३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बुटवल–बेलहिया सडकमा ढिलासुस्ती

माधव ढुंगाना

भैरहवा — बुटवल–बेलहिया ६ लेन सडक विस्तार योजना तोकिएको समयमा पूरा नहुने भएको छ । ठेकेदारको ढिलासुस्तीले सडक सम्पन्न नहुँदा यात्रा थप जोखिमपूर्ण र कष्टकर बनेको छ ।

बुटवल–बेलहिया सडकमा ढिलासुस्ती

आयोजनाका अनुसार भैरहवाको गोलीगढ चोकदेखि मणिग्रामसम्म ११ दशमलव ८ किलोमिटर दूरी छिटो निर्माण गर्न चार भागमा विभाजन गरिएको थियो । यसका लागि ०७२ पुसमा चारवटा ठेक्का सम्झौता गरिएको थियो ।

आगामी असार २७ देखि साउन १७ सम्म निर्माण कार्य पूरा गर्ने सम्झौता भए पनि कहिले सम्पन्न हुने हो यकिन छैन । निर्धारित समयमा पूरा गराउनेतर्फ आयोजनाले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन ।

आयोजनाका कर्मचारी आवश्यकताअनुरूप निर्माण सामग्री उपलब्ध नहुँदा ढिलाइ भएको दाबी गर्छन् । तर, निर्माण प्रभावित हुन नदिन स्थानीय प्रशासन र जिल्ला समन्वय समितिले नदीजन्य (गिट्टी, बालुवा) निर्माण सामग्री उत्खनन गर्न विभिन्न स्थानमा अनुमति दिएको थियो । ‘आवश्यकताअनुरूप नदीजन्य निर्माण सामग्री उपलब्ध हुन सकेन,’ आयोजनाका इन्जिनियर गोविन्द श्रेष्ठले भने, ‘जिल्ला समन्वय समितिले तोकेको स्थानबाट निर्माण सामग्री निकाल्दा पनि पर्याप्त भएन ।’

चालु आवका लागि साढे २ लाख घनमिटर निर्माण सामग्रीे माग गरिएकामा ८३ हजार मात्र उपलब्ध भएको उनको दाबी छ । श्रेष्ठका अनुसार नदीजन्य निर्माण सामग्री अभाव, सडक किनारमा रहेका विद्युत् पोल, टेलिकम लाइन, खानेपानी पाइप सम्बन्धित निकायले समयमा नहटाइदिनु, स्थानीय र संसदीय निर्वाचन तथा वर्षाका कारण निर्धारित समयमा काम नसकिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख हरि ज्ञवालीले भने आयोजनाको काम नरोकिने गरी नदीजन्य निर्माण सामग्री उपलब्ध गराइएको दाबी गरे । ‘हामीले उपलब्ध गराएकै स्थानबाट उत्खनन गरेर ठेकेदारले निर्माण सामग्री अहिले पनि थुपारेर राखेका छन्,’ उनले भने, ‘नदीजन्य निर्माण सामग्री अभाव भनेर देखाउनु उनीहरूको थेगो मात्रै हो ।’

यी हुन् ठेकेदार
भैरहवाको गोलीगढदेखि २ दशमलव ८ किमिका लागि ४३ करोड ६३ लाख रुपैयाँमा बिरुवा/श्रेष्ठ/एपेक्स जेभीले आउँदो साउन १७ सम्म, लखनचोकदेखि ३ किमिका लागि ५४ करोड ६९ लाख रुपैयाँमा साउन १३ सम्म र सुनयनापथदेखि मणिग्राम ३ किमिका लगि ४६ करोड ६१ लाख रुपैयाँमा भारतको टेलिकम्युनिकेसन लिमिटेडले असार २७ सम्म र मदौलिया चोकदेखि ३ किमिका लागि ६० करोड २१ लाख रुपैयाँमा कालिका/रायमाझी जेभीले असार २७ सम्म निर्माण कार्य पूरा गर्ने गरी ठेक्का कबुल गरेका थिए ।

रोडाढुंगा व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष गोपाल ज्ञवालीले पनि नदीजन्य निर्माण सामग्री अभाव देखाउनु ‘नाटक’ मात्र भएको दाबी गरे । तीनवटै निर्माण कम्पनीले आयोजनाका लागि भन्दै क्रसर उद्योग सञ्चालन गरेको उनले बताए ।

भन्सार नाका, औद्योगिक तथा व्यापारिक क्षेत्र, विमानस्थल, ठूला सहर र चलनचल्तीको सीमा नाकालगायत कारण अत्यधिक सवारी चाप रहेको बेलहिया–बुटवल सडक खण्ड लामो समयदेखि अलपत्र छँदा दुर्घटनाको जोखिम बढेको छ ।

प्रकाशित : असार २५, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?