दाहालका दु:ख

पछिल्लो समय बेलाबेला सीता बिरामी पर्न थालेपछि दाहाल बढी चिन्तित छन् । उनको उपचारका लागि पनि त्यत्तिकै गम्भीर देखिन्छन् । त्यसकारण उनी असार ३ देखि १८ गतेसम्म सीतासँगै सिंगापुरमा बसे र स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्के ।
गंगा बीसी

काठमाडौँ — शक्तिशाली पार्टी अध्यक्ष पुष्पकमल दाहाल जति शक्तिशाली छन्, त्यति नै उनका दु:ख पनि छन् । उनले थुप्रै दु:खबीच आफ्नो राजनीतिक यात्रालाई अघि बढाएका छन् । ‘चार दशकभन्दा बढी सीताले साथ दिनुभयो, यस पटक म उपचार हुँदासम्म सँगै यहीं बस्छु,’ दाहालले सिंगापुरमा पत्नी सीताको उपचारका लागि १५ दिन सिंगापुर बस्दा भनेका थिए ।

फाइल फोटो

त्यहाँ छोरी गंगा र भतिज समीर सँगै भए पनि उनले सीताको उपचारमा पूरै समय दिए । केही महिनाअघि समीरले उपचारका लागि सीतालाई दिल्ली लगेका थिए । त्यसबेला दाहाल त्यतै बसेका थिए ।

हाल दाहाल दिउँसो राजनीतिमा सक्रिय भए पनि बिहान र बेलुका सीताको रेखदेखमा विशेष ध्यान दिन्छन् । सीताको स्वास्थ्यका लागि विशेष ख्याल गरेको परिवारका एक सदस्यले बताए ।

Yamaha

सिंगापुरमा उपचारपछि सीताको स्वास्थ्यमा सुधार भयो । दाहालले पत्नीसँगै सिंगापुरका पर्यटकीय स्थलको भ्रमण पनि गरे । सीताको अनुहारमा पनि खुसी देखियो । त्यसले दाहाललाई ऊर्जा थप्यो ।

पछिल्लो समय बेलाबेला सीता बिरामी पर्न थालेपछि दाहाल बढी चिन्तित छन् । उनको उपचारका लागि पनि त्यत्तिकै गम्भीर देखिन्छन् । त्यसकारण उनी असार ३ देखि १८ गतेसम्म सीतासँगै सिंगापुरमा बसे र स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्के । निजी भ्रमण भए पनि उनी र सीतालाई स्वागत गर्न कम्युनिस्ट पार्टीका महासचिवलगायत सरकारका मन्त्री र नेताहरू ठूलो संख्यामा त्रिभुवन विमानस्थल पुगेका थिए । त्यो दाहाललाई हौसला बढाउन गरिएको स्वागतको नमुना थियो ।

सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गरेर फर्केपछि सीताको स्वास्थ्यमा सुधार भइरहेको छोरी गंगाले बताइन् । ‘आमाको स्वास्थ्यमा सुधार भइरहेको छ,’ उनले भनिन्, ‘तीन महिनासम्म पानीमा थेरापी गर्न डाक्टरको सुझाव छ । औषधि पनि लिइरहनुभएको छ ।’ त्यहाँका चिकित्कले सीतालाई न्युरोसम्बन्धी रोग पीएसपी (प्रोगेसिभ सुप्रन्युक्लियर पाल्जी) देखिएको बताएका छन् । वास्तवमा ‘ढुंगाको भर माटो, माटोको भर ढुंगा’ भनेझैं पार्टीको काममा दाहालले सीताको भर लिन्थे । माओवादी युद्धको ‘सुप्रिम कमान्डर’ भएका बेला अन्तिम सल्लाह सीताकै हुन्थ्यो । सीताको सल्लाहका कारण धेरै पटक दाहालले संकट पार गरेका छन् । रोल्पामा सीताको सल्लाहमा सेल्टेर परिवर्तन नगरेको भए शाही नेपाली सेनाको आक्रमणमा उनी मारिने थिए । यतिबेला पनि दाहालको मुख्य भर सीता नै हुन् ।

