कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

‘ऐन लत्याएर’ उपकुलपतिमाथि दुर्व्यवहार

प्रधानमन्त्रीले भने, ‘उपकुलपतिमाथि छानबिन हुँदै छ’
सुदीप कैनी

काठमाडौँ — विदेश भ्रमणको स्वीकृतिका लागि निवेदन दिएका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई प्रचलित पद्धति र कानुनसमेत उल्लंघन गरेर दुव्र्यवहार भएको खुलेको छ ।

‘ऐन लत्याएर’ उपकुलपतिमाथि दुर्व्यवहार

नेपाल संस्कृत विश्वविद्यालय ऐनअनुसार भ्रमण स्वीकृतिका लागि नौ दिनअघि नै शिक्षा मन्त्रालयमा दिएको निवेदनलाई बेवास्ता गरी प्रधानमन्त्रीको ठाडो निर्देशनमा प्रहरीले शनिबार कोइरालालाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएर सिधै बालुवाटार पुर्‍याएको थियो ।


यो ऐनअनुसार उपकुलपतिलगायत पदाधिकारीले अनौपचारिक भेटघाटबाहेक कुनै पनि औपचारिक प्रस्ताव शिक्षा मन्त्रालयमार्फत पठाउनुपर्ने व्यवस्था छ । कोइरालाले ऐनअनुसारै भ्रमण स्वीकृतिपत्र अघि बढाएका हुन् । उनले असार १५ गते मन्त्रालयमा निवेदन दर्ता गरेको र त्यसको दर्ता नम्बर ७३३ रहेको बताएका छन् ।


‘अन्य विश्वविद्यालयका उपकुलपतिले पनि मन्त्रीको सचिवालयमा भ्रमण स्वीकृतिको निवेदन दर्ता गराउने चलन छ,’ शिक्षा मन्त्रालयका एक सहसचिवले कान्तिपुरसँग भने, ‘उहाँले पनि त्यही प्रक्रियामा दर्ता गराउनुभएको हो, त्यसरी एयरपोर्टमा रोक्नु उचित भएन ।’ भ्रमणमा नजानु भनेर पहिल्यै रोक्न सकिने समय हुँदाहुँदै बल प्रयोग गरिएको ती सहसचिवले बताए ।


शिक्षामन्त्रीको सचिवालय भने उपकुलपतिले भ्रमण स्वीकृतिका लागि कहिले निवेदन दर्ता गराए भन्नेमा बेखबर छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलका स्वकिय सचिव पुरन केसीले दर्ता भएको जानकारी पाए पनि निवेदन फेला नपरेको बताए । ‘हामीले पनि ३ दिनदेखि निवेदन खोजिरहेका छौं, भेटिएको छैन,’ उनले भने ।


स्रोतका अनुसार उपकुलपतिलाई दुव्र्यवहार गरेका कारण प्रधानमन्त्री र सरकार आलोचित भएपछि उक्त निवेदन शिक्षा मन्त्रालयका अधिकारीले लुकाएका हुन् । अनुमतिबिना भ्रमण गरेकाले रोकिएको भन्दै प्रधानमन्त्री, शिक्षामन्त्रीलगायत सरकारी पक्षले बचाउ गर्दै आएका छन् ।


शिक्षामन्त्रीको सचिवालयका कर्मचारी जीवन गौतमले उपकुलपति कोइरालालाई प्रधानमन्त्रीको स्वीकृतिबिना भ्रमणमा नजानुस् भनेर सुझाव दिँदा अटेर गरेको स्वकीय सचिव केसीले दाबी गरे । गत शनिबार साँझ विश्व संस्कृत सम्मेलनमा सहभागी हुन क्यानडा जान लागेका उपकुलपति कोइरालालाई प्रधानमन्त्रीले भेट्न खोजेको भन्दै प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।


‘शनिबार बिहान पनि जीवन गौतमले कोइराला सरलाई टेलिफोन गरी प्रधानमन्त्रीसँग सल्लाह गरेर मात्रै भ्रमणमा जानुस् भन्नुभएको थियो,’ केसीले भने, ‘शिक्षा मन्त्रालयमा निवेदन दर्ता गराएका कारण हामीले चासो दिएर उहाँलाई सुझाव दिँदादिँदै अटेरी गर्नुभयो ।’ कोइरालाले भने प्लेन टिकट लिएर उड्ने बेला एक्कासि विमानस्थलका डीआईजी आएर रोकेको बताएका छन् ।


