कच्ची सडकको लेदोले घण्टौं राजमार्ग जाम [फोटोसहित]

हरिहरसिंह राठौर

जोगीमारा(धादिङ) — गाउँ जोड्न निर्माण भएका कच्ची सडकको लेदो पृथ्वीराजमार्ग झर्दा सोमबार दिनभर आवागमन ठप्प भएको छ । अविरल वर्षापछि जोगिमारा बस्ती तर्फ जाने ग्रामीण सडकबाट आएको गेग्र्यानले बिहान ११ बजे लु१च २३४३ नम्बरको बोलेरो जिप पुरेको थियो । जिप पुरिँदापुरिँदै चालक सहित ३ जनालाई अन्य सवारीका चालकहरुले उद्दार गरेका थिए ।

कच्ची सडकको लेदोले घण्टौं राजमार्ग जाम [फोटोसहित]

राति गएको पहिरोलाई बिहान ७ बजे प्रहरीले सडक विभागका डोजरहरु प्रयोग गरी पहिरो पन्छाएर एकतर्फी यातायात सुचारु गरेको थियो । लगातारको वर्षातले ११ बजे बिहान फेरि राजमार्ग अवरुद्ध गर्नेगरी ४ फिटसम्म लेदो आएर राजमार्ग नै ढाकेको थियो । 'बिहान ७ बजे र ११ बजे अवैध वालुवाखानीबाट र गाउँतर्फ जाने कच्चीसडकबाट आएको लेदो तथा गेग्र्यान बगेर राजमार्ग ढपक्कै ढाकेको थियो । लेदो आउने क्रम रोकिएको छैन,' राजमार्ग सुचारु गर्न गएका जिल्ला प्रहरी प्रमुख डम्बरबहादुर बिकले भने ।


बेनीघाटको चरौंदीस्थित राजमार्ग छेउमा सार्थक होटल प्रालिले निकालेको वालुवा खानीबाट बगेको लेदोमाटोले अपरान्ह १ बजेदेखि ३ बजेसम्म राजमार्ग अवरुद्ध भएको थियो । जोगिमारा जामबाट खुलेर आएका सयौं सवारीहरु पुन: चरौंदीमा जाम परेका थिए ।


राजमार्ग छेउछाउका वालुवा खानी र राजमार्गसँग जोडने गरी जिल्लाको दक्षिण भेकमा निर्माण गरिएका गामीण सडकहरुको उचित ढल निकास र माटो व्यवस्थापन गर्न नसक्दा राजमार्गका धेरै स्थानमा लेदो खसेर वर्षात भर समस्या हुने गरेको गजुरीस्थित सडक डिभिजनका इन्जिनियर हरि ठकुरी बताउँछन् । ठकुरीका अनुसार वर्षाभर राजमार्ग अवरुद्ध हुन नदिन चितवन र धादिङ सिमाना फिस्लिङ्मा डोजर र लोडर तैनाथ राखिएको बताए ।


प्रकाशित : असार १८, २०७५ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?