कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मुस्ताङ टिपर दुर्घटना : १४ शव पठाइयो

भीम घिमिरे

पोखरा — मुस्ताङमा भएको टिपर दुर्घटनामा दिवंगत २० मध्ये १४ जनाको शव अन्तिम संस्कारका लागि शनिबार पोखराबाट हेलिकप्टरमा काठमाडौं, दाङ र रोल्पा पठाइएको छ । 

मुस्ताङ टिपर दुर्घटना : १४ शव पठाइयो

मजदुर बोकेको टिपर शुक्रबार उपल्लो मुस्ताङको लो घ्याकर दामोदरकुण्ड गाउँपालिका–३ को स्याङ्बोचेमा दुर्घटनाग्रस्त भएको थियो । घटनामा १२ जना घाइते छन् । घाइते सबैलाई शुक्रबारै पोखराको मनिपाल अस्पताल ल्याइएको थियो । मृत्यु हुनेमा रोल्पाका ९, दाङका ६ र धादिङ, ओखलढुंगा, कैलाली, कपिलवस्तु र स्याङ्जाका १/१ जना छन् ।


शनिबार पोखरा विमानस्थल आइपुगेका दिवंगतका आफन्तबीच रुवाबासी चलेको थियो । बिरुवा कन्स्ट्रक्सन प्रालिको बा२क २२१९ नम्बर टिपरका चालक धादिङका सुजन घलान र ओखलढुंगाको चम्पादेवी गापा–२ का २० वर्षीय जीवन माझीको शव काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । रोल्पाका विभिन्न स्थान घर भएकाहरूको शव लिवाङ र दाङका ६ जनाको शव लमही पठाइएको छ । आफन्त आइपुगेका र नजिकका भेला भएका ६ जनाको शव शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


यसैबीच मनिपाल अस्पतालमा उपचार भइरहेका घाइतेलाई शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रमुख सचिव नारायणप्रसाद बिडारी र प्रदेश प्रहरी प्रमुख दानसिंह बोहोरा लगायतले भेटेका छन् । उनीहरूले घाइतेको अवस्था र उपचारका विषयमा स्वास्थ्यकर्मीसँग जानकारी लिएका थिए । यसअघि मुस्ताङका प्रदेश सांसद र केही नेताहरू शुक्रबार साँझ पोखरा विमानस्थल ल्याइएका घाइतेलाई अस्पताल पुर्‍याउन पनि खटिएका थिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र अन्यको सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।


ट्रेड युनियन कास्कीले शनिबार विज्ञप्ति जारी गर्दै घाइतेको उपचारमा सघाउन स्वास्थ्यकर्मी संघको ध्यानाकर्षण गराएको छ । जिल्ला अध्यक्ष विजयराज भण्डारीले घाइतेको उपचार र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेका छन् ।

प्रकाशित : असार २३, २०७५ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?