कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुस्ताङ दुर्घटना : एकै परिवारका ८ को मृत्यु

दुर्गालाल केसी

राप्ती (दाङ) — कमाउन मुस्ताङ गएका २५ वर्षीय श्रीमान् राष्ट्रिय रोका दुर्घटनामा परेपछि २१ वर्षीया लीला रोकाका आँखा ओभाएका छैनन् । ‘तीन वर्ष विदेश बसेर आउनुभएको थियो । घरमा बसेर खान नपुग्ने । कमाइ गर्नुपर्‍यो भनेर तीन महिनाअघि मुस्ताङ जानुभएको थियो तर फर्केर आउनुभएन,’ भक्कानिँदै लीलाले भनिन्, ‘तीन दिनअघि फोनमा कुरा भएको थियो । काम राम्रै छ, कमाएर फर्कन्छु भन्नुहुन्थ्यो ।’

मुस्ताङ दुर्घटना : एकै परिवारका ८ को मृत्यु

कमाउने घरमूली नरहेपछि लीला बाँकी जीवनप्रति चिन्तित छिन् । रोल्पाको थबाङ गाउँपालिका–५ पुसबाङ घर भएकी लीला पाँच वर्षीय छोरा मौसमलाई पढाउन दाङ झरेकी थिइन् । आफन्तको साथमा बस्दै आएकी लीला परिवारकै ८ जना गुमाउँदा मर्माहत छिन् ।

राष्ट्रियका दाजु कमानसिंह, दिदी जितमाया, भिनाजु बागिमन, भाइ महेश, दिदी कविता, बिन्ती र भतिजी सिर्जनाको मृत्यु भएको उनले बताइन् । लीलाले श्रीमान्, जेठाजु, देवर, आमाजू र भतिजी गुमाएकी छन् । ‘घरका सबै आफन्त एकैसाथ गए । अब साथ दिने कोही छैन,’ उनले भनिन्, ‘मेरा लागि संसार अन्धकार भयो । ज्यान पाल्ने कामले ज्यानै लियो ।’

मुस्ताङमा सडक र घर निर्माणको काम पाइने भएपछि नयाँ बस्तीका सबैजसो आफन्त एकै ठाउँमा काम गर्न गएका थिए । स्थानीय ३८ वर्षीय रमेश घर्तीले गाउँका मजदुरको नेतृत्व गर्दै मुस्ताङ पुर्‍याएका थिए । उनले आफूले लगेका मजदुरसँगै ३१ वर्षीया श्रीमती कवितालाई पनि गुमाए । आफू बिरामी भएका कारण काममा गएका थिएनन् । अहिले घरमा वृद्ध बाआमा र १३ वर्षीया छोरी सिर्जना मात्रै छन् । आमाको मृत्युको खबर पाएदेखि सिर्जना ओछ्यानबाट उठ्न सकेकी छैनन् ।

७० वर्षीय आसबहादुर घर्ती बुहारी कविता गुमाउँदाको पीडाले छटपटिएका छन् । सशस्त्र द्वन्द्वको चरम उत्कर्षका बेला २०६० मा रोल्पाको उवाबाट दाङ झरेका घर्ती कतै गए पनि सुरक्षित हुन नसकेकामा साह्रै स्तब्ध छन् । ‘पहिले युद्धबाट बच्न गाह्रो भयो र दाङ आइयो । अहिले मजदुरीको कामले बुहारीको ज्यान लियो,’ उनले भने ।

प्रकाशित : असार २४, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?