कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मोहनामा डुल्दै डल्फिन

मोहन बुढाऐर

भजनी (कैलाली) — बर्खा लागेपछि मोहनाका सहायक नदी काँडा, पथरैया र कान्द्राको संगममा डल्फिन देखिन थालेको छ । हुलाकी सडकबाट २ किलोमिटरको हिलाम्य सडक पार गरेर त्यहाँ पुग्न भने सकसको सामना गर्नुपर्छ । बर्खामा सवारीसाधन नचल्दा चाहेर पनि त्यहाँ पर्यटक पुग्न सकिरहेका छैनन् ।

मोहनामा डुल्दै डल्फिन

‘डल्फिन पाइने ठाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक छ,’ स्थानीय भोजराज ढुंगानाले भने, ‘त्यसका लागि सडक स्तरोन्नति हुनुपर्छ ।’ जिल्ला समन्वय समितिले २०७५ लाई ‘कैलाली भम्रण वर्ष’ का रूपमा मनाउँदै छ । डल्फिनलाई भम्रण वर्षको लोगो बनाइएको छ ।

यहाँसम्म पुग्ने सडक र अन्य भौतिक पूर्वाधार निर्माणमा भने स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यान पुग्न नसकेको ढुंगानाले बताए । ‘भजनी र टीकापुर नगरपालिकाले हुलाकीदेखि मोहनासम्मको २ किलोमिटरमा पक्की सडक निर्माण गर्न सक्छ, धेरै बजेट पनि लाग्दैन । तर ध्यानै दिएको देखिएन,’ उनले भने ।

ढुंगानाले डल्फिन संरक्षण क्षेत्र घोषणा गरी पर्यटकीय पूर्वाधारमा लगानी गरिनुपर्ने बताए । यहा पर्यटक सुबिधालाई मध्यनजर गरी होमस्टेको व्यवस्था गर्न सकिने सम्भावना छ । वर्षातमा कर्णालीमा पानीको सतह बढेसँगै मोहना नदी प्रणालीमा डल्फिन देखापर्छन् ।

कर्णालीका रैथाने र भारतको गंगा नदीका डल्फिन वर्षायाममा बसाइँ सरेर मोहना नदी प्रणालीमा देखिने गरेका छन् । डल्फिन स्थानीय कान्द्रा, काँडा र पथरैया नदीको तल्लो तटीय क्षेत्रसम्म डल्फिन चर्न र प्रजननका लागि आउजाउ गर्छन् । ‘बर्खामा मोहना प्रणालीका नदीमा पानीको सतह बढ्छ,’ डल्फिन संरक्षण केन्द्रका भोजराज श्रेष्ठले भने, ‘वर्षायाममा कर्णाली नदीको माथिल्लो धार र भारतको गंगा नदी जल क्षेत्रबाट गेरुवा नदी भएर डल्फिन चौगुर्दी घाट हुँदै मोहनामा आउँछन् ।’

श्रेष्ठका अनुसार भारतको कैलाशपुरी बाँध क्षेत्रको घाघरा नदी, गेरुवा र कर्णालीमा बाह्रै महिना डल्फिन देखिन्छन् । घाघरा नदी बिहार राज्यको छपरा जिल्लाको डोरीगन्ज पुगेर गंगामा मिसिन्छ । गंगा नदी बंगाल राज्यबाट दुई भागमा विभाजित भई पश्चिमपट्टि हावडा नदीको नामबाट बंगाल खाडीमा मिसिन्छ ।

डल्फिन संरक्षण केन्द्रका महासचिव विजय श्रेष्ठले रानीजमरा कुलो सिँचाइ आयोजनाको पानी मोहना प्रणालीमा छोडिदिँदा बाह्रै महिना डल्फिन पालेर राख्न सकिने बताए । ‘तर यो अति महत्त्वाकांक्षी योजनाभित्र पर्छ,’ उनले भने । कान्द्रा, काँडा, पथरैया र मोहनाको संगम स्थलनै डल्फिनको मुख्य क्रीडास्थल मानिन्छ । सडक सुबिधा भएमा यहा पर्यटकको भीड लाग्न सक्छ ।

प्रकाशित : असार २६, २०७५ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?