गत ३ मंसिर २०७४ छोरा प्रकाशको मृत्यु भएपछि दाहालको दाहिने हात भाँचिएजस्तै भएको थियो । संघ र प्रदेशको मुखमा एकमात्र छोरा गुमाएपछि दाहालले भनेका थिए, ‘देश र जनताको सेवाबाहेक मेरो अरू स्वार्थ छैन ।’ त्यसपछि पुत्र वियोगको पीडाबीच उनी निर्वाचनमा होमिए । चितवन–३ को आफ्नो निर्वाचन क्षेत्रको चुनावी कार्यक्रममा केही समय सीता पनि सहभागी भएकी थिइन् ।

निर्वाचनकै क्रममा उनी बिरामी परेकी थिइन् । दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रकाशले बुवाको कामकारबाहीमा प्रभावकारी भूमिका निभाएका थिए । ‘राजनीतिक र व्यावहारिक हिसाबले परिपक्व भइरहेको थियो, मेरो ठूलो भरोसा थियो,’ दाहालले त्यतिबेला कान्तिपुरसँग भनेका थिए, ‘शोकलाई शक्तिमा बदल्नेबाहेक अरू उपाय छैन ।’ छोरा प्रकाशको निधनपछि दाहाल आफैं पनि शारीरिक रूपमा कमजोर देखिएका थिए । दाहाललाई हाई प्रेसर र सुगर छ । उनी हरेक बिहान टेबुल टेनिस खेल्ने भएकाले दिनभर सक्रिय हुन सक्छन् ।

पारिवारिक समस्याबीच दाहालले पार्टी व्यवस्थापन उचित ढंगले गर्दै आएका छन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पारिवारिक समस्याबीच अध्यक्ष दाहालले पार्टीको सही व्यवस्थापन गरिरहेको बताए । ‘अध्यक्षले आफ्ना व्यक्तिगत दु:खबीच पार्टीको काममा निरन्तर लाग्नुभएको छ,’ उनले भने । छोरा प्रकाशको निधनलगत्तै उनी आफ्नो निर्वाचनमा सक्रिय भएर अरू नेताको चुनाव प्रचारप्रसारमा समेत सहभागी भएका थिए । ‘दु:ख र पीडाबीच पनि निरन्तर पार्टी र जनताको काममा लागिरहने अध्यक्षको विशेषता हो,’ श्रेष्ठले भने ।


कुनै समस्या, पीडा आइपर्दा दाहालले आफूलाई कसरी व्यवस्थापन गर्छन् ? स्वकीय सचिव जोखबहादुर महरा भन्छन्, ‘अध्यक्ष तनाव लिएर बस्ने नेता होइन । एउटा समस्या आउनबित्तिकै नयाँ योजना ल्याएर काम अघि बढाउनु हुन्छ । यसले तनाव, पीडा समाधान गर्दै जान्छ ।’ जेठी छोरी ज्ञानुको २०७० चैतमा क्यान्सरका कारण मृत्यु भएपछि दाहाल पीडामा परेका थिए । पीडालाई पचाएर उनले राजनीतिक यात्रालाई कमजोर हुन नदिएको नेताहरू बताउँछन् ।

परिवार व्यवस्थापन
प्रकाशको निधन भएपछि उनले राजनीतिक उत्तराधिकारीमा छोरी रेणु र बुहारी बिना मगरलाई समान रूपमा अघि सारेका छन् । रेणु भरतपुर महानगरपालिकाकी मेयर छन् भने बिना प्रतिनिधिसभामा कञ्चनपुर–१ बाट निर्वाचित भई हाल खानेपानी मन्त्री छन् । उनको स्वकीय सचिवमा छोरी गंगा छन् । अर्की बुहारी सिर्जना त्रिपाठी कास्की पार्टी कमिटीमा काम गर्छिन् । उनी कुनै लाभको पदमा छैनन् ।

‘दाहाल परिवारबाट को अघि जाने भन्ने विषयमा प्रतिस्पर्धा देखिन्छ,’ दाहाल निकट एक नेताले भने, ‘अध्यक्ष अहिलेसम्म कसलाई मुख्य उत्तराधिकारीका रूपमा अघि सार्ने विषयमा दोधारमा हुनुहुन्छ ।’

प्रकाशको निधन भएपछि उनले दुवै नातिलाई आफ्नो निजी निवास खुमलटार ललितपुरमा राख्दै आएका छन् । तनावमा भएका बेला दुवै नाति प्रसिद्ध, प्रणव र नातिनीहरूका साथै परिवारका अन्य सदस्यसँगै समय बिताउँदै आएका छन् ।

