बर्सेनि बाढीको त्रास, २४ वर्षदेखि डुबानकै समस्या

– बाँध मर्मत भएन, – दर्जनौं गाउँ उच्च जोखिममा
शिव पुरी

रौतहट — गतवर्ष साउन २९ गते लालबकैया नदीमा आएको बाढीले तटबन्ध भत्काउँदा जिल्लाका दजनौं गाउँ डुबानमा पारे । पानीले निकास नपाउँदा सदरमुकाम गौरसमेत जलमग्न भयो । डुबानले ठूलो क्षति व्यहोर्नु पर्‍यो । ५० सालको बाढीपछि जिल्लावासीले यही नियति भोग्दै आएका छन् ।

बर्सेनि बाढीको त्रास, २४ वर्षदेखि डुबानकै समस्या

अहिले पनि दजनौं गाउँ बाढीको उच्च जोखिममा छन् । बाढीले भत्काएको बाँध मर्मत गरिएको छैन ।


भारत सरकारको सहयोगमा निर्माण गरिएको लालबकैयाको बाँध साना ठूला गरी ३१ स्थानमा भत्किएको छ । बजेट अभाव भन्दै जलउत्पन्न डिभिजनको कार्यालय मर्मत सम्भारमा मौन छ । वर्षा लाग्न सुरु गरेपछि केही स्थानमा सामान्य मर्मत गरियो ।


तर, त्यो टिकाउ नहुने भन्दै स्थानीयले स्थायी रूपमा मर्मत हुनुपर्ने माग राखेका छन् । ४ दिनअघि बौधीमाई नगरपालिका-२ इनर्बा गाउँ नजिक लालबकैया नदीमा आएको बाढीले बाँध कटान गरेपछि वरपर बस्तीका स्थानीय त्रासमा छन् ।


बाँध भत्किएर कुनै पनि बेला गाउँ नै डुबानमा परी क्षति हुने भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन भनेको छ । त्यस क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना पुगेर रोकथामको प्रयास गरे पनि बाढी थेग्न सक्ने अवस्था छैन ।


कटान गरेको क्षेत्रमा तारजाली र बोरा राख्ने काम भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । ‘बोरा राखेर मर्मतको काम गरे पनि ठूलो बाढीमा यसले थेग्न सक्दैन,’ उनले भने, ‘यस क्षेत्रमा स्थायी रूपमा बाँध मर्मत नगरे ठूलो क्षति हुन सक्छ ।’


बाढीले १ मिटरभन्दा बढी बाँध कटान गरेको छ । नदी छेउमा झन्डै ३/४ घर छन् । स्थानीय प्रशासनले बस्ती खाली गराउन भनिसकेको छ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रौतहटमा बागमती र लालबकैया नदीमा आउने बाढीले बर्सेनि डुबानकै समस्या पारेको भन्दै स्थायी समाधान खोज्नुपर्ने बताउँदै आएका थिए ।


‘यसको दीर्घकालीन समाधान अत्यन्तै जरुरी छ,’ केही समयअघि गृह जिल्ला आएका नेता नेपालले भनेका थिए, ‘वर्षाका बेला सधैं डुबानकै त्रासमा रहनुपर्ने नियतिको अन्त्य गर्न सरकारले ठोस कदम चाल्नु पर्छ ।’


मनसुन सक्रिय भएसँगै बाढीको उच्च जोखिममा रहेका दर्जनौं गाउँका स्थानीय बासिन्दा त्रासमा छन् । खासगरी बौधीमाई, लौकाहा, कहटहरिया क्षेत्र, गौर र बागमतीको समनपुर, धरमपुर, गढिमाई नगरपालिका बाढीको जोखिम छ । अकाशमा कालो बादल लाग्नासाथ यी गाउँका स्थानीय रातभर जाग्राम बस्छन् ।


जलउत्पन्नले गत जेठ महिनादेखि मर्मत सुरु गरे पनि मनसुन सक्रिय भएपछि निर्माण कार्य अलपत्र परेको छ । जलउत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन कार्यालय परवानीपुरका प्रमुख राजकुमार श्रीवास्तवले बौधीमाई र लौकाहा क्षेत्रको बाँध मर्मत गर्न नसकिएको बताए ।


‘सबैभन्दा ठूलो समस्या यही क्षेत्रमा देखिएको छ,’ उनले भने, ‘गत वर्ष भत्किएको बाँध अहिलेसम्म मर्मत गर्न सकेनौं ।’ श्रीवास्तवका अनुसार बागमती नदीको खासै डर छैन । लालबकैयाले दजनौं गाउँ डुबानमा पार्ने खतरा छ ।


अहिले ५/६ स्थानमा गत वर्ष नै भत्किएको बाँध मर्मत गर्न बाँकी छ । गढीमाई नगरपालिकाको लक्ष्मीपुर गाउँ नजिकै बागमती नदीमा आएको बाढीले बाँध फुटाए पनि हालसम्म मर्मत नहुँदा त्यस भेगका दर्जनौं गाउँसँगै गौर नगर समेत बाढीको उच्च जोखिममा परेको छ ।


गत वर्षको बाढीमा परी जिल्लाका विभिन्न स्थानमा १७ जनाको मृत्यु भएको थियो । गौर नजिक रहेको टिकुलियामा लालबकैया नदीले भत्काएको बाँध मर्मत हुन नसक्दा गत वर्ष जस्तै सदरमुकाम डुबानमा पर्ने खतरा बढेको छ । डिभिजन प्रमुख श्रीवास्तवले गत असोज महिनामा भत्किएको बाँधको मर्मतका लागि विभागमा पत्राचार गरिएको जनाए । उनले बजेट अभावले समयमा मर्मत नभएको सुनाए ।


बाँध निर्माणमा सेना

बौधीमाई नगरपालिका २ इनर्वा गाउँ नजिक लालबकैया नदीको तटबन्ध भत्किन थालेपछि नेपाली सेनाको नेतृत्वमा सुरक्षाकर्मीको झन्डै सय जनाको टोली खटेको छ । गतवर्ष बाढीले लालबकैया नदीको पश्चिमी क्षेत्रस्थित इनर्बा गाउँ नजिक भत्काएको तटबन्ध स्थानीय तहको बजेटबाट मर्मत गरेको थियो ।


त्यही स्थानमा कटान गरेपछि सेनाको नेतृत्वमा सशस्त्र र नेपाल प्रहरी अस्थायी रोकथाममा खटिएको हो । गौरस्थित पुरेनवामा रहेको इन्द्र बक्स गणका प्रमुख सेनानी सुजन शाक्यको नेतृत्वमा २ वटा बोटसहित उद्धार सामग्री लिएर खटिएको थियो । सेनानी शाक्यले हाललाई अस्थायी रोकथाम गरिए पनि दीर्घकालीन रूपमा बाँध मर्मत गर्नुपर्ने बताए ।


मुख्यमन्त्री कटान क्षेत्रमा

लालबकैया नदीमा आएको बाढीले कटानमा पारेको क्षेत्रको प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबुले स्थलगत निरीक्षण गरेका थिए । शुक्रबार उनी कटान क्षेत्र गएका हुन् । उनले तत्काल बाँध निर्माणमा सहयोगको आह्वान गरेका थिए ।


त्यसअघि प्रजिअ रिजाल सहितको जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीका टोली कटान क्षेत्रमा पुगेर तटबन्ध निर्माणसँगै त्यस भेगका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिरहेका छन् ।

प्रकाशित : असार २३, २०७५ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?