भ्रष्टाचार, अनियमितता शब्द सुन्न पनि सक्दिनँ : प्रधानमन्त्री ओली

रासस

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई बुधबार हस्तान्तरण गर्दै उनले सो कुरा बताएका हुन् ।

भ्रष्टाचार, अनियमितता शब्द सुन्न पनि सक्दिनँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताएका छन् । 'सामाजिक एकता, सहिष्णुतालाई अझ कसिलो र दरिलो बनाउँदै राष्ट्रिय एकता बलियो बनाउने छु,' उनले भने, 'म दाग र धब्बारहितरुपमा काम गर्छु, भ्रष्टाचार अनियमितता शब्द सुन्न पनि सक्दिनँ, सुशानको नयाँ इतिहास रचना गर्छु, राष्ट्र निर्माणको महाअभियानमा सरकार जुटेको छ ।'


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई बुधबार हस्तान्तरण गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले जनताले दिएको बहुमतका आधारमा सरकार थिति र विधिमा चल्ने बताउँदै कसैको लहड, जिद्दी र अराजकतन्त्रले लोकतन्त्रलाई कहिल्यै भलो गर्दैन् भने ।


सरकार सबै राजनीतिक दललाई साथ सहयोग लिइ विश्वासमा चल्ने बताउँदै उनले सामाजिक न्याय र समानतासहितको समाजवादी लोकतन्त्रले मात्र विपन्न जनताको जीवनस्तरमाथि उक्लिने धारणा व्यक्त गरे । प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनता भोकै र नाङ्गै पर्नु हुँदैन, यसमा सरकार सचेत छ भने ।


'जीवनभर लोकातन्त्र ल्याउन लड्ने व्यक्ति र पार्टी जनताको दिएको आदेशअनुसार प्रधानमन्त्री हुँदा कसरी लोकतन्त्र खतरामा पर्छ ?' उनले प्रश्न गरे । उनले आफूले प्रधानमन्त्री पद सम्हालेको दिनदेखि नै आलोचना समालोचना हुन सुरु गरेको उल्लेख गर्दै स्वच्छ आलोचनादेखि आफू नडराउने र नतर्सिने स्पष्ट पारे ।


सो अवसरमा प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई अर्पण गरे । कार्यक्रममा विसं २०७४ को राष्ट्रिय प्रतिभा पुरस्कार पाँच विधाका पाँच स्रष्टालाई अर्पण गरियो ।


यसरी पुरस्कृत हुनेमा संस्कृति विधामा प्रा रञ्जना बज्राचार्य (काठमाडौँ), संगीत तथा नाट्य विधामा प्रचण्ड मल्ल (काठमाडौं), ललितकला विधामा ठाकुरप्रसाद मैनाली (काठमाडौं) र भाषा तथा साहित्य विधामा प्रा केशवप्रसाद उपाध्याय छन् ।


सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।


यसैगरी सोही वर्षको महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय पुरस्कारबाट पाँच विधाका पाँच जना स्रष्टालाई प्रदान गरियो । पुरस्कृत हुनेमा कविता विधामा कञ्चन पुडासैनी (काठमाडौँ), निबन्ध विधामा तेजराज खतिवडा (झापा), बाल साहित्य विनय कसजु (पाल्पा), भाषा साहित्यमा महेश्वरराय जलेश्वर र आख्यान विधामा अभि सुवेदी (तेह्रथुम) छन् । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।


यसैगरी मन्त्रालयले यस वर्षदेखि सुरु गरेको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नाटक विधामा नरेश शाक्य (सुनसरी) र प्रा मोहनहिमांशु थापा (काठमाडौँ)लाई अर्पण गरिएको छ । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।


यसैगरी कार्यक्रममा भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार दलित मुक्ति आन्दोलन क्षेत्रबाट पदमलाल विश्वकर्मा (इलाम), समाज सुधार अभियान क्षेत्रबाट दलवीर विश्वकर्मा(काठमाडौँ) र लेखन तथा अध्ययन अनुसन्धान क्षेत्रबाट राजेन्द्रकुमार महर्जन(काठमाडौँ) लाई अर्पण गरिएको थियो । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।


कार्यक्रममा विभिन्न चार विधाका प्रादेशिक प्रतिभा पुरस्कारबाट विभिन्न स्रष्टालाई सम्मानित गरिएको छ ।


यो पुरस्कार पाउनुहुनेमा सस्कृति विधातर्फ प्रदेश १ बाट प्राडा गोविन्दमान सिंह कार्की (भोजपुर), प्रदेश नं २ बाट डा पशुपतिनाथ झा (महोत्तरी), प्रदेश नं ३ बाट उद्धवप्रसाद भट्टराई (काभ्रेपलाञ्चोक), प्रदेश ४ बाट डा दीनबहादुर थापा (बाग्लुङ), प्रदेश ५ बाट प्रतिभा पुन ( रुपन्देही), प्रदेश ६ बाट रमानन्द आचार्य (जुम्ला) र प्रदेश ७ बाट मणिराज जोशी (कैलाली) छन् ।


यसैगरी संगीत तथा नाट्य विधातर्फ प्रदेश १ बाट नारायण ओली (झापा), प्रदेश २ बाट प्रियका झा (धनुषा), प्रदेश ३ बाट सुनिता दुलाल (भक्तपुर), प्रदेश ४ बाट इतु जोजिजु (कास्की), प्रदेश ५ बाट सरस्वती चौधरी, प्रदेश ६ खर्कबहादुर बुढा र प्रदेश ७ बाट सुधादेवी चाड छन् ।


त्यस्तै, ललितकलातर्फ प्रदेश १ बाट गोपालप्रसाद कलाप्रेमी (मोरङ), प्रदेश २ बाट सीतादेवी कर्ण (धनुषा), प्रदेश ३ बाट सौरगंगादर्शनधारी (काठमाडौँ), प्रदेश ४ बाट सुनील सिग्देल (कास्की), प्रदेश ५ बाट नरेन्द्रप्रसाद भण्डारी (गुल्मी) प्रदेश ६ बाट झिग्मे तामाङ (मुगु) र प्रदेश ७ बाट दीपक आउजी (कैलाली) छन् ।


यसैगरी भाषा तथा साहित्य विधातर्फ प्रदेश १ बाट प्रा डा भोलानाथ पोखरेल (सुनसरी), प्रदेश २ बाट विनिता ठाकुर (धनुषा), प्रदेश ३ बाट नरेन्द्रराज पौडेल (सिन्धुपाल्चोक), प्रदेश ४ बाट महेश्वर शर्मा (स्याङ्जा), प्रदेश ५ डा दुवीन्द ढकाल (गुल्मी), प्रदेश ६ बाट बलभद्र भारती (सुर्खेत) र प्रदेश ७ बाट चन्द्रदेव जोशी (दार्चुला) छन् ।


उक्त पुरस्कारको राशि रु ५० हजारसहित सम्मानपत्र रहेको छ ।


प्रकाशित : असार २७, २०७५ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?