१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

देशैभरी बाढी–पहिरोको वितण्डा

११ को मृत्यु, एक बेपत्ता, हजार घर डुबानमा, उद्धार फितलो

काठमाडौँ —  देशका विभिन्न भागमा आएको बाढी–पहिरोले ११ जनाको मृत्यु हुनुका साथै तराई क्षेत्रमा हजारभन्दा बढी घर डुबानमा परेका छन् ।

देशैभरी बाढी–पहिरोको वितण्डा

डुबानग्रस्त क्षेत्रका पीडित घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् भने सरकारको उद्धार प्रयास अत्यन्तै फितलो देखिएको छ ।

आइतबार र सोमबार देशभर भएको वर्षा र त्यसपछि आएको बाढी र डुबानमा परी ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृहका अनुसार अत्यधिक वर्षाबाट ८ जिल्ला प्रभावित छन् ।

रोल्पा र बाँकेमा बाढी–पहिरोमा परेर सोमबार ६ जनाले ज्यान गुमाएका छन् । पहिरोले घर पुरेपछि रोल्पामा सुत्केरी र शिशुसहित ३ जनाको मृत्यु भयो । बाँकेमा बाढीले बगाउँदा ५ वर्षीय बालकसहित ३ जनाको मृत्यु भएको छ ।


निरन्तरको वर्षापछि रुन्टिगढी गाउँपालिका–५ सैबाङमा घरमाथि खसेको पहिरोमा पुरिएर नवजात शिशु र पत्नी एकैपटक गुमाउँदा राजकुमार विश्वकर्मा अचेत छन् । राजकुमारकी २२ वर्षीया पत्नी कमला र १८ दिनकी छोरी आयुषाको सोमबार बिहान ज्यान गएको हो ।

लगातारको भारी वर्षाले प्रदेश २ का अधिकांश क्षेत्र जलमग्न छन् । पर्साको पन्थी खोलामा आएको बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । जनकपुर र वीरगन्ज सहरका केही भाग डुबानमा परेका छन् ।


पर्साको पन्थी खोलामा आएको बाढीले बगाउँदा पर्सागढी नगरपालिका–४ रमौलीकी १५ वर्षीया प्रतिमा रामको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सत्यनारायण थापाका अनुसार बाढीले बगाएका थप २ विद्यार्थीको उद्धार गरिएको छ । एक विद्यार्थी अझै बेपत्ता छन् ।


प्रतिमासहित विद्यालयमा परीक्षा दिएर घर फर्कंदै गरेका ४ विद्यार्थीको समूहलाई सोमबार बिहान करिब साढे ९ बजे पन्थी खोलाले बगाएको थियो । कक्षा ९ का ती विद्यार्थीमध्ये १५ वर्षीय सुरेन्द्र राम बेपत्ता छन् ।

अर्का दुई संगिता चौरसिया र सुमन पासवानको स्थानीयले उद्धार गरेका थिए । दुवैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनीहरू पर्सागढी नगरपालिका–४ बर्बाछटौलीस्थित नेपाल राष्ट्रिय आधारभूत उच्च माविमा विद्यार्थी हुन् ।


वर्षाले वीरगन्ज महानगरको अधिकांश क्षेत्र डुबेको छ । सडकमा तीन फिटसम्म पानी जमेको छ । महानगरका आदर्शनगर, पानीटंकी, जिल्ला प्रशासन कार्यालय क्षेत्र, रानीघाट, भिस्वा, नगवा, छपकैया, जेलरोडलगायत महानगरका थुप्रै क्षेत्र डुबानमा परेपछि २ अर्ब ८० करोड रुपैयाँ खर्चमा यसै वर्ष बनेको मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनाको उपादेयतामा प्रश्न खडा भएको छ ।


कैलाली थापापुरको पूरै बस्ती डुबानमा परेको छ । काँडा नदीमा आएको बाढी गाउँ पसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ । गोदावरी नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ । थापापुरका गंगाराम चौधरीले बाढीबाट विस्थापित परिवारलाई खान र बस्न समस्या भएको बताए ।

अर्काको घरमा आश्रय लिइरहेका परिवारको अनाज र लत्ताकपडा सबै भिजेको उनले बताए । उनका अनुसार बाढी नपसेको अग्लो ठाउँमा रहेका आफन्तको घरमा विस्थापित परिवारले आश्रय लिइरहेका छन् ।


