रोकिएन सुन तस्करी

विशेष समितिले गम्भीर अनुसन्धान गरिरहे पनि संगठित सुन तस्करी भने रोकिएको छैन
जनकराज सापकोटा

काठमाडौँ — संगठित सुन तस्करीबारे विशेष समितिले गम्भीर अनुसन्धान गरिरहेका बेला सुन तस्करीका पछिल्ला दुई घटनाले प्रहरीलाई झस्काएको छ ।

रोकिएन सुन तस्करी

महानगरीय प्रहरी वृत्त नागढुंगाले काठमाडौंबाट सुन लिएर महेन्द्रनगर हुँदै भारत जान लागेको भारतीय नम्बरको कारबाट १६ गते तीन केजी सुन बरामद गर्‍यो । त्यसको भोलिपल्टै आइतबार रसुवाको केरुङ नाकाबाट मोटरसाइकलमा काठमाडौं छिर्दै गरेका तेन्जिङ तामाङलाई नागढुंगाबाटै प्रहरीले ६ केजी सुनसहित पक्राउ गर्‍यो ।


एक दिनको अन्तरमा भएका यी दुई घटनाले संगठित सुन तस्करीमाथि गम्भीर अनुसन्धान चलिरहे पनि तस्करी नरोकिएको पुष्टि गरेको छ । यी दुवै घटनामा तस्कर समूहले फरकशैली प्रयोग गरेको देखिन्छ ।


भारतीय चालक दीपककुमार मौर्यले चलाएको यूके ०२४६८४ नम्बरको कारको इन्जिनमाथि एअर फिल्टर बक्सभित्र लुकाएर राखेको तीन केजी सुनमा इमिरेटस गोल्ड लेखिएको छ । अर्थात् यसअघिका ठूला तस्करीमा जस्तै उक्त सुन पनि दुबईबाट भित्रिएको थियो ।


१७ गते नागढुंगाबाट पक्राउ परेको तीन केजी सुन भने स्विट्जरल्यान्डको मेटालोर नामक कम्पनीमा बनेको देखिन्छ । कम्पनीको वेबसाइटका अनुसार सन् २००१ मा मेटालोर टेक्नोलोजिज नामक कम्पनीको नाम परिवर्तन गरेर मेटलोर ग्रुप कम्पनी बनाइएको हो ।


जसको १८ वटाभन्दा धेरै देशमा शाखा कम्पनी छ । उच्च प्रहरी स्रोतका अनुसार संगठित तस्करले अक्सर स्विट्जरल्यान्ड र दुबईमा निर्मित सुन नेपालको बाटो हुँदै ओसारपसार गर्ने गरेका छन् । यसअघि २०७४ भदौको दोस्रो साता क्षेत्रपाटीबाट बरामद ८८ केजी सुन पनि स्विट्जरल्यान्डकै मेटालोर कम्पनीमा बनेको थियो ।


संगठित सुन तस्करीमाथि गम्भीर अनुसन्धान भइरहेका बेला एकपछि अर्को तस्करीका घटना सार्वजनिक हुनु सामान्य कुरा नभएको प्रहरीका एक उच्च अधिकारी बताउँछन् ।

‘सुन तस्करीमाथि प्रधानमन्त्रीको गम्भीर चासो रहेको र त्यसैमाथि अनुसन्धान चलिरहेका बेला तस्करीका घटना सार्वजनिक हुनु सामान्य कुरा होइन,’ उनले भने, ‘यसले तस्करको मनोबल कस्तो छ भन्ने देखाउँछ ।’ दुवै घटनामा प्रहरीले सुनका मुख्य लगानीकर्तालाई पहिचान गर्न सकेको छैन ।


प्रहरीका अनुसार यी दुवै घटनामा पक्राउ परेकाहरू भरिया मात्रै हुन् । कम्मरमा खैरो कालो रंगको लेडिज सलभित्र सुनका ६ वटा बिस्कुट बाँधेर केरुङदेखि बा१५प ८१६४ नम्बरको दुई सय २० सिसीको कालो पल्सरमा आएका तेन्जिङ तामाङले ५० हजार रुपैयाँ पाइने लोभमा सुन ल्याएको बयान दिएका छन् ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार उनले सुन कोबाट लिएर कसलाई दिन जान लागेको भन्ने सूचना दिन इन्कार गरिरहेका छन् ।


मारुती सुजुकी कारबाट बरामद ३ केजी सुनसहित पक्राउ परेका मनोज विकले पनि केही हजारको लोभमा सुन ओसारेको प्रहरीसँग बताएका छन् । प्रहरीले यो घटनामा संलग्न ४ भारतीयसहित ५ जनालाई पक्राउ गरेको छ ।


उनीहरूले काठमाडौंबाट स्थलमार्ग हुँदै महेन्द्रनगर नाकाबाट भारतीय बजारमा सुन पुर्‍याउने लक्ष्य राखेको देखिन्छ । प्रहरीले पाँचै जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाएको छ । यी दुवै घटनामा भन्सार ऐन २०६४ अनुसार मुद्दा चलाइने भएको छ ।

प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोख्रेलका अनुसार सुन तस्करीका एकपछि अर्को घटनाले संगठित तस्करीको सघनतालाई बुझाउँछ । उनले कान्तिपुरसँग भने, ‘यसविरुद्ध देशव्यापी अभियान नै चलाउनुपर्छ ।’

प्रकाशित : असार १८, २०७५ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?