फुजेल काण्ड : मुख्य अभियुक्त छविलाल पौडेलद्वारा आत्मसमर्पण

यो अथक सत्याग्रहको जित हो : गंगामायाका वकिल

काठमाडौँ — गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका मुख्य अभियुक्तमध्येका एक छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । उनलाई आइतबारै प्रहरीले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा लगेर राखेको छ ।

फुजेल काण्ड : मुख्य अभियुक्त छविलाल पौडेलद्वारा आत्मसमर्पण

अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो ।


त्यसयता ‘फरार’ रहँदै आएका उनलाई पक्राउ गरी सर्वाेच्चको आदेश पालना हुनुपर्ने माग राखी कृष्णप्रसादकी आमा गंगामायाले गत जेठ १५ देखि वीर अस्पतालमा आमरण अनशन सुरु गरेकी थिइन् । पछिल्लो समय उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि सरकारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै सर्वोच्चको आदेश पालना गराउन दबाब पर्दै आएको थियो । गंगामाया अनशन बसेको एक महिना १० दिनमा पौडेलले सर्वोच्चमा आत्मसमर्पण गरेका हुन् । त्यसलगत्तै गंगामायाका वकिल तथा मानव अधिकारवादीहरू आईसीयूमा रहेकी उनलाई भेट्न वीर अस्पताल पुगेका थिए ।


‘हामीले अब तपाईंको मुख्य माग पूरा भएकाले अनशन तोड्नुस् भन्ने आग्रह गर्‍यौं,’ गंगामायाका वकिल बाबुराम गिरीले भने, ‘तर उहाँले तत्कालका लागि सत्याग्रह जारी राख्ने नै संकेत दिनुभयो ।’


गंगामायालाई छविलालले अदालतमा आत्मसमर्पण गरिसकेको जानकारी दिँदै अनशन तोड्न आग्रह गर्न उनका अर्का वकिल आशिकराम कार्की तथा मानव अधिकारवादीहरू कनकमणि दीक्षित, सुबोध प्याकुरेल, चरण प्रसाईं र इन्द्र अर्याललगायत अस्पताल पुगेका थिए । ‘यो पनि पहिलेजस्तै नाटकै होला सरकारको’ गंगामायालाई उद्धृत गर्दै अधिवक्ता गिरीले भने, ‘म अहिल्यै अनशन तोडदिनँ ।’


२०६१ जेठ २४ गते मारिएका छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दा गंगामाया, उनका पति नन्दप्रसाद तथा उनका जेठा छोरा नूरप्रसादलाई छविलाल पौडेललगायतका गोरखा फुजेलका तत्कालीन माओवादी कार्यकर्ताले घरजग्गा कब्जा गरेर गाउँबाटै निकाला गरिदिएका थिए ।


सम्पत्ति फिर्ता हुनुपर्ने र हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै उनीहरूले पटक–पटक प्रधानमन्त्री तथा मन्त्रीसमक्ष हारगुहार गरेका थिए । तर कसैले पनि वास्ता नगरेपछि आमरण अनशन बसेका थिए । अनशन बसेको ३ सय ३५ दिन चार वर्षअघि नन्दप्रसादको मृत्यु भएको थियो । त्यस क्रममा उनका जेठा छोराले हत्यारालाई कारबाही नभई बाबुको दाहसंस्कार नगर्ने अडान लिएपछि नन्दप्रसादको शव शिक्षण अस्पतालमै राखिएको छ ।


‘अहिले उनका जेठा छोरा पनि बेपत्ता छन्,’ अधिवक्ता गिरी भन्छन्, ‘राष्ट्रिय मानव अधिकार आयोगले पहल गरेर आमा–छोराको भेट गराइदिए हुन्थ्यो किनभने गंगामाया हिन्दु संस्कारअनुसार छोराले पतिको दाहसंस्कार गरोस् भन्ने चाहन्छिन् ।’


कृष्णप्रसादलाई गोली हानी हत्या गरेका भनिएका अर्का मुख्य आरोपी रुद्र आचार्य हाल बेलायतको उत्तरी आयरल्यान्डमा बसिरहेका छन् । उनलाई पक्राउ गर्नु भनी जिल्ला अदालत चितवनले आदेश गरेपछि प्रहरीले डिफ्युजन नोटिस जारी गरे पनि त्यो परराष्ट्र मन्त्रालयमै गएर अडकिएको छ ।


‘गंगामायाको अर्को माग भनेको त्यो पत्र अगाडि बढाएर आचार्यलाई नेपाल झिकाइ कानुनअनुसार कारबाही गर्नुपर्छ भन्ने हो,’ गिरी भन्छन्, ‘त्यसबाहेक उनको उपचार र परिपूरणमा पनि अब सरकारले ध्यान दिनुपर्छ र किस्ताबन्दीमा न्याय दिने चलनलाई तोड्नुपर्छ ।’


गंगामायाको देब्रे खुट्टाको नसामा रक्त सञ्चालन नहुने रोग लागेको छ । त्यसको उपचार हुनुपर्ने र उनको पुन:स्थापना पनि गरिनुपर्ने अधिकारवादीहरूको धारणा छ ।


‘गंगामायाको यो मुद्दा संक्रमणकालीन न्यायको एक ढोका सावित हुनेछ,’ उनका अर्का वकिल आशिकराम कार्कीले भने, ‘यो उनको अथक सत्याग्रहको जित हो । उनले अब न्याय पाउनै पर्छ ।’

प्रकाशित : असार २४, २०७५ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?