कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एयर फिल्टरभित्र सुनको बिस्कुट

एक किलो सुनसहित भरिया पक्राउ
भूषण यादव

वीरगन्ज — मोटरसाइकलको सिटमुनि रहेको एयर फिल्टरभित्र सुन लुकाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा पर्सा प्रहरीले एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा नाकास्थित प्रहरी चौकी इनर्वाको टोलीले वीरगन्ज भन्सार ऐरिया पार गरेको ना ४८प ३७७४ नम्बरको मोटरसाइकललाई शंकराचार्य गेट अगाडि नियन्त्रणमा लिएको थियो ।

एयर फिल्टरभित्र सुनको बिस्कुट

मोटरसाइकल खनतलासी गर्दा एक किलो सुन बरामद भएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । ‘सिटमुनि एयर फिल्टरभित्र राखिएको अवस्थामा सुन बरामद भएको हो,’ जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एसपी ढकालले भने, ‘सुनको अवैध कारोवार गर्ने व्यापारीमाथि अनुसन्धान गरिरहेका छौँ ।’


एयर फिल्टरभित्र लुकाउन एक किलो सुनलाई ६ टुक्रा पारिएको थियो । मोटरसाइकल चालक सर्लाही हरिपुर नगरपालिका ९ निवासी सन्तोष कुमार साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार साह भरिया मात्र हुन् । पत्रकार सम्मेलनमै साहले एक व्यक्तिले सुन रक्सौल पुर्‍याइदिए बापत ५ हजार रुपैयाँ दिएको खुलाएका थिए । एक किलो सुनको बजार मूल्य ४९ लाख रुपैयाँ रहेको सुन व्यवसायीले बताए । पर्सा प्रहरीले ५ वर्षयता १४ किलो ६ सय ११ ग्राम सुन अवैध तरिकाले भारत लैजाने क्रममा बरामद गरेको छ । करिब चार वर्षको अन्तरालपछि प्रहरीले शुक्रबार नाका नजिकैबाट सुन बरामद गरेको प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।


तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरण अनुसन्धानका लागि सरकारले गठन गरेको छानबिन समितिले वीरगन्जका व्यापारी राजु दारुकालाई सोमबार साँझ काठमाडौँको होटल अन्नपूर्णबाट पक्राउ गरेको थियो । यसअघि प्रक्राउ परेका कारोबारीले दारुकाको नाम पोलेपछि थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको अनुसन्धान समितिले जनाएको छ । ‘सुन तस्करीमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि दारुकालाई नियन्त्रणमा लिएका हौँ,’ अनुसन्धान समितिका एक सदस्यले भने । वीरगन्जमा रहेर कारोबार सुरुवात गरेका दारुका पछिल्लो समय काठमाडौँ बस्दै आएका थिए । कान्छो छोराको बिहे भोजबाट अनुसन्धान समितिले दारुकालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।


३३ किलो सुन तस्करीमा प्रक्राउ परेका दारुकाको परिवार विगत लामो समयदेखि सुनको अवैध ओसारपसारमा संलग्न रहेको पाइएको छ । दारुकाका जेठो छोरा अमित दारुका झन्डै ८ वर्ष अगाडि भारतबाट अवैध तरिकाले सुन लिएर आउँदा वीरगन्ज भन्सार नाकामा खटिएका सशस्त्र गस्ती प्रहरीले नियन्त्रणमा लिएको थियो ।


०६७ भदौ १७ मा सीमावर्ती रक्सौला बजारबाट वीरगन्ज आउँदै गरेको बा७च ६३४४ नम्बरको हुन्डाई कारलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा ४ किलो २९९.५१ ग्राम अवैध सुन बरामद भएको थियो । सशस्त्र प्रहरीका नायव उपरीक्षक कृष्ण कोइरालाको टोलीले चालक र अगाडि बस्ने यात्रुको खुट्टा राख्ने ठाउँमा लुकाएर राखेको अवस्थामा सुन बरामद गरेको थियो । कार चालक वीरगन्ज घडिअर्वा निवासी अरविन्द सिंह र गाडीमा अगाडि बसेका अमित दारुका पक्राउ परेका थिए ।


सुनको ट्रान्जिट बन्दै वीरगन्ज

पछिल्लो केही वर्षयता नेपालभन्दा भारतमा सुन महँगो भएपछि व्यापारीले ठूलो परिमाणमा सुन भारत पठाउन थालेका छन् । जानकारका अनुसार तेस्रो मुलुकबाट काठमाडौँ आएको अधिकांश सुन वीरगन्जकै नाका भएर भारत जाने गरेको छ । वीरगन्जका केही व्यापारी लामो समयदेखि सुनको कारोबारमा लगानी मात्र नगरी ओसारपसारको काम समेत संलग्न रहँदै आएका छन् । कारोबारीले काठमाडौँबाट रात्रि बस र इन्धन बोक्ने ट्यांकर लगायतका सवारी साधनमा भरियामार्फत सुन वीरगन्जसम्म ल्याउँछन् ।


अनि यहाँबाट अर्को समूहले नाका कटाएर गन्तव्यसम्म सुन पुर्‍याउँछन् । यस क्रममा पर्सा र मकवानपुर प्रहरीले पटक पटक सुन सहित भरियालाई पक्राउ समेत गरेका छन् । भरिया पक्राउ परे पनि सुन कारोबारीसम्म हालसम्म प्रहरी र राजस्व विभागको अनुसन्धान पुग्न सकेको थिएन । ‘किलोमा ५ लाख रुपैयाँ आम्दानी हुने सुन तस्करीमा वीरगन्जका अन्य व्यापारीले समेत लगानी गरेका छन्,’ नाम उल्लेख नगर्ने शर्तमा एक व्यवसायीले भने, ‘राजस्व विभाग र सम्पत्ति शुद्धीकरणले अनुसन्धानको घेरालाई फराकिलो पारे अझ धेरै मुछिन्छन् ।’ सुनको अवैध ओसारपसारमा संलग्न यहाँका केही व्यापारी कम अवधिमै नवधनाड्य बनेका छन् ।


व्यवसायीका अनुसार सुन कारोबारमा संलग्न व्यापारीले हुन्डीको कारोबार समेत गर्दै आएका छन् । ‘चीनबाट आएको सुन काठमाडौँमा खरिद गरे पनि त्यसको भुक्तानी चिनियाँ मुद्रा आरएमबीमै गरिन्थ्यो,’ ती व्यवसायीले भने, ‘अनि भारतमा डिलिभरी दिँदा भारतीय रुपियाँ लिइन्थ्यो ।’ यसरी नेपालबाट भारत हुन्डी गर्नेलाई सुन तस्करीबाट आएको भारतीय रुपियाँ दिने गरिएको थियो । सम्बद्ध कारोबारीका अनुसार चीनमा जम्मा हुने आरएमबी मलेसिया, कोरिया लगायतका देशबाट नेपाली कामदारले कमाएर पठाएको पैसा हो । ‘नेपाली कामदारले पठाएको मुद्रा परिवर्तन भएर चीन पुग्छ,’ ती कारोबारीले भने, ‘अनि चीनमा जम्मा भएको आरएमबी सुन कारोबारीले खरिद गरी त्यही हुन्डीमार्फत भुक्तानी दिलाउँछन् ।’


प्रकाशित : असार १५, २०७५ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?