एसईई नतिजामा त्रुटी : परीक्षा नियन्त्रक मन्त्रालय तानिए

सुदीप कैनी

काठमाडौँ — एसईई परीक्षाको नतिजा प्रकाशित गर्दा त्रुटी गरेको भन्दै परीक्षा नियन्त्रण कार्यालयका प्रमुख अम्बिकाप्रसाद रेग्मी मन्त्रालय तानिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार साँझ उनलाई कारबाहीस्वरुप मन्त्रालय तानिएको जनाएको छ ।

एसईई नतिजामा त्रुटी : परीक्षा नियन्त्रक मन्त्रालय तानिए

स्रोतका अनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले रेग्मीलाई मन्त्रालय तान्न निर्देशन दिएका हुन् । परीक्षा नियन्त्रक मन्त्रालय तानिएका मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । उनका अनुसार तत्कालका लागि परीक्षा नियन्त्रण कार्यालयको जिम्मेवारी पाठ्यक्रम विकास केन्द्रका प्रमुख कृष्णप्रसाद काप्रीलाई दिइएको छ । प्रतिवेदनको थप अध्यनन पछि अन्य दोषीलाई पनि कारबाही गरिने मन्त्री पोखरेलले बताए ।


एसईई नतिजा प्रकाशन गर्दा ९ हजार ६४ जना विद्यार्थीको रिजल्टमा त्रुटी भएको भेटिएको थियो । त्रुटी सार्वजनिक भएपछि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकिय प्रमुख डा. तुलसी थपलियाको संयोजकत्वमा ३ सदस्यीय छानविन गठन गरेको थियो । छानविन समितिले आईतबार प्रतिवेदन बुझाए लगत्तै रेग्मी मन्त्रालय तानिएका हुन् । ‘प्रतिवेदन आएको छ, अध्ययन गर्ने काम सुरु भएको छ’, सचिव बरालले कान्तिपुर सँग भने, ‘प्रमुख नै बढी दोषी भएपछि उहाँलाई तानिएको हो ।’ मन्त्रालय निकट स्रोतका अनुसार नजिता प्रकाशनका क्रममा परीक्षा नियन्त्रक रेग्मीका कमीकमजोरीका कारण त्रुटी हुन पुगेको प्रतिवेदनमा उल्लेख छ । यद्यपी प्रतिवेदन भने अध्ययनकै क्रममा भनेर गोप्य राखिएको छ ।


गत असार ९ गते प्रकाशित एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा त्रुटी भेटिएको थियो । कार्यालयको आधिकारिक वेबसाईडबाट ग्रेटसिट (मार्कर्सिट) प्रिन्ट गर्दा त्रुटी भेटिएको हो । नतिजा प्रकाशित भएको २४ घण्टा पछि कार्यालयले त्रुटी भएको भन्दै सच्चाएको थियो । सिम्बोल नम्बर र जन्ममिति राखेर परीक्षार्थीको ग्रेटसिट प्रिन्ट गर्दा अघिल्लो दिन भन्दा पछिल्लो जीपीए बढेको थियो ।


कार्यालय र परीक्षा बोर्डले भने प्राविधिक कारण देखाउँदै विद्यार्थीको जीपीए घटबढ हुन पुगेको तर्क गर्दै आएका छन् । विद्यार्थीले प्राप्त गरेको अंकलाई ग्रेडमा रुपान्तरण गर्दा त्रुटी हुन पुगेको बोर्डका सदस्यहरुको भनाई थियो । यसअघिका वर्षमा नतिजा प्रकाशन गर्दै आएका इन्जिनियरको सरुवा भएपछि शैक्षिक जनशक्ति विकास केन्द्रका इन्जिनियर नसिब आचार्यले प्राविधिक काम गरेका थिए । तसर्थ रेग्मीले कर्मचारी अभाव र दक्षजनशक्तिको कमीले नतिजा प्रकाशनमा ढिलाई भएको गुनासो मन्त्रलाय सम्म गरेका थिए ।


गतवर्ष भन्दा एकसाता ढिला गरि नतिजा प्रकाशन भएको थियो । परीक्षार्थीको फरक/फरक नतिजा आएपछि विद्यार्थी, अभिभावक, शिक्षाविद् र सरोकारवालाहरुले लापरवाहीले त्रुटी भएको भन्दै छानविन सहित कारवाहीको माग गरेका थिए ।


प्रकाशित : असार १७, २०७५ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?