१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

माग पूरा नभए मर्न तयार छु : डा.केसी

एलपी देवकोटा

जुम्ला — डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कर्णालीमै मर्न तयार रहेको बताएका छन् । स्वास्थ्य शिक्षा सुधारका मागसहित अघिल्लो शनिबारदेखि आमरण अनशन बसेका केसीले कर्णालीका जनता र विद्यार्थीमाथि सरकारले खेलबाड गरिरहेको बताए । 

माग पूरा नभए मर्न तयार छु : डा.केसी

‘राज्यले कर्णालीका जनताको स्वास्थ्य र शिक्षामा ध्यान नदिएकाले आमनेपालीको ध्यान केन्द्रित गर्न पवित्र भूमि कर्णालीमा मर्न तयार छु,’ उनले भने, ‘सरकारले चिकित्सा शिक्षा ऐन जस्ताको त्यस्तै र विगतमा भएका सम्झौताका आधारमा नल्याएसम्म सत्याग्रह जारी रहनेछ ।’


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा अनशनरत डा. केसीको स्वास्थ्य बिग्रँदै गएको छ । आमरण अनशनको आठौं दिन पुग्दा उनको स्वास्थ्यमा विभिन्न समस्या देखिएको उपचारमा संलग्न चिकित्सकको टोलीले जनाएको छ । अहिले उनको शरीरको मासु बाउँडिने, चक्कर लाग्ने, सेतो रक्तकोष क्रमिक रूपमा घट्ने र पिसाबमा किटोन बढी देखिन थालेको चिकित्सकले जानकारी दिएका छन् ।


पिसाबमा किटोन बढी देखिएकाले आईभी फ्ल्युट दिइएको चिकित्सक टोलीका संयोजक प्रवीण गिरीले बताए । ‘डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएकाले जतिखेर जे पनि हुन सक्छ,’ उनले भने, ‘हामीले सक्नेजति उपचार गरिरहेका छौं तर पाँच दिनसम्म कैदीबन्दीसरह फोहोर हलमा राखिएकाले पछि असर हुन सक्छ ।’


डा. केसीको स्वास्थ्य अवस्था बुझ्न र आन्दोलनप्रति ऐक्यबद्धता जनाउन नेपाल चिकित्सक संघका केन्द्रीय वरिष्ठ उपाध्यक्षको टोली जुम्ला पुगेको छ । संघका वरिष्ठ उपाध्यक्ष प्रा.डा. ढुण्डीराज पौडेल र सहकोषाध्यक्ष डा. प्रकाश बुढाथोकीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा अनशनरत डा. केसीलाई भेटी आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

प्रकाशित : असार २३, २०७५ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?