कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोकिएन तस्करी

प्रदेश १ का भारतसँग सीमा जोडिने मोरङ, झापा र सुनसरीका विभिन्न नाका हुँदै हरेक दिन केही न केही सामान प्रहरीले बरामद गरेकै हुन्छ, मुख्य भन्सार नाका आसपास र सुरक्षा निकायको उपस्थिति नरहेका ठाउँहरुबाट भन्सार छल्दै त्यस्ता सामान भित्रने गरेका छन् ।

विराटनगर — प्रदेश १ प्रहरी कार्यालयको वेबसाइटमा राखिने आपराधिक घटनाको सूचीमा दैनिकजसो एउटा विवरण समेटिएकै हुन्छ । सवारी दुर्घटना, प्राकृतिक विपत्जस्ता घटनाका विवरण प्रशस्तै हुने त्यो सूचीमा दैनिकजसो पर्ने अर्को घटना हो– भन्सार छलेका सामान बरामद ।

रोकिएन तस्करी

प्रदेश १ का भारतसँग सीमा जोडिने मोरङ, झापा र सुनसरीका विभिन्न नाका हुँदै हरेक दिन केही न केही सामान प्रहरीले बरामद गरेकै हुन्छ । मुख्य भन्सार नाका आसपास र सुरक्षा निकायको उपस्थिति नरहेका ठाउँहरूबाट भन्सार छल्दै त्यस्ता सामान भित्रने गरेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजस्व गस्तीलगायत टोलीले बरामद गर्नेमा भारतबाट भन्सार छलेर ल्याइएका खाद्यान्न, कपडा, विद्युतीय सामग्री, मोटर पाटर््स, शृंगारका सामान, मललगायत हुन्छन् । बरामदपछि मूल्यांकन गरेर प्रहरीले भन्सार कार्यालयमा बुझाउने गर्छ ।

प्रदेश १ का मुख्य नाकाहरू विराटनगर, काँकडभिट्टालगायत आसपासबाट ‘चोरबाटो’ हुँदै यस्ता सामान भित्रन्छन् । खुला सीमा हुनु र सबैतिर सुरक्षा निगरानी पुग्न नसक्नु जस्ता कारणले चोरी तस्करी नियन्त्रण हुन सकेको छैन । भन्सारमा यसरी बुझाइएका घटनाको मुद्दा चालु आर्थिक वर्षको वैशाखसम्म ५ सय ५ वटा छन् । यस्ता मुद्दामा एक करोड रुपैयाँ बिगोसम्मका भन्सारले नै हेर्छ भने त्यसभन्दा माथि बिगो भएका मुद्दा अदालतले हेर्ने प्रावधान छ ।आर्थिक वर्ष २०७४/७५ को वैशाख मसान्तसम्म १ करोड ९६ लाख ३८ हजार रुपैयाँ बराबरको चोरी निकासी/पैठारीका सामान बरामद भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको यति नै अवधिमा बरामद गरिएको परिमाणभन्दा बढी हो ।

आव २०७३/७४ मा १ करोड ३३ लाख २२ हजार रुपैयाँ बराबरको तस्करीका सामान बरामद भएको थियो । सशस्त्र प्रहरी, भन्सार राजस्व गस्ती र नेपाल प्रहरीको टोलीले यति परिमाणको सामान बरामद गरेका हुन् ।

केही समयअघिसम्म तेस्रो देशबाट आयातीत ठूलो परिमाणको सुपारी तस्करी भएर सीमापारि जाने गरेको थियो । अहिले यो कम भएको उल्लेख गर्दै एक व्यवसायीले पछिल्लो समय मरिच, केराउजस्ता वस्तु चोरी निकासी हुने गरेको बताए । यसैगरी सुनसरीको भन्टाबारी नाका हुँदै चिनियाँ स्याउ तस्करी हुने गरेको छ ।

चोरी पैठारी नियन्त्रण गर्न स्थापना गरिएका छोटी भन्सारहरू सबै सञ्चालनमा आउन नसक्दा पनि समस्या भइरहेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख मीमांश अधिकारीका अनुसार मोरङका ९ मध्ये हाल तीनवटा छोटी भन्सार मात्र सञ्चालनमा छन् ।

डाइनियाँ, रंगेली र मायागन्जस्थित छोटी भन्सार सञ्चालनमा छन् । तर ती नाकामा भारततर्फ भन्सार इकाइ नहुँदा प्रभावकारी भएका छैनन् । ‘सञ्चालनमा रहेका छोटी भन्सारका कारण चोरी निकासी र पैठारी नियन्त्रण भएको छ,’ अधिकारीले भने, ‘तर राजस्व संकलन न्यून मात्र छ ।’

पछिल्लो समय चोरी पैठारी र निकासी धेरै हदसम्म नियन्त्रण भएको उनको भनाइ छ । ‘सीमा नाकाहरूमा कडाइका कारण ठूलो परिमाणमा चोरी पैठारी भएको छैन,’ उनले भने, ‘खुला सीमा भएकाले थोरै–थोरै परिमाणमा सामान आउने गरेको पाइएको छ ।’ विराटनगर भन्सारको राजस्व संकलन दर गत वर्षभन्दा करिब २९ प्रतिशतले बढेको छ । वैशाखसम्म २५ अर्ब ३० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकामा भन्सार कार्यालयले २५ अर्ब ३४ करोड रुपैयाँ संकलन गरिसकेको अधिकारीले बताए । चालु आर्थिक वर्षमा यो कार्यालयले ३१ अर्ब २४ करोड संकलन गर्ने लक्ष्य राखेको छ ।