प्रधानमन्त्री कार्यालयले शनिबार बिहानै कोइरालाले भ्रमण आदेश लिए(नलिएको विषयमा शिक्षा मन्त्रालयसँग बुझेको थियो । प्रधानमन्त्रीका सल्लाहकारहरूले कुलपतिका हैसियतले प्रधानमन्त्रीलाई सोझै सम्पर्क नगरी उपकुलपति कोइरालाले शिक्षा मन्त्रालयमा किन निवेदन दिएको भनी प्रश्न गरेका छन् । जबकि नेपाल संस्कृत विश्वविद्यालय ऐनको दफा ३४ को ‘क’ मा ‘विश्वविद्यालयले नेपाल सरकारलाई सम्पर्क गर्दा शिक्षा मन्त्रालयअन्तर्गत गर्नुपर्ने’ उल्लेख छ ।


बिनाकानुनी आधार पक्राउ गरी प्रधानमन्त्री निवासमा उपकुलपति कोइरालालाई ग्यारेजमा राखिएको प्रसंगबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ‘कोइरालालाई राम्रो कोठामा काउचमा विराजमान गराएर शिक्षा सचिवले स्पष्टीकरण सोधेको’ भन्दै ट्वीट गरेका छन् । तर, संस्कृत विश्वविद्यालय ऐनमा भएको व्यवस्था हेर्दा भने विश्वविद्यालय सभामा बाहेक शिक्षा सचिवको कुनै पदेन भूमिका देखिँदैन । विश्वविद्यालय सभामा पनि कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्रीपछि तेस्रो वरीयतामा उपकुलपति छन् भने शिक्षासचिव १० औं स्थानमा छन् । सभाबाहेक विश्वविद्यालयको कुनै पनि अंगमा भूमिका नहुने शिक्षासचिवले प्रधानमन्त्री निवासमा उपकुलपति कोइरालासँग स्पष्टीकरण सोध्नु गैरकानुनी हो ।


सरकारी पक्षले कोइरालाले भ्रमण आदेशका लागि दिएको निवेदनलाई गुमनाम राखेर स्वीकृति नलिएको भन्दै बचाउ गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले ट्वीटमै भनेका छन्, ‘भ्रमण आदेश स्वीकृत नगराई नजानुहोस् भन्ने अनुरोधको कोइराला सरले बेवास्ता गर्नुभयो । मोबाइल नै बन्द गर्नुभयो ।’ शिक्षा मन्त्रालयले पनि प्रेस विज्ञप्ति प्रकाशित गरी उपकुलपति कोइरालाले भ्रमण अनुमति नलिएको जनाएको छ । ‘संस्कृत विश्वविद्यालयका उपकुलपतिले कुलपति, सहकुलपति वा मन्त्रालयबाट कुनै पनि अनुमति लिनुभएको छैन,’ मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विदेश भ्रमणका लागि भिसा सिफारिस गर्न विश्वविद्यालयले अनुरोध पनि गरेको छैन ।’ कोइरालाले भने संस्कृत सम्मेलनमा भाग लिन जान रोकिएको भन्दै सोमबार राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।


प्रधानमन्त्रीले भने, ‘उपकुलपतिमाथि छानबिन हुँदै छ’

प्रधानमन्त्री केपी ओलीले सोमबार नेकपा संसदीय दलको बैठकमा संस्कृत विश्वविद्यालयका उपकुलपतिले स्वीकृति नलिई विदेश जान लागेकाले उनलाई रोकिएको बताएका छन् । ‘संस्कृत विश्वविद्यालयका उपकुलपतिबारे थुप्रै उजुरी परेका छन्,’ उनले भने, ‘उजुरीको निष्पक्ष छानबिन हुन्छ । अहिलेको हल्लाले छानबिन रोकिँदैन ।’

प्रकाशित : असार २५, २०७५ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?