१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सधैं बाढीकै पीडा

हरेकजसो बर्खामा लालबोझीवासी चैनले निदाउन पाउँदैनन् । मोहना र कान्द्रा नदी कतिखेर उर्लिएर बस्ती पस्छन्, पत्तो हुँदैन । बाढीकै कारण पटकपटक विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ । बाटोघाटो ठप्पै हुँदा एउटाबाट अर्को बस्ती पुग्न डुंगामा जोखिम मोल्नुपर्छ ।
मोहन बुढाऐर

भजनी (कैलाली) — गत सोमबारयता भजनी ५ लालबोझीका पुरन चौधरी परिवारको कुनै रात चैनले बितेको छैन । आइतबार राति मस्तसँग निदाएका उनी बिहान उठ्दा निकै आत्तिए । घरभित्र बाढी पसेको थियो । निद्रामै रहेका लालाबालालाई हत्तपत्त ब्युँझाए ।

सधैं बाढीकै पीडा

बाढीबाट बच्न परिवार लिएर एक गैरसरकारी संस्थाले गाउँमै बनाइदिएको ‘सेफ हाउस’ तर्फ दौडे । पुरनसँगै गाउँका अन्य १४ परिवारले त्यो रात ‘सेफ हाउस’ मै बिताए ।

कान्द्रा नदीको बाढी घटेपछि उनीहरू बुधबार मात्रै घर फर्किए । लालबोझीमा गैरसरकारी संस्थाले २० परिवार अटाउने, बाढी पस्न नसक्ने अग्लो जगको सुरक्षित घर बनाइदिएको छ । ‘अब लालबोझीवासीका पीडाका दिन सुरु भए,’ पुरनले भने । उनका अनुसार चुरेमा परेको पानीले कान्द्रा र मोहना नदीमा बाढी आउँदा गाउँ चुर्लुम्मै डुब्छ । मोहना र कान्द्रा नदीको टापुमा पर्छ लालबोझी । भजनी नगरपालिकाको ५ नम्बर वडा ।

‘सोमबार एक दिनकै बाढीले लालबोझीसहित भजनीका केही वडा डुबानमा परे,’ स्थानीय लालबहादुुर साउदले भने, ‘लगातार २/३ दिन चुरेमा भारी वर्षा भए कैलालीको तल्लो तटीय क्षेत्र पूरै डुबानमा पर्छ ।’

दुवैतिर नदीले घेरिएकाले लालबोझीमा हेलिकप्टरबाट मात्रै उद्धार गर्नुको विकल्प नहुने गाउँले बताउँछन् । ०६६ को बाढीमा यो ठाउँ पूरै डुबेको थियो । रूख र घरको छतमा बसेका स्थानीयलाई हेलिकप्टरबाट उद्धार गरिएको थियो । सुनाराम डगौरा बाढीबाट बच्न सजग भइरहनुपर्ने बताउँछन् । ‘चुरेमा कालो बादल मडारिँदा निद्रा र भोक हराउँछ,’ उनले भने ।

बाढीकै कारण लालबोझीबाट थुप्रै परिवार विस्थापितसमेत भइसकेका छन् । ‘बाढीको दु:खले बर्सेनि यहाँबाट स्थानीय विस्थापित हुँदै गएका छन्,’ भलमन्सा सेवकराम चौधरीले भने, ‘कतै जान नसक्ने विपन्न परिवारले सधैं पीडा सहेर बस्नुपरेको छ ।’ गाउँ पसेको बाढी घटदै जाँदा घरखेत कटान गर्ने गरेको उनले बताए ।

लालबोझी जिल्लाकै सबैभन्दा होचो स्थान हो । भजनी नगरपालिकासँगै जोडिएका जोशीपुर गाउँपालिका र टीकापुर नगरपालिका केही वडा पनि डुबानमा पर्छन् । बाढीले हरेक वर्ष सयौं बिघाको बाली क्षति गर्नुका साथै २०/३० बिघा जमिन कटान गर्दै आएको छ ।

