कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डा. केसीलाई राजधानी आउन मन्त्री पोखरेलको आग्रह

दिनेश यादव

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाँच वर्षका लागि जनादेश पाएको सरकारलाई ‘रुल अफ ल’ अनुसार काम गर्न दिनुपर्ने बताएका छन् । 

डा. केसीलाई राजधानी आउन मन्त्री पोखरेलको आग्रह

उनले चिकित्सा क्षेत्रमा देखिएका सबैखाले समस्या समाधान गर्न सरकार तयार रहेको समेत बताए । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको ३० औँ महाधिवेशनलाई राजधानीमा आइतबार सम्बोधन गर्दै मन्त्री पोखरेलले जुम्लामा अनशनरत डा. गोविन्द केसीबारे भने, ‘डाक्टर साब जुम्ला होइन, काठमाडौंमै बसेर समस्या समाधान गर्न तयार हुनुपर्छ ।’


उनले डा.केसीलाई कर्णाली जानै नपर्ने बताए । ‘हामी उहाँलाई आयोगमा बसेर या छलफलबाटै चिकित्सा क्षेत्रका समस्याहरु समाधान गर्न आग्रह गर्दछौँ । यो सन्देश उहाँसम्म पुर्‍याइदिन सञ्चारकर्मीलाई हाम्रो अनुरोध छ ’ मन्त्री पोखरेलले भने ।


उनले एउटा विश्वविद्यालयले कति वटासम्म मेडिकल कलेज सञ्चालन गर्न पाउने विषयमा अझै निर्णय हुन नसक्दा काठमाडौं विश्वविद्यालयले ११ र त्रिभुवन विश्वविद्यालयले ७ वटा मेडिकल कलेज सञ्चालन गरिरहेको बताए ।


‘हरेक वर्ष नेपालबाट दुई हजारले एमबीबीएस उत्तीर्ण गर्ने गरेको भएपनि पाँचसयले मात्रै पिजी प्रोग्राममा भर्ना हुन पाउँछन्, बाँकीको व्यवस्थापन कसरी गर्ने भन्नेबारे निर्णय गर्न आवश्यक छ ’ उनले भने, ‘मेडिकल कलेज कहाँ कति खोल्ने र यस क्षेत्रमा देखिएको समस्याहरुको समाधान गर्न आयोग मार्फत अघि बढ्न सरकार तयार छ । ’


एक अर्को प्रसंगमा उनले प्रेस स्वतन्त्रताका नाममा मिडियाहरु छाडा भएको र पछिल्लो समय सूचना प्रविधिहरुको दुरुपयोग समेत बढेको बताए । ‘सरकारको गलत कामको आलोचना हुनुपर्छ तर सरकारमा बसेकाहरुको सार्वजनिक जीवनबारे अनर्गल प्रचार गर्नु दुखद् हो’ मन्त्री पोखरेलले भने, ‘मिडियाकर्मीहरुले पनि आफ्नो वाक स्वतन्त्रताको सही उपयोग गर्नुपर्छ । ’


कार्यक्रममा शिक्षा सचिव खड्गराज बरालले एसईई उत्तिर्ण गरेका चार लाखमध्ये ५० हजारले मात्रै विज्ञान विषय पढ्ने र त्यसमा पनि कोही प्राविधिक शिक्षा पढ्ने गरेकाले आगामी दिनहरुमा मुलुकले विज्ञान शिक्षकको अभाव भोग्नु पर्ने बताए ।


अफ्रिकामा विज्ञान विषयका शिक्षकका अभाव भएपछि इर्मजेन्सी घोषणा गरिएको प्रसंग उल्लेख गर्दै शिक्षा सचिव बरालले भने, ‘विज्ञान पढेकाहरु देशमा टिक्नै नसक्ने भएकाले हामीले अगामी केही वर्षभित्र विज्ञान शिक्षकका लागि इर्मजेन्सी लगाउनुपर्ने अवस्था आउन सक्छ । ’


कार्यक्रममा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव विष्णुबहादुर द्वारेले आयोगको आब ०७४/७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा आयोगका विभिन्न ५ विषयगत समितिका ५६ सदस्य, विभिन्न मन्त्रालयका अधिकारी तथा विज्ञहरुको उपस्थिति थियो ।

प्रकाशित : असार २४, २०७५ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?