विधेयक सरकारको नीतिअनुसारै : ओली

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा विधेयक सरकारको नीतिअनुसार नै ल्याएको बताएका छन् । काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले पाँचवटाभन्दा बढी कलेजलाई सम्बन्धन नदिनेजस्ता कुरा व्यावहारिक नभएको ओलीले बताए ।

विधेयक सरकारको नीतिअनुसारै : ओली

‘कुन विषयमा कति कलेज आवश्यक छ, त्यसको अध्ययन गरौं अनि आवश्यकताअनुसार कलेजलाई सम्बन्धन दिऔं,’ प्रधानमन्त्री ओलीले सोमबार नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै भने, ‘संसद्मा चिकित्सा शिक्षा विधेयक सरकारको नीतिअनुसार नै पेस भएको हो ।’ उनले लोकतन्त्रमा संसद्ले नै कानुन बनाउने उल्लेख गरे । ‘सरकारले आफ्ना नीतिअनुसारका ऐन ल्याउँछ, यसमा के अनौठो भयो र ?’

उनले भने, ‘नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिने, विदेश पठाउनुपर्ने ? हजारौं बिघा जमिन खरिद गरेर, भवन बनाएर चलाएका अस्पताललाई कलेज बनाउन रोक्न मिल्दैन ।’ ओलीले अनशनरत डा. केसीलाई संकेत गर्दै भने, ‘कसैलाई उक्साएर, जुम्लामा भोकै सुत्न लगाएर काठमाडौंका सडकमा केही मान्छे कराइरहेका छन् । बेमौसममा कराउनेहरू केही दिनमा आफैं चुप लाग्छन् ।’ ओलीले प्रतिपक्षी कांग्रेसलाई हरेक कुरा संसद्मा बहस गर्न आग्रह गरे । ‘विधि, विधान, कानुन संसद्ले बनाउने हो कि बाहिर बनाएर संसद्मा थपडी ठोक्ने हो ?’ उनले प्रश्न गरे । प्रतिपक्षी दलले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोजेकाले त्यसको सशक्त प्रतिवाद गर्न ओलीले सांसदहरूलाई निर्देशन दिए ।

‘हामीले नराम्रो केही गरेका छैनौं, दृढतासाथ कुरा राख्नुपर्छ,’ संसदीय दल बैठकमा ओलीले भने, ‘अरूचाहिँ साउनको सिस्नुजस्तो फस्टाउने अनि हामीचाहिँ ओइलाउने हुन्छ ?’ निर्वाचनमा वाम गठबन्धनलाई जनताले बहुमत दिएर पठाएकाले पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रममार्फत लागू गर्ने ओलीले बताए । उनले चिकित्सा शिक्षा विधेयक, गोविन्द केसीको आन्दोलन, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाको विवादजस्ता विषयमा अडानका साथ कुरा राख्न पनि सांसदहरूलाई निर्देशन दिए ।

प्रकाशित : असार २६, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?