१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

मंगलबारसम्मै भारी वर्षा

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न भागमा मंगलबारसम्मै भारी वर्षा हुने बताएको छ । 

मंगलबारसम्मै भारी वर्षा

महाशाखाका मौसमविद् बरुण पौडेलले असार १३ देखि देशैभरि मनसुन सक्रिय भएको र आइतबारदेखि भारी वर्षा सुरु भएको बताए ।


‘आइतबारदेखि पश्चिम र मध्यभागमा भारी वर्षा भएको छ,’ उनले भने, ‘सोमबार राति र मंगलबार पूर्वी भागमा ठूलो वर्षा हुने देखिन्छ । पश्चिम क्षेत्रमा भने सोमबार रातिदेखि नै वर्षा रोकिँदै जानेछ ।’


महाशाखाले बुधबारबाट भने सबै भागबाट केही दिनका लागि भारी वर्षा टर्ने जनाएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले मंगलबारसम्म धेरैजसो नदीमा जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।


शाखाका अनुसार कन्काई, कोसी, कमला, वागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीमा पानीको बहाव बढ्ने देखिएको छ ।


सोमबार मोहना, बबई, पश्चिम राप्ती र आसपासका नदी जलाधारमा जलसतह खतराको तह आसपास पुगेको छ । बुधबारदेखि भने सबै नदी जलाधारमा पानीको बहाव घटदै जाने महाशाखाले जनाएको छ ।

प्रकाशित : असार १८, २०७५ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?