द्वन्द्वका बेला गाभिएका मोरङका अरू ६ वटा छोटी भन्सार अझै पुनस्र्थापित हुन सकेका छैनन् । मोरङको करिब ६० किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । जोडिएका सबैजसो क्षेत्रका बाटो भएर भन्सार छलीका सामान भित्रने गरेका छन् । मोरङको डाइनियास्थित छोटी भन्सार कार्यालयका कर्मचारी श्याम चौधरीका अनुसार नाकाभन्दा वरपरबाट छलेर सामान भित्रने गरेको छ । त्यसरी ल्याइएका भारतीय सामान डाइनिया, आमगाछी, सिजुवालगायत बजारमा छ्यापछ्याप्ती पाइने गरेको उनले बताए ।

सुनसरीबाट बढी तस्करी
पूर्वी क्षेत्रमा सबैभन्दा बढी सुनसरीबाट तस्करी हुने गरेको छ । चालु आर्थिक वर्षको हालसम्म चोरी निकासी र पैठारी गरिएका ३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको सुनसरीको भन्टाबारीस्थित भन्सार कार्यालयका प्रमुख विष्णु पौडेलले बताए । प्रहरी गस्तीले फेला पारेको यो परिमाणभन्दा निकै बढी सामान तस्करी हुने गरेको व्यवसायी बताउँछन् । यो नाकाबाट गाडीसमेत तस्करी हुने गरेको छ । उक्त कार्यालयले यस वर्ष १३ करोड राजस्व असुलीको लक्ष्य लिएकामा जेठ तेस्रो सातामै पूरा गरेको छ । भन्सार छलेर रातिको समयमा चिनी र खाद्यान्न ल्याइने र यताबाट स्याउ भारततर्फ लैजाने गरिएको पाइएको पौडेलले बताए । यसलाई नियन्त्रण गर्न प्रहरी परिचालित भएको उनले जनाए ।

सुनसरीका श्रीपुर, हरिपुर, कप्तानगन्ज, लौकही, वसन्तपुरलगायत सीमा नाकाबाट महिला र बालबालिकाको प्रयोग गरी साइकलमा सामान ओसारपसार हुने गरेको छ । प्रहरीले उनीहरूलाई पक्राउ गरी सामान नियन्त्रणमा लिने गरे पनि ओसार्ने क्रम रोकिएको छैन । ढुंगा, गिट्टी, बालुवा र चिनियाँ स्याउ सुनसरीबाट बढी चोरी निकासी हुने पाइएको छ । केही अघि ट्रकका ट्रक चिनियाँ स्याउ तस्करी गरी लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

असुली बढ्यो
यसैगरी झापामा चोरी तस्करीका २ करोड रुपैयाँ बराबरका सामान बरामद गरिएको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले बताए । विगतको तुलनामा यो नाका र आसपास क्षेत्रबाट हुने तस्करी घटेको दाबी गर्दै उनले गत वर्षको तुलनामा राजस्व असुली ५० प्रतिशतले बढेको बताए ।

यस वर्ष ९ अर्ब राजस्व असुली गर्ने लक्ष्य रहेकामा जेठ तेस्रो सातामै पूरा भइसकेको अर्यालले जनाए । गत वर्ष यो कार्यालयले ६ अर्ब ५४ करोड राजस्व असुली गरेको थियो । ‘इलामको पशुपतिनगर, झापाका बाहुनडाँगी, भद्रपुर र गलगलिया नाकाबाट बढी तस्करी हुन्थ्यो,’ उनले भने, ‘अहिले नियन्त्रण हुन थालेपछि सीमापारिका व्यापारी छटपटाउन थालेका छन् ।’

झापाको दक्षिण र पूर्वी सीमा भारतसँग जोडिएको छ । करिब १ सय १८ किलोमिटर जोडिएको यो खुला सीमाका दर्जनौं नाकाबाट सुपारी, कपडा, विद्युतीय सामान, खाद्यान्नलगायत वस्तु चोरी पैठारी हुने गरेको छ । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराका अनुसार विगतको तुलनामा खुला रूपमा हुने गरेको तस्करी धेरै नियन्त्रणमा आएको छ । पछिल्लो समय खाद्यान्न र कपडाको तस्करी बढी हुने गरेको उनले बताए ।

‘भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा यस्ता सामान ल्याउने गरिएको छ,’ बोहराले भने, ‘एकजनाले दिनमा १० पटकसम्म यसरी सामान ल्याउने पाइएको छ, यसलाई नियन्त्रण गर्न संक्षिप्त कर बिजक प्रभावकारी रूपमा लागू गरिनुपर्छ ।’ एक हजार रुपैयाँसम्मको मूल्य घोषणा गरेर सामान ल्याउन दिइएको उल्लेख गर्दै उनले यही कारण घरायसी प्रयोजनका नाममा तस्करी बढेको बताए । एकपटकका लागि बनाइएको बिजकलाई पटकपटक प्रयोग गरी सामान भित्र्याउने गरेका धेरै उदाहरण भेटिएको बोहराले बताए ।

प्रकाशित : असार १६, २०७५ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?