बस्ती जोगाउन हम्मे

अर्जुन राजवंशी

दमक — वर्षातको सुरुवातमै बाँध भत्किएपछि कमल गाउँपालिका–२ क्याम्पा बजार र सुकुम्बासी बस्ती जोगाउन हम्मे परेको छ । स्थानीय कमल खोलाको धार बस्तीतर्फ सोझिएको छ 

बस्ती जोगाउन हम्मे

गाउँपालिका र जनताको तटबन्ध कार्यक्रमबाट करिब एक करोड लागतमा निर्माण गरिएको बाँध केही दिनअघि भत्काएको हो ।

‘बर्खा राम्ररी सुरु नहुँदै बाँध भत्काइसक्यो । खोलाले पनि बस्तीतर्फ नै धार बनाएको छ,’ स्थानीय बमबहादुर तिवारीले भने, ‘यसपालि उठीबासै लगाउँछजस्तो छ ।’

खोला किनारमा ६० परिवारको बसोबास छ । बस्तीसँगै कमला मदन मावि छ । दुई दिनअघि खोलामा आएको बाढी बस्ती नजिकै पुग्यो । गाउँपालिकाले खोलाको धार परिवर्तन गर्न प्रयास गरे पनि सम्भव भएको छैन । ‘बाँध भत्किएदेखि साहै्र डर लाग्न थालेको छ । पानी पर्न थाल्नासाथ कहाँ जाने, कहाँ बस्ने भन्ने चिन्ताले सताउँछ,’ देवकुमारी विश्वकर्माले भनिन् ।

उनको ९ जनाको परिवार छ । जोखिम उच्च भएपछि गाउँपालिकाले पुन: बाँध निर्माणको काम गरिरहेको छ । गाउँपालिका कार्यालय भवन रहेको क्याम्पा बजार र खोलानजिकैको बस्ती डुबानको जोखिममा परेपछि बाँध निर्माण थालिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् । ‘लगातार पानी परिरहेको छ । यस्तो बेला खोलामा बाढी आए सिधै बस्ती डुबाउने खतरा छ,’ उनले भनिन्, ‘त्यसैले खोला नियन्त्रणलाई प्रमुखतासाथ अघि बढाएका छौं ।’

खोलामा जैविक प्रणालीअन्तर्गत बाँस गाडेर बाँध बनाइँदै छ । मेसिनको सहायताले बाँसलाई ३ मिटरजति गाडेर बेरा लगाउने र त्यसमाथि माटो भरिएका बोरा राखिने काफ्लेले बताइन् ।

करिब आठ मिटर क्षेत्रमा बाँध बनाइँदै छ । कमल खोलाको बाढीले गत वर्ष करिब ५ दर्जन परिवार पूर्णरूपमा विस्थापित भएका थिए । सयौं घर डुबानमा परेका थिए ।

प्रकाशित : असार २१, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?