अतिक्रमणले नदी साँघुरो पारिएकाले बाढी गाउँ पस्न सुरु गरेको हेरुलाल डगौराले सुनाए । ‘वर्षात अन्त्य नहुँदासम्म स्थानीय चिन्तामुक्त भएर बस्न पाउँदैनन्,’ उनले भने, ‘यो सधैंको पीडा भइसक्यो ।’ कुनै बेला जिल्लाकै सबैभन्दा राम्रो उब्जनी हुने लालबोझीलगायत क्षेत्रमा अहिले बालुवा भरिएर उर्वरा शक्ति ह्रास भएको छ । ‘बालुवाको पटान भएको खेतमा उत्पादन हुँदैन,’ डगौराले भने, ‘पहिले–पहिले अन्न बेच्न पुग्ने परिवारलाई अहिले छाक टार्नै कठिन छ ।’

कैलालीको चुरे पहाडबाट साना–ठूला ९ सय ३० नदीनाला निस्कन्छन् । ती सबै नेपाल–भारतको सिमाना भएर बग्ने मोहनामा मिसिने गरेका छन् । जिल्लाका चार ठूला नदी पथरिया, कान्द्रा, काडा र मोहनाको मिलनविन्दु लालबोझीको ढुंगाना टोल हो ।

विद्यालय प्रभावित
यस क्षेत्रका विद्यालय पनि वर्षाको समयमा नियमित र पूरा समय सञ्चालन हुँदैनन् । पानी पर्नासाथ कक्षा बन्द गरिन्छन् । बाढीकै कारण साता दिनसम्म पनि विद्यालय बन्द हुने गरेको स्थानीय इन्द्र यादवले बताए । ‘वर्षाको समयमा नियमित र पूरा समय स्कुल लागेको कहिल्यै छैन,’ लालबोझी कर्मेश्वर माविका प्रधानाध्यापक खुमानन्द वलीले भने, ‘सोमबार पनि बाढी पसेपछि ३ दिन बन्द गर्नुपर्‍यो ।’ उनका अनुसार बाढी आएपछि विद्यालय जोड्ने सबै बाटोघाटो थुनिन्छन् ।

वर्षभरिमा १ सय ९२ दिन पढाइ हुनुपर्नेमा बाढीले १ सय ५० दिनभन्दा बढी पढाउन नसकिएको वलीले बताए । यसको असर परीक्षामा पर्ने परेको छ । भजनी स्रोत केन्द्रअन्तर्गत निजी १६ र सामुदायिक ३६ गरी ४९ विद्यालय पर्छन् ।

डुंगाको जिन्दगी
बर्खामा स्थानीय बासिन्दा कान्द्रा, पथरिया, काडा र मोहना नदी डुंगामार्फत पार गर्छन् । हिउँदमा भने ती नदीमा पानीको सतह घुँडामुनिसम्म मात्रै रहन्छ । बर्खामा कान्द्राको सिरानदेखि मोहनासम्म ७० भन्दा बढी स्थानमा डुंगाबाट वारपार गर्ने गरिएको छ । ‘कहीँ नगरपालिका त कहीँ स्थानीय क्लबले डुंगा चलाउने गरेका छन्,’ भजनीका विजय श्रेष्ठले भने, ‘बाढीले आउजाउ जोखिमपूर्ण बनाइदिएको छ ।’

खैलाड गाविसका ४ वटा वडालाई नदीले छुट्याएको छ । नदीपारिका वडाका लागि स्थानीयले पचुरिया र भरुवाघाटमा २ वटा डुंगा चलाउने गरेका छन् । त्यस्तै लालबोझीका बासिन्दाले १३ स्थानमा डुंगा व्यवस्था गरेका छन् । कुसमघाटमा त स्थानीयको घरघरै डुंगा छन् । भजनी ९ को मौरियाघाटमा ३ ठाउँमा ३ डुंगा र खैलाडको पचुरियादेखि मौरियाघाटसम्म १७ डुंगा चल्छन् ।

प्रकाशित : असार २३, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?