कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोमा घर पुरिँदा सुत्केरी र शिशुसहित तीन जनाको मृत्यु

काशीराम डाँगी

रोल्पा — लगातारको वर्षाले घर भत्कँदा रोल्पामा एक शिशुसहित सोमबार तीन जनाको मृत्यु भएको छ । वर्षापछि घरमाथिबाट आएको पहिरोमा घर पुरिँदा उद्धारपछि उपचार हुनु अघि नै तीन जनाको ज्यान गएको हो ।

पहिरोमा घर पुरिँदा सुत्केरी र शिशुसहित तीन जनाको मृत्यु

प्रहरीका अनुसार अधिक वर्षापछि पहिरो खस्दा दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिका-५ स्थित सैबाङ गाउँका युवा राजकुमार विकको घर पहिरोले भत्काएको हो । पहिरो घरमाथिबाट आएपछि कच्ची घर पुरिएको थियो । पहिरो खस्दा घरैमा रहेका राजकुमारकी २२ वर्षकी सुत्केरी पत्नी कमला र १८ दिने छोरी आयुषाको पहिरोमा पुरिएर ज्यान गएको हो । घटनामा उनीहरुका छिमेकी दाइकी १५ वर्षीया छोरी चित्रा विकको समेत ज्यान गएको हो । घटनापछि पुगेको प्रहरीको उद्धार टोली उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए ।


घरमाथि पहिरो खस्दा सुत्केरीसहितले भान्सा कोठामा आगो ताप्दै गरेकी थिइन् । अघिल्लो दिनदेखि निरन्तर भइरहेको अधिक वर्षाका कारण घर भत्कनुअघि कसैले पनि जानकारी पाएनन् । ‘एक्कासी घर भत्किएपछि दुर्घटना हुन पुगेको हो,’ प्रहरी निरीक्षक पन्थीले भने, ‘सुत्केरी र शिशुको ज्यान जोगाउन सकिएन ।’


सुत्केरी कमला दुर्घटनापछि घाइते भएकी थिइन् । लामो समय भत्किएको घरभित्रै रहेकी कमलालाई उपचार गर्न होलेरीस्थित प्राथमिक सेवा केन्द्रतिर लैजान खोजिएको थियो । त्यही क्रममा कमलाको मृत्यु बाटैमा भएको हो । कमलाका श्रीमान राजकुमार वैदेशिक रोजगारीको क्रममा खाडी मुलुक पुगेका छन् । उनीहरुको घरमाथि लगाइएको देवाल भत्किएपछि घरमाथि क्षति पुगेको हो । पहिरोका कारण छिमेकीको अर्को घर पनि जोखिममा परेको प्रहरीले जनाएको छ ।


रोल्पामा शनिबारदेखि भइरहेको वर्षा अझै रोकिएको छैन । अधिक वर्षाले ग्रामीण क्षेत्रका कच्ची सडक भत्किएका छन् । प्रहरीले भारी वर्षातका कारण ग्रामीण भेगमा यातायात आवागमनमा अवरोध भएको जनाएको छ ।


प्रकाशित : असार १८, २०७५ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?