कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अलपत्र तीर्थयात्री नेपालगन्ज ल्याइए

हुम्ला — खराब मौसमका कारण सिमकोट र हिल्सामा अलपत्र परेका भारतीय तीर्थयात्री नेपालगन्ज झरेका छन् । भारतीय दूतावासको समन्वयमा नेपाली सेना र श्री एयरको एमआई १७ हेलिकप्टरले उनीहरूलाई ओसारेका हुन् ।

अलपत्र तीर्थयात्री नेपालगन्ज ल्याइए

बिहीबार अन्य हवाईजहाजले २५ फ्लाइटसम्म गरे । सबै गरेर बिहीबार मात्रै ३ सय ७० यात्री नेपालगन्ज झरेको स्थानीय समन्वयकर्ता जनक शाहीले बताए । उनका अनुसार हिल्सामा रोकिएका यात्रीलाई भने हेलिकप्टरमार्फत सिमकोट ल्याइएको छ । हेलिकप्टरले दिनभर ५६ वटा उडानमार्फत यात्रुलाई सिमकोट पुर्‍याइएको थियो ।

भारतीय यात्रुको गुनासो
कैलाश मानसरोवर दर्शनका लागि गएका भारतीय तीर्थयात्रीले तिब्बतमा दु:ख पाएको गुनासो गरेका छन् । उनीहरू चिनियाँ गाइड (पथप्रदर्शक) प्रति असन्तुष्ट देखिए । भारतको हैदराबादबाट आएका एक तीर्थयात्रीले चिनियाँ गाइडको व्यवहार राम्रो नभएको बताए ।

‘नेपाली गाइड बहुत ठीक हुन्छन्,’ उनले भने, ‘चिनियाँले खुलेर कुरै गर्दैनन्, व्यवहार पनि रूखो गर्छन् ।’ पर्यटन व्यवसायी रिन्जिन लामाका अनुसार विगत वर्षमा ट्राभल एजेन्सीले आवश्यकताअनुसार नेपाली गाइड र कुक पठाउने गर्थे । यो वर्षदेखि भने चीनले नियन्त्रण गरेको छ । आठजनाका लागि एकजनामात्र नेपाली गाइड जान पाउँछन् । खानाका लागि छुट्टाछुट्टै मेस बनाउन पाइँदैन । सामूहिक मेसमा खानुपर्छ । ‘यसले तीर्थयात्रीलाई निकै सास्ती भएको छ, रुचिअनुसारको खाना खानसमेत पाउँदैनन्,’ लामाले भने, ‘चीन सरकारको नयाँ नियमले तीर्थयात्रीलाई दु:ख भएको छ ।’

विगतमा नेपाली कुक र गाइड हुँदा भाषा र रहनसहनका कारण सहज हुने गरेको एक तीर्थयात्रीले बताए । कैलाश परिक्रमा गर्दासमेत उनीहरूले अपेक्षित सहयोग पाउँदैनन् । यो वर्ष लेक लागेर र अन्य कारणले आठ तीर्थयात्रीको मृत्यु भइसकेको छ । भारतीय तीर्थयात्री मध्यवैशाखदेखि असोजसम्म कैलाश यात्रा गर्छन् । २०७२ को भूकम्पछि तीर्थयात्रीले हुम्ला भएर हिल्साको नाका प्रयोग बढाएका छन् ।

प्रकाशित : असार २२, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?