कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

स्वास्थ्य संस्था बन्द गर्ने अवस्था नआओस् : चिकित्सक संघ

अतुल मिश्र

काठमाडौँ — नेपाल चिकित्सक संघले डा.गोविन्द केसीको जीवनरक्षाका लागि स्वास्थ्य निकायहरू बन्द गर्ने बाध्यकारी स्थिति आउन नदिन सरकारसमक्ष आग्रह गरेको छ । संघका पदाधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेटी यस्तो अवस्था आउन नदिन पहल गर्न आग्रह गरेका हुन् ।

स्वास्थ्य संस्था बन्द गर्ने अवस्था नआओस् : चिकित्सक संघ

जुम्लामा आमरण अनशन बसिरहेका डा. केसीको स्वास्थ्य स्थिति खस्कँदै गएपछि संघका पदाधिकारीहरूले सोमबार मन्त्री यादवलाई भेटेका हुन् । उनीहरूले यादवसमक्ष स्वास्थ्य शिक्षा तथा नागरिक स्वतन्त्रतासँग सम्बन्धित ७ बुँदे माग पनि प्रस्तुत गरेका छन् । संघको टोलीले आइतबारै प्रधानमन्त्री केपी ओलीलाई पनि भेटेको थियो । यो केसीको १५ औं अनशन हो ।

उनीहरूले चाँडोभन्दा चाँडो वार्ता गरेर निष्कर्षमा पुर्‍याउन आग्रह गर्दै यसो नभए स्वास्थ्य निकाय बन्द गरेर आन्दोलन गर्ने चेतावनीसमेत दिए । मन्त्री यादवले भने आन्दोलनका कार्यक्रममा नजान चिकित्सकहरूलाई आग्रह गरेका थिए ।

चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले आफ्ना आजीवन सदस्यको जीवनरक्षा गर्न अस्पताल बन्द गर्न बाध्य हुने बताएको र मन्त्री यादवले विशेष पहल गर्ने आश्वासन दिएको जनाए । ‘उहाँ मरिरहेको हामी हेर्न सक्दैनौं,’ कार्कीले भने । संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पनि आफूहरूले यस्तै आग्रह गरेको बताए । ‘उहाँले ज्ञापनपत्र अध्ययन गरेर, खबर गर्छु भन्नुभएको छ,’ उनले भने, ‘आज (सोमबार) प्रधानमन्त्रीले डा.केसीसँग सम्पर्क गर्ने प्रयास गरिरहेको कुरासमेत आएको छ ।’

यसअघि डा.केसीका जायज माग पूरा गर्न चिकित्सक संघले सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम मंगलबार दिउँसो सकिँदै छ । पछिल्ला चार दिनदेखि देशभरिका चिकित्सकहरू डा.केसीको समर्थन र सरकारको विरोधमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । सरकारले सकारात्मक पहल नगरे मंगलबार दिउँसो संघको कार्यालयमा हुने विशेष बैठकले विरोधका कडा कार्यक्रम ल्याउनेसमेत डा.श्रेष्ठले जनाए । देशभर संघमा आबद्घ चिकित्सकहरू करिब ८ हजार छन् ।

दीर्घकालीन समाधान गर्न केयूको माग
काठमाडौं विश्वविद्यालय (केयू) प्राध्यापक संघले पनि केसीका मागको दीर्घकालीन समाधान गर्न सरकारसँग आग्रह गरेको छ । संघका सभापति डा.वेदमणि दाहालले सोमबार विज्ञप्ति जारी गर्दै १४ पटकसम्मको अनशन र सरकारसँग भएका विभिन्न सम्झौता कार्यान्वयन नभई डा.केसीलाई पुन: सत्याग्रहमा जान बाध्य पारिएको बताएका छन् ।

चिकित्सा शिक्षामा देखिएका बेथिति व्यवस्थित गराउनुपर्ने जनाउँदै संघले केयूको सम्बन्धनमा मुख्यत: मेडिकल साइन्सेजमा देखिएका विकृति छानबिन गरी दोषीलाई कारबाही गर्नेलगायत मागबारे सरकारले अघिल्लो सत्याग्रहमै प्रतिबद्घता जनाएकाले यसलाई ओझेलमा नपार्न मागसमेत गरेको छ ।

१५ पटक गरी १ सय ७६ दिन अनशनमा २०६९ असार २१ गते पहिलो आमरण अनशन सुरु गरेका डा.केसीको यो १५ औं अनशन हो । सोमबारसम्म गरी उनी १ सय ७६ दिन आमरण अनशन बसिसकेका छन् । उनको ११ औं अनशन सबैभन्दा बढी २३ दिनसम्म चलेको थियो भने पछिल्लो १४ औं अनशन ६ दिन मात्र चलेको थियो ।

प्रकाशित : असार २६, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?