दुई दिनयताको लगातार वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको छ । सोमबार दिउँसो ३ बजेसम्म महाकालीमा पानीको बहाव १ लाख २४ हजार क्युसेक मापन गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

पानीको बहाव बढेपछि वनबासा पुलमा चारपाङ्ग्रे सवारी साधनको आवागमन बन्द गरिएको छ । करिब सय वर्ष पुरानो पुल जीर्ण बन्दै गएको भन्दै भारतीय पक्षले पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिक्कै ठूला खालका सवारी साधनको आवागमन बन्द गर्दै आएको छ ।


नदी तटीय क्षेत्रमा तत्काल खतरा नभए पनि निरन्तर नदीमा जलस्तर बढदै गएकाले सुरक्षित रहन आसपासका बासिन्दालाई सचेत गराइएको उनले बताए ।


उडान पनि ठप्प

भारी वर्षाका कारण सोमबार सुर्खेत विमानस्थल ठप्प रह्यो । सुर्खेतबाट काठमाडौं र कर्णालीका हिमाली क्षेत्रमा जाने कुनै पनि उडान भएनन् ।

सुर्खेतबाट दैनिक जुम्ला, हुम्ला, डोल्पा र मुगुमा उडान हुन्छ । नागरिक उड्डयन कार्यालयका प्रमुख विनोद पन्तले सोमबार सुर्खेतबाट कुनै उडान नभएको जानकारी दिए ।


हुम्लामा आइतबार रातिदेखि भएको वर्षाका कारण उडान नहुँदा भारतीय पर्यटक सिमकोटमै रोकिएका छन् । भारतीय तीर्थयात्रीलाई हिल्सासम्म ओसारपोसार गर्ने हेलिकप्टर कम्पनीले पनि उडान गर्न सकेका छैनन् ।

सिमकोट विमानस्थलमा विभिन्न कम्पनीका ७ हेलिकप्टर छन् । झन्डै पाँच सय भारतीय तीर्थयात्रु सिमकोटका होटलमा जहाजको प्रतीक्षामा रहेका होटल व्यवसायी रिन्जनी लामाले बताए ।


हेलिकप्टर तयारी अवस्थामा

गृह मन्त्रालयले राहत तथा उद्धार कार्य प्रभावित हुन नदिन सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरूलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । तत्काल उद्धार र राहतका लागि इटहरी, सुर्खेत, पोखरा र काठमाडौंमा रहेका नेपाली सेनाको हेलिकप्टरलाई तयारी हालतमा राखिएको छ ।


गृह प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार क्षेत्रीय गोदाममा राहत सामग्रीहरू तयारी अवस्थामा राखिएको छ । उनका अनुसार बाढी र डुबानमा परी मृत्यु भएकाहरूको परिवारलाई प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन कोषले तत्काल राहत दिनेछ ।


नारायणगढ–मुग्लिङ सडक सुचारु

राजधानी प्रवेशको मुख्य मार्ग मुग्लिङ–नारायणगढ सडकको ठाउँ–ठाउँमा पहिरो गएको छ । टोपे खोलामा ठूलो पहिरो गएपछि दिनभर सडक अवरुद्ध भएको थियो । बेलुकी ८ बजेबाट सडक दुईतर्फी नै सुचारु भएको छ ।


आइतबार रातिदेखि नै वर्षा भएकाले नारायणगढ–मुग्लिङ सडकमा सोमबार बिहानैदेखि यातायात प्रभावित भएको थियो । मध्याह्न पौने १२ बजे टोपे खोलामा पहिरो खसेपछि बाटो पूरै ठप्प भएको हो ।


‘मध्याह्नअघि बिहान जलबिरे, चारकिलो, कालीखोला क्षेत्रमा स–साना पहिरो गएको थियो । ती पहिरो सफा गर्दै एकतर्फी भए पनि गाडी चलेका थिए । तर टोपे खोलाको पहिरोपछि गाडीहरू ठप्पै भए,’ बिसुरालले भने ।

टोपे खोला मुग्लिङ नजिक पर्छ ।

प्रकाशित : असार १८, २०७५ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?