प्रदेश नामकरणमा असहमति जनाउँदै तनहुँमा विरोध प्रदर्शन
दमौली — प्रदेश नम्बर ४ लाई गण्डकी प्रदेश नामकरण गरेमा असहमहति जनाउँदै तमुवान–मगरात संघर्ष समिति तनहुँले दमौलीमा शनिबार साँझ विरोध जुलुस निकालेको छ ।
गण्डकी प्रदेशको खारेज माग गर्दै उक्त संघर्ष समितिले विरोध स्वरुप सिठ्ठी जुलुस निकालेको हो । दमौली अनशन चौतारीबाट निकालेको सिठ्ठी जुलुस डाँग्रे खल्सी हुँदै मेनरोड हुँदै मेनचोकमा कोणसभा गरेको छ ।
आदिवासी जनजातिको पहिचान मेट्ने गरी ४ नम्बर प्रदेशको नामकरण गण्डकी गरेको भन्दै खारेज गर्न तमुवान-मगरात संघर्ष समिति तनहुँका अध्यक्ष सिद्धान्त थापाले माग गरे । ‘गण्डकी प्रदेश नामकरण गरेर आदिवासी जनजातिमाथि बलात्कार गरेको छ', उनले भने, ‘त्यसैले गण्डकी प्रदेश नामकरण खारेज गरी तमुवान-मगरात लागू गरी न्याय दिनुपर्छ ।’ तमुवान मगरात नामकरण नगरे कडा आन्दोलन गर्ने उनले चेतावनी दिए ।
मगर संघका केन्द्रीय उपाध्यक्ष मन्धरी आलेले कांग्रेस र सञ्चारमाध्यमले गर्दा पहिचानको गलत अर्थ लगाएको कारण पहिचान पक्षधर आन्दोलित हुनु परेको बताइन् ।
भिमादमा भने ४ नम्बर प्रदेश नामकरण गण्डकी राखेको खुसीयालीमा दीप प्रज्वलन गरिएको छ । उद्योग वाणिज्य संघ भिमाद बजार इकाईद्वारा दीपप्रज्वलन गरेको हो ।
प्रकाशित : असार २३, २०७५ १९:५२