नेता व्यवस्थापन
पार्टी एकता भइसकेपछि नेताहरूको व्यवस्थापनको मुख्य जिम्मेवारी उनकै काँधमा आइपर्छ । खासगरी पूर्वमाओवादी नेताको पार्टीमा व्यवस्थापनका लागि उनको मुख्य जिम्मेवारी आइपरेको छ । पार्टी स्थायी समिति टुंग्याए पनि पोलिटब्युरो गठन, भ्रातृ संगठन र जिल्ला समिति टुंगोमा पुगेपछि दाहालको भार कम हुनेछ ।

निर्वाचनको मुखमा दाहाल पुत्रवियोगको पीडामा थिए । त्यसबेला उनले तत्कालका लागि एमालेसँग चुनावी तालमेल गर्ने र त्यसपछि पार्टी एकताकाको निर्णय लिएका थिए ।

निर्वाचनमा आएको परिणाम र पार्टी एकताले अलिकति भए पनि पुत्रवियोगको पीडालाई कम गरेको छ । पार्टी एकता हुनुभन्दा अघि दाहालले आफ्नो स्वार्थका लागि नेताहरूले बार्गेनिङ गरेको गुनासो गरेका थिए । ‘नि:स्वार्थ मलाई सहयोग गर्ने नेता कम छन्,’ दाहालले निकट नेताहरूसँग भनेका थिए, ‘पार्टी र सरकारको पद लिन नजिक आउने गर्छन् ।’

पार्टी एकता भइसकेपछि दाहालको राजनीतिक घेरा पनि ठूलो भएको छ । पूर्वमाओवादी मात्र होइन, पूर्वएमालेका नेताहरू उनी निकट भएका छन् । आगामी महाधिवेशनमा अध्यक्ष हुने मनस्थिति उनले बनाएका छन् । त्यसका लागि उनले प्रारम्भिक छलफल सुरु गरिसकेका छन् । पार्टी एकता भइसकेपछि नेता तथा कार्यकर्ताको व्यवस्थापनमा प्रधानमन्त्री केपी ओलीसँग दाहालले सहकार्य गरेका छन् ।

Esewa Pasal

प्रकाशित : असार २३, २०७५ ०७:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आयोगको निरन्तरताप्रति पीडितहरू असन्तुष्ट

‘सरकारले कतै सांकेतिक सजाय दिलाएर अन्तर्राष्ट्रिय समुदायको आँखामा छारो हाल्न त लागेको होइन ?’
सांकेतिक सजायले अपराधी उम्काउन सरकार लागिपरेको आरोप
घनश्याम खड्का

काठमाडौँ — द्वन्द्वपीडितहरूले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगलाई संशोधन गर्न बनेको प्रतिस्थापन विधेयकका केही प्रावधानप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

ऐनका कतिपय प्रावधान पहिलेको भन्दा फराकिलो र नयाँ भए पनि केही प्रावधानले आफूहरूलाई दु:खी र क्षुब्ध बनाएको द्वन्द्वपीडितहरूको साझा संगठन ‘द्वन्द्वपीडित साझा चौतारी’ ले जनाएको छ ।

‘गठन भएको साढे तीन वर्ष पुगिसक्दा पनि केही काम गर्न नसक्ने दुई आयोगलाई सुधार्ने वा काम गर्ने बनाउने कुनै प्रावधान नै यो ऐनमा छैन,’ चौतारीका अध्यक्ष सुमन अधिकारी भन्छन्, ‘यसमा हामी सबै पीडितको ठूलो असन्तुष्टि र असहमति छ । संसद्ले फेरि पनि त्यही अक्षम आयोगलाई नै निरन्तरता दिएको छ भने प्रस्तावित प्रतिस्थापन विधेयकले तिनलाई सुधार्ने कुनै काम गरेको छैन ।’ जतिसुकै राम्रो ऐन ल्याए पनि आयोगको मौजुदा स्थितिमा आफूहरूले न्याय पाउन नसक्ने पीडितको बुझाइ छ । यसबाहेक गम्भीर अपराधमा संलग्नलाई तीन वर्षसम्म सामुदायिक सेवा गराएर कसुर कट्टी गराउने खालको प्रावधानले पनि आफूहरू सशंकित भएको अधिकारीले बताए ।

