विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

राष्ट्रियसभाबाट पनि पास भएमात्रै कार्यान्वयन हुने

काठमाडौँ — बजेटको महत्त्वपूर्ण अंग ‘विनियोजन विधेयक २०७५’ प्रतिनिधिसभाको बैठकले पास गरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयक २०७५ लाई पारित गर्न प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावअनुसार विधेयक बहुमतले पारित भएको हो ।

विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

तर, यो विधेयक पूर्ण रुपमा पास हुन भने अझै समय लाग्नेछ ।


राष्ट्रियसभामा छलफल गरी पास हुन बाँकी नै छ । अब राष्ट्रियसभामा पनि सोही विधेयकमाथि छलफल हुनेछ । संसद् सचिवालयका अधिकारीहरूका अनुसार राष्ट्रियसभाले हुबहु पारित गर्ने वा थप संशोधन गर्न सक्नेछ । हुबहु वा संशोधनसहित पास गरेर राष्ट्रियसभाले प्रतिनिधिसभामा पठाउने र राष्ट्रपतिबाट प्रमाणित गराएपछि कार्यान्वयनमा जानेछ ।


आगामी आर्थिक वर्षको पहिलो दिन साउन १ गते अगावै दुवै संसद्‍बाट पास भए सरकारलाई खर्च गर्ने बाटो खुला हुनेछ । पास हुन नसके पेस्की विधेयक ल्याई त्यसमार्फत खर्च गर्नुपर्ने हुन्छ । यसबाहेक अन्य थप तीन विधेयक पास भएपछि बजेट पूर्ण रूपमा पास भएको मानिनेछ । आर्थिक विधेयक २०७५, राष्ट्र ऋण उठाउने विधेयक २०७५ र ऋण तथा जमानत विधेयक २०७५ पास भएपछि मात्रै बजेट पूर्ण रूपमा पास भएको मानिनेछ । यी तीनवटै विधेयक संसदमा पेस भइसकेका छन् ।


सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँ खर्च गर्ने गरी बजेट ल्याएको छ । यसमध्ये ८ खर्ब ४५ अर्ब चालु र ३ खर्ब १३ अर्ब पुँजीगत खर्च छ । वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । ८ खर्ब ३१ अर्ब राजस्व संकलन हुने अनुमान छ । बाँकी नपुग रकममध्ये २ खर्ब ५३ अर्ब वैदेशिक ऋणबाट र ५८ अर्ब वैदेशिक अनुदानबाट स्रोत जुटाइने सरकारको तयारी छ ।

प्रकाशित : असार १५, २०७५ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?