२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

एसईई नतिजा छानबिन समितिको ठहर: अंकलाई ग्रेडमा बदल्दा त्रुटि

अंकलाई ग्रेडमा बदल्दा त्रुटि
सुदीप कैनी

काठमाडौँ — एसईई परीक्षाको नतिजा प्रकाशनमा प्राविधिक त्रुटि हुँदा विद्यार्थीको ग्रेडसिट (मार्कसिट) मा परिवर्तन आएको छानबिन समितिले ठहर गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार परीक्षार्थीले प्राप्त गरेको अंकलाई ग्रेडमा बदल्दा त्रुटि भएको प्रतिवेदनमा उल्लेख छ ।

एसईई नतिजा छानबिन समितिको ठहर: अंकलाई ग्रेडमा बदल्दा त्रुटि

अध्ययनकै क्रममा रहेको प्रतिवेदनमा मानवीय लापरबाही नभई प्राविधिक कारणबाट त्रुटि हुन पुगेको जनाइएको छ । ‘विद्यार्थीको प्राप्तांकमा कुनै परिवर्तन भएको छैन,’ छानबिन समिति निकट स्रोतले भन्यो, ‘प्राप्तांकलाई ग्रेडसिटमा रूपान्तरण गर्दा फरक पर्न गएको देखियो ।’ समितिले ६ दिन लगाएर नतिजा प्रकाशनको प्रक्रिया केलाएको थियो ।

उत्तरपुस्तिका परीक्षणपछि सम्परीक्षणसम्मको प्रक्रियामा त्रुटि नदेखिएको समितिको ठहर छ । ‘विद्यार्थीले प्राप्त गरेको ९० नम्बरलाई ग्रेडमा बदल्दा ‘ए प्लस’ देखाउनुपर्नेमा ‘ए’ मात्रै देखिएर त्रुटि भएको छ,’ उक्त स्रोतले कान्तिपुरसँग भन्यो । परीक्षा नियन्त्रण कार्यालयले यसअघि नै ९ हजार ६४ जना विद्यार्थीको ग्रेडसिट फरक परेको स्वीकार गरेको थियो । तर छानबिन प्रतिवेदनअनुसार त्रुटि भएको संख्या बढी हुन सक्छ । विभिन्न विषयमा ३०, ५०, ७० र ९० अंक प्राप्त गरेको विद्यार्थीको ग्रेडसिट तयार पार्ने बेला त्रुटि देखिएको समितिका एक सदस्यले बताए ।

कार्यालयले अक्षरांक पद्धति (ग्रेडिङ) मा नतिजा प्रकाशन गरेको थियो । एउटा विषयमा ०.४ देखि ०.०५ सम्म ग्रेड फरक परेको छ । त्रुटिको प्रकृति ग्रेडसिटअनुसार छुट्टाछुट्टै खालको देखिन्छ । कुनै विद्यार्थीको एउटै विषयमा ०.४ ग्रेड अन्तर देखिन्छ भने कुनै विद्यार्थीको ८ वटै विषयमा ०.०५ का दरले ०.४ जीपीए फरक परेको थियो । अधिकांश त्रुटि एउटै प्रकृतिको रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाको नेतृत्वमा गठित छानबिन समितिले आइतबार मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन अध्ययनकै क्रममा रहेको भन्दै सार्वजनिक गरिएको छैन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिवेदन बुझेलगत्तै परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीको जिम्मेवारी खोसेका थिए । उनलाई कारबाहीस्वरूप मन्त्रालय तानिएको छ । रेग्मीको व्यवस्थापकीय कमजोरीका कारण त्रुटि भएको मन्त्रालयले जनाएको छ । कार्यालयको जिम्मेवारी पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई दिइएको छ ।

प्रकाशित : असार १९, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?