उपहारका गैंडा लिन विशेष विमान आउने

अब्दुल्लाह मियाँ

काठमाडौँ — नेपालले उपहारस्वरूप दिने एकसिंगे गैंडा लिन चिनियाँ विशेष जहाज असार २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दै छ । विमानमा भेटेरिनरी चिकित्सक/केयर टेकरसहितको टोली पनि आउनेछ ।

उपहारका गैंडा लिन विशेष विमान आउने

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाका अनुसार नेपालले दिएको जोडी उपहार गैंडा बोकेर सोही दिन चार्टर जहाज चीन उड्नेछ । सँगै नेपाली भेटेरिनरी चिकित्सकसहितका विशेषज्ञ पनि जानेछन् ।

त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री केपी ओली र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले भाले ‘भद्र’ र पोथी गैंडा ‘रुपसी’ चीन सरकारलाई हस्तान्तरण गर्नेछन् । मन्त्रालय र विभागले गतसाता उपहार दिने गैंडाको नाम जुराएका हुन् । गैंडा हस्तान्तरण गर्न विशेष कार्यक्रमको तयारी भइरहेको महानिर्देशक खडकाले बताए । अघिल्लोपटक ओली प्रधानमन्त्री हुँदा चीनलाई दुई जोडी एकसिंगे गैंडा उपहार दिने निर्णय भएको थियो । अर्को जोडी भने आर्थिक वर्ष २०७५/७६ मा मात्रै हस्तान्तरण गरिनेछ । ‘साइटिस कानुन’ मा एक आवमा एक जोडी मात्र उपहार दिन सकिने व्यवस्था छ ।

उपहार दिइने गैंडालाई चितवनको सौराहादेखि विमानस्थलसम्म ट्रकमा हालेर ल्याइनेछ । ती गैंडा सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको ‘जैविक विविधता संरक्षण केन्द्र’ को ‘पिट बोमा’ मा राखिएको छ । नेपाली मिस्त्रीले तयार गरेको काठको खोरमै बसेर ती गैंडा चीन पुग्नेछन् । ‘भद्र’ र ‘रुपसी’ लाई छुट्टाछुट्टै खोरमा राखिनेछ ।

गत वैशाखमा चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट गैंडाका तीन बच्चा नियन्त्रणमा लिएर केन्द्रमा राखिएको छ । उपहार दिइने अर्को एउटा गैंडाचाहिँ उद्धार गरिएमध्येकै हो । ती गैंडालाई दूध, स्याउ, केरालगायत फलफूल, बन्दा र घाँस खुवाएर उच्च निगरानीमा राखिएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार उपहार दिइने गैंडा डेढदेखि दुई वर्ष उमेरका छन् ।

अर्यालका अनुसार गत शुक्रबार चीनबाट आएका भेटेरिनरी चिकित्सक वाङ र नेपाली भेटेरीनरी चिकित्सकको टोलीले गैंडाको स्वास्थ्य परीक्षण गरेको छ । परीक्षणमा चिनियाँसहित नेपाली चिकित्सक कमल गैरे र अमिर सडौलासहित भेटेरिनरी प्राविधिक पुरुषोत्तम पाण्डेलगायत संलग्न छन् । चिकित्सकका अनुसार सबै गैंडा स्वस्थ छन् । गैंडा स्वेदश भित्र्याउन चीनले साइटिस सचिवालयबाट प्रमाणपत्र लिइसकेको छ ।

प्रकाशित : असार १८, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?