कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

उपकुलपतिमाथि दुर्व्यवहारको चौतर्फी विरोध

सुदीप कैनी

काठमाडौँ — नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई १७ औं संस्कृत विश्व सम्मेलनमा भाग लिन जान रोकिएको प्रति सर्वत्र तीव्र विरोध भएको छ । सांसद, राजनीतिक दल तथा शिक्षाविद्हरूले कोइरालामाथि भएको व्यवहारको विरोध जनाएका हुन् ।

उपकुलपतिमाथि दुर्व्यवहारको चौतर्फी विरोध

राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले उक्त घटनाप्रति विरोध जनाउँदै सरकारसँग जवाफ माग गरेको छ । कांग्रेस सांसद बद्री पाण्डेले उपकुलपति कोइरालालाई रोकेर सरकारले निरंकुश चरित्र देखाएको बताए ।

पाण्डेले उपकुलपतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी नियन्त्रणमा लिई क्यानडा जान रोकेकामा आपत्ति जनाए । विश्व संस्कृत सम्मेलनमा जान नदिएर नियन्त्रणमा लिनु सरकारको निरंकुश चरित्र भएको पाण्डेको आरोप थियो ।

कोइरालालाई सम्मेलनमा जान वञ्चित गरिँदा सन् २०२४ मा नेपालमा आयोजना हुने विश्व संस्कृत सम्मेलनको कार्यतालिकासमेत प्रभावित हुन सक्ने उनले बताए । सम्मेलनमा भाग लिन कोइरालासँगै गएका अन्य ६ जनालाई नरोकेर उपकुलपतिलाई मात्र प्रहरीले अवरोध गरेकामा सांसद पाण्डेले विरोध जनाए । ‘घटनाको घोर भत्र्सना गर्दै सरकारको जवाफ माग गर्छु,’ उनले भने ।

उपकुलपति कोइराला ७ सदस्यीय टोलीको नेतृत्व गरेर ५ दिने विश्व सम्मेलनमा सहभागी हुन क्यानडातर्फ जान लागेका थिए । प्रधानमन्त्री केपी ओलीले भेट्न खोजेको भन्दै प्रहरीले उनलाई विमानस्थलबाट फर्काएको थियो ।

कांग्रेसले पनि आइतबार विज्ञप्ति जारी गरी कोइरालामाथि सरकारले गरेको व्यवहारको विरोध गरेको छ । ‘अपहरणको शैलीमा गरिएको दुव्र्यवहारलाई गम्भीरतापूर्वक लिएका छौं,’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले कार्यक्रमको महत्त्व बुझ्न सकेन । यस घटनाले सरकारको अनुदार चरित्रलाई प्रस्ट्याएको छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय मञ्चमा देशको छविलाई समेत असर पुर्‍याएको छ ।’ कांग्रेसले प्राज्ञिक र आम नागरिकसँगको व्यवहार र शैलीलाई सच्याउन नसके चुनौती सामना गर्नुपर्ने चेतावनीसमेत सरकारलाई दिएको छ ।

शिक्षाविद् केदारभक्त माथेमाले सरकारले उपकुलपतिमाथि गरेको व्यवहार अत्यन्तै गलत भएको टिप्पणी गरे । ‘देश छाडेर भाग्न लागेको माफियालाई जस्तो बर्दीका प्रहरी लगाएर रोक्नु बडो गलत भयो,’ उनले कान्तिपुरसँग भने, ‘यो सरकारको उचित कदम होइन ।’ जरुरी काम परेर रोक्नुपरेको भए पनि गलत बाटो प्रयोग गरिएको उनको तर्क छ । ‘जबर्जस्ती रोक्नुले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नराम्रो सन्देश गयो,’ उनले भने ।

नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले घटना आपत्तिजनक भएको टिप्पणी गरे । ‘अपहरण शैलीमा पक्राउ गरेर भ्रमणमा जानबाट रोक्नु सत्ताको दुरुपयोग हो,’ उनले भने । नेपाल संस्कृत विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष रमेश जोशीले पनि पत्रकार सम्मेलन गरेर घटनाको विरोध गरे ।

लोकतान्त्रिक संस्कार र पद्धतिका लागि प्रजातान्त्रिक विचार समाजले पनि सरकारले उपकुलपति कोइरालामाथि गरेको व्यवहारको विरोध जनाएको छ । सरकारले विधिको शासन र स्वतन्त्रता हनन गरेको समाजका अध्यक्ष केदारनरसिंह केसीको टिप्पणी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डीआईजी कमल जीटी नेतृत्वको प्रहरी टोलीले उपकुलपति कोइरालालाई रोकेर प्रधानमन्त्री निवास बालुवाटार पुर्‍याएको थियो । प्रधानमन्त्री निवासमा एक घण्टासम्म राखिएपछि जहाज छुटेको थियो ।

अनुमतिबिना जान लागेकाले फर्काइएको : गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले उपकुलपति कोइराला सरकारको अनुमतिबिना नै क्यानडा भ्रमणमा जान लागेकाले फर्काइएको दाबी गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा कांग्रेस सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै थापाले अनुमतिबिना विदेश भ्रमणमा जान नपाइने सरकारको निर्णय नमानेका कारण कोइरालालाई रोकिएको बताए । ‘विदेश भ्रमणमा जान सरकारको अनिवार्य अनुमति लिने व्यवस्था रहेको छ,’ गृहमन्त्री थापाले भने, ‘त्यसको पालना नभएपछि उपकुलपति कोइरालालाई विमानस्थलबाटै फर्काउनुपरेको हो ।’

‘अपराधीलाई जस्तो गरियो’


उपकुलपति कोइरालाले शिक्षामन्त्री तथा सहकुलपतिसँग प्रक्रियागत रूपमा बिदा स्वीकृत गराएर जाँदा आफूलाई रोकिएको कोइरालाले जनाए । ‘अपराधीलाई जस्तो व्यवहार गरेर प्राज्ञिक क्षेत्रकै अपमान गरियो,’ उनले भने, ‘मलाई पदबाट हटाउन नसकेपछि तर्साउन खोजियो ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गत असार १५ मा ७३३ नम्बरमा भ्रमण स्वीकृतिका लागि निवदेन दर्ता गराएको उनले बताए । स्वतन्त्रपूर्वक हिँडडुल गर्ने अधिकारबाट समेत वञ्चित गर्न खोजिएको भन्दै उनले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गर्ने तयारीमा रहेको जनाए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने उपकुलपति कोइरालाले विदेश भ्रमणमा जान प्रक्रियागत रूपमा स्वीकृत नलिएको जनाएको छ । ‘निवेदन ल्याएर मेरो सचिवालयमा छोडिएको रहेछ,’ सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने, ‘मेरो उहाँसँग भेट पनि भएको छैन ।’ कोइरालाले भने शिक्षामन्त्रीको निजी सचिवालयमा भ्रमण स्वीकृतिका लागि निवेदन दर्ता गराएको बताएका छन् ।

प्रकाशित : असार २५, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?