हुने सोलिसिटर एकनारायण शर्मा बताउँछन् । सोही अनुसार आमा–छोरीले स्थायी परिचयपत्र प्राप्त गरेका हुन् ।

Esewa Pasal

प्रकाशित : असार १५, २०७५ १७:२८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

किसन राई

हङकङ — नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया गरेको छ । नेपालीद्वारा सञ्चालित पाम्पास स्टेक हाउसमा सम्पन्न अन्तरक्रियामा कार्यसमिति, सल्लाहकार र संरक्षक समितिको सहभागिता थियाे ।

अन्तरक्रियापछि सहभागीहरु सामुहिक तस्बिरमा ।

कार्यक्रममा कन्सुल जनरल कमलप्रसाद भट्टराईले देशको बजेटको बारेमा प्रवासमा अन्तरक्रिया हुनु स्वागतयोग्य भन्दै प्रशंसा गरेका थिए। उनले संघीय संरचनापछिको पहिलो बजेट भएकाले विगत भन्दा फरक रहेको बताए।

भट्टराईले स्वदेशमा रोजगार बृद्धि गर्न विभिन्न योजनाको व्यवस्था गरिएको र गैर–आवासीय नेपाली (एनआरए) को संख्या घटाउनेतर्फ बजेट केन्द्रित रहेको बताए।

भन्सार तिरेर सय ग्रामसम्म सुन लैजान पाउने व्यवस्थाले एनआरएनलाई राहत पुगेको बताउादै उनले वैदेशिक रोजगारबाट फर्किएकालाई सीप प्रमाणिकरण गरी ऋण उपलब्ध गराउने व्यवस्थाको सुरुवातलाई सकरात्मक रुपमा लिन आग्रह गरेका थिए।

च्याम्बरका पूर्व अध्यक्ष जगन्नाथ ज्ञवालीले विदेशबाट अवकास जीवनका लागि फर्कनेलाई निजी प्रयोगका सवारी साधन र घरेलु प्रयोजनका सामग्रीमा भन्सार छुटका लागि आगामी बजेटमा व्यवस्था हुन आवश्यक रहेको सुझाव पेश गरेका थिए। उनले बजेट समग्रमा सकरात्मक रहेको प्रतिक्रिया दिएका थिए।

उपाध्यक्ष लवकुमार गुरुङले विदेशमा बसोबास गर्नेले पनि स्वदेशको बजेटप्रति चासो राख्न आवश्यक रहेकोमा जोड दिए।

अध्यक्ष डासुराम पराजुलीले बजेटबाट राजनीतिक स्थिरताको आभास मिलेको बताउँदै विकासको गति बढ्ने आशा व्यक्त गरे। लोकप्रियतामा नभएर आधारभूत विकासमा जोड दिइएकोले बजेटबाट सन्तुष्ट हुन सकिएको उनको प्रतिक्रिया थियो।

प्रकाशित : असार ८, २०७५ १६:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT