२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

गोरखाका राजेन्द्र सर्वोत्कृष्ट कृषक

सुरज कुँवर

काठमाडौँ — गोरखा पालुङटारमा ३ सयवटा गाई पालेरे वार्षिक १ करोड रुपैयाँ कुल आम्दानी गर्दै आएका राजेन्द्रराज पन्तलाई सरकारले यस वर्षको सर्वोत्कृष्ट कृषक घोषणा गरेको छ ।

गोरखाका राजेन्द्र सर्वोत्कृष्ट कृषक

बुधबार कृषि मन्त्री चक्रपाणी खनालले पन्तलाई हरिहरभवनस्थित कृषि विभागमा आयोजित समारोहमा नगद २ लाख रुपैयाँसहित राष्ट्रपति सर्वोत्कृष्ट पुरस्कार प्रदान गरे ।


कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव लेखनाथ आचार्यका अनुसार, पन्तले २०५२ सालमा स्थापना गरेको कामधेनु गाई पालन केन्द्र स्थापना गरेका थिए । हाल यिनको गाई पालनमा कुल लगानी ५ करोड पुगेको छ । परिवारका ६ सदस्यसहित ३५ जना स्थायी कर्मचारी फार्ममा छन् ।


‘दुधे गाई २ सय ६० वटा र ४० बाच्छा/बाच्छी, ३ सय ४० रोपनीमा घाँस खेती छ,’ मन्त्रालयले तयार पारेको मूल्याकन प्रतिवेदनमा लेखिएको छ, ‘१७ रोपनीमा गाई गोठ, प्रशिक्षण केन्द्र, दाना उत्पादन घर, चिलिङ्ग भ्याटसहित फार्म कुल ३ सय ५७ रोपनीमा छ ।’ पन्तले दुध बिक्रि गरेर वार्षिक १ करोड ५ लाख रुपैया आम्दानी गर्छन् । उनको फार्ममा होलिस्टीन र जर्सी नश्लका गाई छन् ।


कृषि क्षेत्रको सबैभन्दा ठूलो धनराशीको ‘राष्ट्रपति कृषक पुरस्कार’ पाउनेमा पन्त चौथो किसान हुन् । व्यावसायिक कृषि पेशामा युवा पुस्ताको आर्कषण बढाउन सरकारले आर्थिक वर्ष ०७०/०७१ देखि थालेको यो पुरस्कार प्राप्त गर्नेमा टिकापुरमा १० विगाहा जमिनमा केरा खेती गर्ने कालु हमाल पहिलो हुन् । दोस्रो वर्ष कास्कीको लाहाचोकमा ६ करोड लगानीमा भैसीपालन गर्दै आएका इमान बहादुर गुरुङ पुरस्कृत भएका थिए । वार्षिक ३ करोड रुपैया बराबरको माछाको कारोबार गर्ने सर्लाहीको पिडारीका अफजल हुसेन गत वर्ष सर्वोत्कृष्ट कृषक पुरस्कार प्राप्त गर्ने तेस्रो किसान थिए ।


त्यसैगरी मन्त्रालयले चार जना किसानलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरेको छ । मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शिरिष पुनका अनुसार, १ लाख रुपैयाँ राशी भएको पुरस्कार पाउनेमा भरतपुरमा बाख्रा पालन व्यवसाय गर्दै आएका योगेन्द्र बहादुर खड्का (जगतपुर एग्रो प्राइभेट लिमिटेड), खजुरा बाँकेमा च्याउ खेती गर्दै आएका लाल बहादुर सुनार (श्याम सुन्दर च्याउ खेती उद्योग), धनुषाको ननुपट्टीमा माछा उत्पादन गर्दै आएका बौएलाल मुखिया ( मूखिया मत्स्य प्रजनन फार्म) र कैलालीको टिकापुरमा केरा खेती गर्दै आएका राम बहादुर कुँवर (केरा खेती व्यवसाय) छन् ।

यि किसानलाई उत्पादान स्थिति, उत्पादकत्व, व्यवसायको दिगोपना, लगानी, आर्थिक आम्दानी, रोजगारी सृजना, श्रोत साधनको स्थितिलगायतका मापदण्डका आधारमा मूल्यांकन गरिएको हो । सबैभन्दा पहिले जिल्लामा रहेको कृषि विकास कार्यालयले जिल्लाभरबाट तीन उत्कृष्ट कृषक छानेर क्षेत्रीय कृषि कार्यालयमा सिफारिश गरी पठाउछ । क्षेत्रले सबै जिल्लाबाट छानिएकामध्येबाट ५ जनालाई क्षेत्रीय स्तरको उत्कृष्ट घोषणा गर्दै तीनको नाम मन्त्रालयमा रहेको केन्द्रीय छनौट समितिमा पठाउँछ । केन्द्रमा कृषि सचिवको नेतृत्वको बैठकबाट सबै क्षेत्रमा पुरस्कृत भएका किसान मध्येबाट ५ जनालाई उत्कृष्टको सूचीमा छनौट गर्दै ती मध्येबाट एक जनालाई सर्वोत्कृष्ट कृषक घोषणा गर्ने गरिन्छ ।


यसैबीच यस वर्षदेखि सर्वाधिक कृषि बाली तथा पशुपंक्षी विमा गर्ने कम्पनीलाई पनि सम्मान थालिएको छ । यसअन्तर्गत एन.एल.जी इन्स्योरेन्स कम्पनीलाई सर्वोत्कृष्ट घोषणा गरिएको छ भने सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ट घोषणा गरिएको छ ।


प्रकाशित : असार २०, २०७५ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?