३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

असारे बजेटमा चीन घुम्ने रहर

अब्दुल्लाह मियाँ

काठमाडौँ — आर्थिक वर्ष सकिनै लाग्दा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका ५ पदाधिकारीसहित करिब एक दर्जन व्यक्तिको चीन भ्रमण प्रस्ताव वन मन्त्रालय पुगेको छ ।

असारे बजेटमा चीन घुम्ने रहर

‘बजेट सक्ने उद्देश्यले’ समितिका अध्यक्ष वीरेन्द्र यादव, बोर्ड सदस्यहरू विदुर भारती, रामदयाल यादव, डा. मोतीलाल रिजाल र दीपा प्रधानसहित समितिका सदस्यसचिव हेमलाल अर्याल र उपसचिव श्रीप्रसाद बराल तथा अर्थ र वन मन्त्रालयका प्रतिनिधिलगायतको प्रस्ताव स्वीकृतिका लागि मन्त्रालयमा पेस भएको हो । सदस्यसचिव अर्यालले भने असार मसान्तभित्र समितिका धेरै काम गर्नुपर्ने भएकाले आफू सहभागी नहुने बताएका छन् ।

चीनमा पहिले नै तय गरिएको कुनै कार्यक्रम नभए पनि असार सकिनै लाग्दा एकाएक भ्रमण प्रस्ताव पेस भएपछि मन्त्रालयका अधिकारी नै अचम्भित बनेका छन् । उक्त प्रस्ताव सचिव डा.विश्वनाथ ओलीकोमा पुगेको छ । अघिल्ला वर्ष पनि असारे भ्रमणको प्रस्ताव मन्त्रालयमा पेस हुने गरेका थिए । कतिपय मन्त्रीले भने आफ्ना कार्यकर्ताले समेत सरकारी खर्चमा विदेश सयर गर्न पाउने भएपछि त्यस्ता प्रस्ताव स्वीकृत गर्ने गरेका थिए ।

उनीहरूको भ्रमण प्रस्ताव वन तथा वातावरण मन्त्रालयमार्फत मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ, तर उनीहरूले समय कम भएकाले मन्त्री शक्तिबहादुर बस्नेतबाट भ्रमण कार्यक्रम स्वीकृत गराउने प्रयास गरिरहेका छन् । चुरे गठन आदेशमा अध्यक्ष राज्यमन्त्रीसरह र बोर्ड सदस्य सहायक मन्त्रीसरह हुने व्यवस्था छ । मन्त्री बस्नेतले चुरेको प्रस्ताव आफूकहाँ आइनपुगेको प्रतिक्रिया दिए ।

समिति स्रोतले चीन भ्रमण प्रस्तावमा ‘घुम्ने र बजेट सिध्याउनेबाहेक कुनै विशेष प्रयोजन नभएको’ कान्तिपुरलाई बतायो । अध्यक्ष यादवले कुनमिङ हुँदै चीन गएर बाँस प्रजातिको अध्ययन–अनुसन्धानका साथै जीविकोपार्जनका कार्यक्रम अवलोकन गर्ने भ्रमण कार्यक्रममा समेटिएको दाबी गरे ।

प्रकाशित : असार २४, २०७५ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?