१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

विश्वकप खेलमा जुवा खेलाउने तीन पक्राउ, नागराजको सम्पत्ति छानबिनको तयारी

जनकराज सापकोटा

काठमाडौँ — विश्वकपमा जित-हारको जुवा खेलाएको भन्दै प्रहरीले काठमाडौं महानगरपालिका-१५ बाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट ६ लाख ९९ हजार नगदसमेत बरामद गरेको छ । 

विश्वकप खेलमा जुवा खेलाउने तीन पक्राउ, नागराजको सम्पत्ति छानबिनको तयारी

म्हैपी घर भई बालाजु बस्ने २२ वर्षीय प्रकट मर्हजन, रामघाट बस्ने २२ वर्षीय रेजिन मर्हजन र चागल बस्ने २५ वर्षीय सुजेन शाहीलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार राति ब्राजिल र मेक्सिकोबीचको खेलमा उनीहरुले बाजी खेलाएका थिए । प्रहरीका अनुसार उनीहरुले विभिन्न व्यक्तिसँग बाजीका लागि नगद उठाउने र जित्नेबाट कमिसन लिने गरेका थिए । पक्राउ परेकाहरुलाई प्रहरीले जुवा ऐन २०१९ अन्तर्गत मुद्दा चलाउने भएको छ ।


प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोख्रेलले जारी विश्वकपका खेलहरुमा जुवा खेलाउने समूह राजधानीमा सक्रिय रहेको बताए । उनले अनलाइन र एसएमएसमार्फत पनि जुवा खेलाउने समूह सक्रिय रहेको बताउँदै भने ‘२०/२५ हजारदेखि डेढ लाखसम्म जुवा खेलाएको सूचना आइरहेका छन् ।’ एसएसपी पोख्रेलले फुटबलका नाममा वा अन्य कुनै नाममा बाजी खेल्ने खेलाउने गैरकानुनी भएको र त्यस्तो गतिविधिमा संग्लनहरुलाई कारबाही गरिने बताए ।


'सट्टेबाजी किङ' नागराजको सम्पत्ति छानबिन गर्ने तयारी

अन्तर्राष्ट्रिय क्रिकेट र फटुबल प्रतियोगिताहरुमा बाजीको धन्दा चलाउँदै आएका नागराज भनिने नथमल अग्रवालको सम्पत्ति छानबिन हुने सम्भावना बढेको छ । असार १० मा उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो ।


जनकपुर घर भई काठमाडौंको पानीपोखरी बस्ने नागराजले आईपिएल क्रिकेटको सट्टेबाजीमा २ करोड ४० लाख ठगी गरेको आरोप प्रहरीले लगाएको छ । महाशाखा स्रोतका अनुसार प्रत्यक्ष रुपमा कुनै व्यापार र पेसामा नजोडिएका उनको जीवनशैली उच्च घरनाको जस्तो देखिन्छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनले काठमाडौंका मुख्य तीन ठाउँमा जग्गा जोडेको र ५० करोडभन्दा धेरैको सम्पत्ती आर्जन गरेको देखाएको छ । महाशाखाका एक प्रहरी अधिकारीले उनले अन्तर्राष्ट्रिय सट्टेबाजीका गिरोहसँग मिलेर चलाएको सट्टेबाजीको धन्दाबाट ठूलो रकम आर्जन गरेको बताए ।


स्रोतका अनुसार उनको सम्पत्तिको वैधानिकता जाँच्नका लागि महाशाखाले सम्पत्ति शुद्धिकरण विभागलाई पत्राचार गर्ने तयारी थालेको छ । अहिले महाशाखाले उनीमाथि ठगी मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । नागराजलाई समाउनुअघि प्रहरी परिसर काठमाडौंले जेठ १५ मा आईपिएल र अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा अनलाई बेटिङ (सट्टेबाजी) गरेर ठगी गरेको आरोपमा नेपाली फुटबल टिमका पूर्वखेलाडी तथा प्रशिक्षक अन्जन केसीसहित ६ जनालाई पक्राउ गरेको थियो । प्रहरीले अन्जन र गौरव तिवारीसहितको समूहले ७ करोडभन्दा धेरैको अनलाइन जुवा खेलाएको आरोप लगाएको थियो ।


पक्राउ परेका ६ जनाविरुद्ध प्रहरीले जुवा ऐन २०१९ अन्तर्गत मुद्दा चलाइए पनि जिल्ला अदालत काठमाडौंको आदेशपछि अन्जन केसी दुई सय रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

प्रकाशित : असार १९, २०७५ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?