बेपत्ता भएकाको छानबिन सकिएपछि पीडकसँग बयान : आयुक्त पाठक 

माधव ढुंगाना

भैरहवा — बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका आयुक्त विष्णु पाठकले द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको बिस्तृत छानबिन प्रक्रिया सकिएपछि पीडकसँग बयान लिइने बताएका छन् ।  

बेपत्ता भएकाको छानबिन सकिएपछि पीडकसँग बयान : आयुक्त पाठक 

रुपन्देहीमा बेपत्ता पारिएका व्यक्तिको बिस्तृत अध्ययन तथा छानबिनमा जुटेका आयुक्त पाठकले भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै माघपछि बयानकालागि पीडकलाई आयोगमा बोलाइने बताए ।


द्वन्द्वकालमा तत्कालीन बिद्रोही माओवादी र राज्य पक्षबाट बेपत्ता पारिएका घटनाको छानबिन प्रक्रियालाई प्रभावकारी गराउन २०७१ माघ २७ मा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग’ गठन गरिए पछि आयोगले छानबिन प्रक्रिया थालेको हो ।


बेपत्ता पारिएको भनेर मुलुकभरिबाट आयोगमा परेका ३ हजार १ सय ८३ वटा उजुरीमध्ये आयोगले आफ्नो क्षेत्राधिकारमा पर्ने २ हजार ४ सय ७३ वटा उजुरीकोमात्र बिस्तृत छानबिन गर्ने भएको छ । द्वन्द्वकालदेखि शान्ति सम्झौतासम्म रुपन्देहीमा बेपत्ता पारिएका आफन्तले दिएको २७ वटा उजुरीमध्ये आयोगले आफ्नो क्षेत्राधिकार अन्तर्गत पर्ने १९ वटा उजुरीको बिस्तृत छानबिन थालेको छ ।


बयानका लागि पूर्व राजा ज्ञानेन्द्रलाई पनि बोलाउनु पर्ने अवस्था आएको र उतिबेला गैरसत्तामा रहेका र अहिले सरकारमा रहेका पक्षको यसप्रति जवाफदेहिता शतप्रतिशत नै रहेको उनले बताए । पीडित र पीडक पक्षलाई राखेर सार्वजनिक सुनुवाईका कार्यक्रम पनि गरिने उनले जनाए ।


बिस्तृत छानबिनका क्रममा आयोगले बेपत्ता पारिएका जनको आफन्त तथा परिवारमा सुक्ष्म ढंगले थप सूचना संकलन गर्नेछ । व्यक्ति वेपत्ता पारिनु पूर्वको अवस्था व्यक्तिको हुलिया, आनीबानी, शरीरमा भएका चिन्ह, लगाएका कपडा लगायतका पहिचान हुन सक्ने खालका सूचना संकलन गरिनेछ । आवश्यक परेमा शव पहिचानका लागि उत्खनन्, डीएनए परीक्षण समेत गरिने आयोगले जनाएको छ ।


भदौसम्ममा ३८ जिल्लाका बेपत्ता पारिएका व्यक्तिको वारेमा बिस्तृत छानबिन सम्पन्न गर्ने लक्ष्य आयोगले राखेको छ । २ वर्ष भित्रमा आयोगले पूर्ण रुपमा अध्ययन पूरा गर्ने प्रतिबद्धता सरकार समक्ष गरेको छ ।

प्रकाशित : असार १६, २०७५ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?