कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मुस्ताङ टिपर दुर्घटना : रोल्पाको उवागाउँ शोकमग्न

शव ल्याउन ढिलाई, गाउँमै शव पुर्‍याइदिन आफन्तको माग
काशीराम डाँगी

रोल्पा — सडक निर्माणका लागि मुस्ताङको जोससोम पुगेका रोल्पाका १० मजदुर टिपर दुर्घटनामा शुक्रबार मृत्यु भएपछि उवागाउँ शोकमग्न छ । मृत्यु भएका २० मध्ये ८ जना थबाङ गाउँपालिका-५ उवाको पुसबाङ गाउँका हुन् ।

मुस्ताङ टिपर दुर्घटना : रोल्पाको उवागाउँ शोकमग्न

टिपर दुर्घटनामा शुक्रबार मृत्यु भएका ८ जना थबाङ गाउँपालिकाअन्तर्गत उवाका र अन्य २ जना रोल्पाकै सुनछहरी गाउँपालिकाका रहेको थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीले पुष्टि गरे । अध्यक्ष घर्तीले मृत्युको खबरपछि गाउँमा रुवाबासी चलेको बताए । ‘गाउँ नै शोकमा परेको छ’ उनी भन्छन्, ‘सरकारले शव आफन्तसमक्ष छिट्टै गाउँमै ल्याइदिने व्यवस्था मिलाइदेओस् ।’ मृतकहरुको शव नेपाली सेनाको हेलिकप्टरमार्फत उवा वा थबाङमा ल्याउने तयारीबारे छलफल भइरहेको जानकारी प्राप्त भएको अध्यक्ष घर्तीले बताए । उनले शव शोकाकुल गाउँमै ल्याउन विशेष आग्रह गरिएको बताए ।


दुर्घटनामा मारिएकामा थबाङ गाउँपालिका ५ पुसबाङ गाउँका २३ वर्षका राष्ट्र रोका, १९ वर्षका महेश रोका, ३१ वर्षकी जीतमाया घर्ती, २० वर्षकी सिर्जना रोकामगर, लोङछुङ गाउँका २८ वर्षका सुकमान रोका, कुम्फु गाउँका ३६ वर्षका मौसम घर्ती, लगन्जा गाउँकी २३ वर्षकी जीतकुमारी पुन छन् । गम्भीर घाइते भएका दाङ बस्ने थबाङ-५ पुसबाङकै रेशम घर्तीको पनि मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।


मृत्यु भएकामा राष्ट्र, महेश, जीतमाया तीन दाजु बहिनी हुन् । अविवाहित सिर्जना महेश र राष्ट्रकी भतिजी हुन् । दुर्घटनामै सिर्जनाका ठूलोबुबा कपिलवस्तु नगरपालिका-१ का ३५ वर्षका कमानसिंह रोकाको समेत मृत्यु भएको छ । गम्भीर घाइते भएका जीतमायाका पति दाङका रेशम घर्तीको समेत मृत्यु भएको परिवारले जनाएको छ । एकै परिवारका ६ आफन्तको मृत्यु भएपछि उनीहरुका परिवार गहिरो शोकमा डुबेको छ । उक्त गाउँ सदरमुकाम लिबाङबाट एक दिनको पैदल यात्राको बाटोमा पर्छ ।


अधिकारकर्मी श्रीकुमारी रोकाले काम गर्न दुर्गममा गएका परिवारका आफन्तको मृत्यु भएपछि गाउँले शोकमा डुबेको बताइन् । उनले दस वर्षे सशस्त्र द्वन्द्वको अवधिमा पीडित भएकाहरु शान्ति प्रक्रियापछि कमाई गर्ने उद्देश्यले गाउँ छाडेर जिल्लाबाहिर जाने चलन बढेको बताइन् ।

यस्तै, दुर्घटनामा सुनछहरी गाउँपालिका २ घुसबाङ गाउँका ३२ वर्षका सुन्तु घर्ती र राजकुमार पुनको पनि मृत्यु भएको हो । रोल्पाबाट बसाइँ सरेर दाङ, कपिलवस्तु, कैलाली पुगेकाहरु समेत दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा दाङका ५ जना, धादिङ, ओखलढुंगा, कैलाली, कपिलवस्तु र स्याङ्जाका १/१ जनाको मृत्यु भएको थियो ।


शुक्रबार खाना खाएर टिपरबाटै कार्यस्थल फर्कने क्रममा बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत मुस्ताङको दामोदरकुण्ड गाउँपालिका-३ स्याङ्बोचेमा बा २ क २२१९ नं को टिपर सडकबाट खस्दा दुर्घटना भएको थियो ।


शव ल्याउन ढिलाई

शुक्रबार मध्यान्ह भएको दुर्घटनाको खबरपछि खबर पाउन छटपटाइरहेका आफन्तहरुले अर्को दिन मात्रै सही सूचना पाएका थिए । आफन्तहरुले मृतकहरुको शव गाउँमै ल्याउन माग गरेका छन् । ‘गाउमै शव ल्याउनु पर्छ भन्ने माग आएको छ’ गाउँपालिका अध्यक्ष घर्तीमगर भन्छन्, ‘शव लिएको हेलिकप्टर उवा गाउँमै पुग्नु राम्रो हुनेछ । यदि त्यसो नभए थबाङमा शव ल्याइदिनुपर्छ ।’


उवा कुम्झुका एक शिक्षकले शव तत्काल ल्याउन नेतालाई समेत आग्रह गरे । ‘काठमाडौंबाट नेता गाउँमा आउँदा हेलिकप्टरमा यात्रा गर्छन् । हाम्रा आफन्तको मृत्यु भएको अर्को दिनपछि पनि शव पाउन मुस्किल भयो’ उनले गुनासो गरे ।


सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि गौतमले मृतकको शव गाउँमै पुर्‍याउनेबारे अन्तिम निर्णय भइनसकेको बताए । हेलिकप्टरबाट शव ओसार्ने व्यवस्था भइरहेको भन्दै उनले शव बोकेर हेलिकप्टर दाङ, सदरमुकाम लिबाङ वा उवा पुग्नेबारे छलफल भइरहेको बताए । प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी गाउँको भ्रमणमा निस्केकाले यसबारे थप समन्वय हुन नसकेको स्रोतले जनाएको छ । दुर्घटनास्थल मुस्ताङबाट नेपाली सेनाको हेलिकप्टरले शव पोखरा पुर्‍याएको छ । शवको पोस्टमार्टमपछि मात्रै आफन्तलाई शव बुझाउने प्रक्रिया सुरु हुने स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित : असार २३, २०७५ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?