‘हुन त ऐनमा आठ वर्षसम्म थुनामा पठाउने प्रावधान पनि छ,’ अधिकारी भन्छन्, ‘तर त्यही ऐनमा तीन वर्ष सामुदायिक सेवामा श्रम गरेर पनि सजाय कट्टा हुने उल्लेख छ । सरकार कतै सांकेतिक सजाय दिलाएर अन्तर्राष्ट्रिय समुदायका आँखामा छारो हाल्न त लागेको होइन भन्ने प्रश्न उब्जिएको छ ।’ हत्या, अपहरण, बलात्कार, यातनाजस्ता गम्भीर अपराधमा संलग्नलाई सांकेतिक होइन, सामान्य कानुनअनुसारै सजाय हुनुपर्ने पीडितहरूको माग छ ।

सामान्य अवस्थामा जन्मकैद पाएको मानिसलाई असल चालचलनका आधारमा ६० प्रतिशतसम्म कैद मिनाहा गर्ने सरकारको चलन छ, त्यो भनेको कुल बस्नुपर्ने २० वर्ष कैदमा आठ वर्ष बसे पुग्छ । ‘कानुनअनुसार पाउने छुट दिएर कसुर ठहर भएका अपराधीलाई सरकारले ८ वर्ष कैद सजाय दिन्छ भने यसमा हाम्रो भन्नु केही पनि छैन,’ उनी भन्छन्, ‘तर जेसुकै अपराध गरेको ठहर भए पनि जेलै जान नपर्ने गरी कानुन ल्याउन लागेको हो भने त्यो हामीलाई मान्य हुँदैन, त्यसको विरोध गर्छाैं ।’

संशोधन विधेयकलाई सरकारले संसद्मा लैजानुअघि छलफलका लागि दुई साताअघि सार्वजनिक गरेको थियो । यसका दफावार प्रावधान हेरेपछि पीडितहरूको संगठनले सांकेतिक सजायको प्रावधानमा विरोध जनाएको हो । कोलम्बियामा द्वन्द्वकालीन मानव अधिकार उल्लंघनका घटनाका दोषीलाई सजाय घटाएर कारबाही गर्ने नयाँ ढाँचा अनुसरण भएपछि नेपालले पनि यसैलाई पछ्याउँदै थोरै दण्डसहितको ऐन मस्यौदा गरेको हो ।

क्षमायाचना गर्ने, सत्य उद्घाटनमा सघाउने र अपराध कबुल गर्ने कसुरदारलाई तीन वर्षसम्म सामुदायिक सेवामा श्रम गर्न पठाइने, तीन वर्षसम्म निजलाई देश छाड्न नदिने र तीनै वर्षसम्म कुनै सार्वजनिक वा लाभको पदमा बस्न नदिने प्रावधान मस्यौदामा छ । पीडितहरूले उक्त प्रावधानले घुमाउरो पारामा पीडकलाई उन्मुक्ति दिने काम गर्न सक्ने भन्दै विरोध गरेका हुन् ।

मस्यौदामा पहिलोपटक परिपूरणलाई पीडितको अधिकारका रूपमा व्याख्या गरिएको छ जसलाई उनीहरूले सराहनीय भनेका छन् । ‘तर पनि यो प्रावधान अपूरो छ किनभने यसले पूर्ण रूपमा परिपूरण पाउने हाम्रो हकलाई स्थापित गरेको छैन,’ अधिकारी भन्छन्, ‘यसमा पीडितको शिक्षा, स्वास्थ्य, रोजगार इत्यादिका बारेमा केही लेखिएको छैन । त्यो लेखिनुपर्छ ।’ मस्यौदामा आयोगको सिफारिसअनुसारको परिपूरणको व्यवस्था चित्त नबुझे मानव अधिकार आयोगमा उजुरी गर्न सक्ने भन्ने प्रावधान पनि छ । यसमा पनि संशोधन हुनुपर्ने पीडितको माग छ । ‘आयोगमा मात्रै होइन, अदालतमा पनि जान पाउनुपर्छ,’ अधिकारी भन्छन्, ‘नत्र यसले न्याय पाउने मौलिक हक नै हनन हुन जान्छ ।’

मस्यौदामा उल्लेख गरिएको पीडितको कब्जा भएको सम्पत्ति हस्तान्तरण हुने प्रावधानलाई भने साझा चौतारीले स्वागत गरेको छ । यसले सम्पत्तिसम्बन्धी अधिकार स्थापित हुने उनीहरूको बुझाइ छ ।

प्रकाशित : असार २३, २०७५ ०७:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT