कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पार्टीमा नेतृत्व होइन, नीति परिवर्तन आवश्यक : निधि

काठमाडौँ — कांग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टीमा नेतृत्वभन्दा नीति परिवर्तन आवश्यक रहेको बताएका छन् । उपसभापति भएको दुई महिना पुग्नै लाग्दा शुक्रबार पदभार सम्हाल्न पार्टी केन्द्रीय कार्यालय पुगेका निधिले हेटौंडामा हालै सम्पन्न सभापतिको भेलाले पार्टीभित्रको आन्तरिक कलह अन्त्य भएको दाबीसमेत गरे । 

पार्टीमा नेतृत्व होइन, नीति परिवर्तन आवश्यक : निधि

‘अब आरोप–प्रत्यारोप गरिरहन आवश्यक छैन,’ पदभार सम्हालेपछि निधिले भने, ‘निर्वाचनमा पार्टी हारेको समीक्षा गरेर अब समय खेर फाल्न हुन्न । पार्टीलाई एक बनाउन सबै जुट्नुपर्छ ।’ उनले पार्टीभित्र नेतृत्व परिवर्तनको मुद्दा कम हुँदै गएको बताए । पार्टी सुदृढीकरणका लागि सातै प्रदेश र ७ सय ५३ वटै स्थानीय तहमा प्रशिक्षण अभियान थाल्ने तयारी भइरहेको पनि निधिले जानकारी दिए ।


उनले पार्टीमा आन्तरिक एकता कायम गरी सरकारको सर्वसत्तावाद रोक्ने दिशामा अघि बढ्नुपर्ने बताए । ‘कांग्रेसको औचित्य छैन भन्ने केपी ओली नेतृत्वको सरकार तानाशाही शासन शैलीमा अघि बढेको छ,’ निधिले भने, ‘संघीयता समावेशिताविरुद्ध लागेको सरकारले न्यायपालिका, प्रादेशिक संसदलगायत राज्यका प्रमुख अंगमा हस्तक्षेप गर्न थालेको छ, त्यसका विरुद्ध कांग्रेस अघि बढ्छ ।’ उनले सरकारले विरोध प्रदर्शन गर्न स्थान तोक्नु गलत भएको भन्दै यसले सरकारको सर्वसत्तावादी चरित्रलाई स्पष्ट पारेको बताए ।

प्रकाशित : असार १५, २०७५ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?