कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘असारे’ सडकमा बिजोग

ज्योति कटुवाल

दैलेख — आर्थिक वर्ष २०७४/७५ मा यहाँका ११ स्थानीय तहले करिब ३५ करोड रुपैयाँ सडकमा खर्च गरे । तर ती सडक अहिल्यै सवारी चल्न नसक्ने अवस्थामा पुगेका छन् ।

‘असारे’ सडकमा बिजोग

‘वर्षभरि काम नगर्ने, असारमा आएर हतार–हतार काम गर्ने प्रवृत्तिले यति ठूलो रकम बालुवामा पानी खन्याएझैं भएको छ,’ नारायण नगरपालिकाका चन्द्र बिसीले भने, ‘११ महिना लगाएर हुने काम एक हप्तामै सकेपछि त्यसबाट कसरी राम्रो परिणाम आउँछ ?’

गुराँस गाउँपालिकाले सडकमा मात्र करिब चार करोड रुपैयाँ विनियोजन गरेको थियो । त्योमध्ये अधिकांश रकम भुक्तानी भइसकेको छ । निर्माण गरिएका सडक सञ्चालनमा आएका छैनन् । आठ वडा रहेको गुराँसेमा बिरलै गाडी चल्छन् । नालीबिनाका सडक सामान्य पानी पर्दासमेत हिलाम्मे भएर कामै नचल्ने अवस्थामा पुगेका छन् । ‘यो वर्ष बनाएका अधिकांश सडक अवरुद्ध छन्,’ गुराँस गाउँपालिकाका इन्जिनियर सरोज दाहालले भने, ‘स्थानीयवासीको मागअनुसार नालीबिनै सडक खन्दा यस्तो अवस्था आयो ।’

चामुन्डा–बिन्द्रासैनी नगरपालिकाले ४ करोड ७६ लाख, दुल्लु नगरपालिकाले ४ करोड ५० लाख रुपैयाँ सडकमा खर्च गरेको छ । यो रकमबाट हरेक वडामा सडकका नाममा गोरेटो मात्र खनिएको छ । दुल्लु, पटांगेनीका पूर्णप्रसाद शर्माले सडकका नाममा रकम दुरुपयोग गरिएको बताए । आफ्ना गाउँमा बनाइएको सडक दुई दिनमै पानीले बगाएको उनको भनाइ छ । ‘अहिले बनेका सडकलाई पुन: सञ्चालन गर्न अर्को वर्षको बजेट कुनुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यसपछि पनि सडक कस्तो बन्ने हो, थाहा छैन ।’

नारायण नगरपालिकाले केही समयअघि वडा नं. ४ को भीरमैरामा सडक बनायो । दुई–चार दिनमै पहिराले पूरै सडक बगाएर लग्यो । जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाबाट नौमुले गाउँपालिका जाने सडकको अवस्था पनि त्यस्तै छ । नारायणका इन्जिनियर हिक्मत रोकाया असारमै काम सक्नुपर्ने बाध्यताले सडकमा भएको खर्चमाथि प्रश्न उठ्ने गरेको बताउँछन् ।

असारमा डोजर लगाएर हतार–हतार सडक खन्ने प्रवृत्तिले समेत समस्या भएको छ । अहिले दैलेखका ९० वडामा ९८ डोजर छन्, जसको प्रमुख काम भनेकै सडक खन्नु हो । भगरुवतीमाई गाउँपालिकामा ४ करोड ८३ लाख, नौमुले गाउँपालिकामा ३ करोड २५ लाख, डुंगेश्वर गाउँपालिकामा ४ करोड ७९ लाख, आठबीस नगरपालिकामा २ करोड ३३ लाख बराबरको काम डोजरमार्फत गरिएको छ ।

डुंगेश्वर गाउँपालिकाका इन्जिनियर मधु केसीले प्राविधिकले सर्भे गरी सडक निर्माण थाल्ने प्रणाली नथालिएसम्म यस्तै समस्या आउने बताए । जिससका अध्यक्ष प्रेम थापाले दैलेखमा विकासका नाममा ‘डोजर आतंक’ भएको बताए । ‘जनप्रतिनिधि, ठेकेदार र उपभोक्ता समितिका मान्छेहरू मिलेर जथाभावी डोजर लगाइरहेका छन्,’ उनले भने, ‘ठूलो रकम बालुवामा पानी खन्याएझैं भएको छ ।’

प्रकाशित : असार २५, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?