कानुनको प्रवेश परीक्षाको उत्तरपुस्तिका च्यातियो

कार्यालय सहयोगीलाई हातपात
सुदीप कैनी

काठमाडौँ — कानुन पढ्न कोटा प्रणाली लागू गर्ने कि नगर्ने विषयमा विवाद चर्कदा असन्तुष्ट समूहले राजधानीको प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसमा बुधबार प्रवेश परीक्षाको उत्तरपुस्तिका च्यातेका छन् ।

कानुनको प्रवेश परीक्षाको उत्तरपुस्तिका च्यातियो

उत्तरपुस्तिका च्यात्न पुगेका विद्यार्थीले क्याम्पसका कार्यालय सहयोगी उद्धव थापालाई हातपात समेत गरेका हुन् । उक्त समूहले प्रवेश परीक्षाको उत्तरपुस्तिका च्यातेर नष्ट पारेको प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए ।


एलएलबी प्रथम वर्षमा तहमा भर्ना हुन सञ्चालित परीक्षाको उत्तरपुस्तिका च्यातिएको हो । ‘क्याम्पसमा सरहरु कापी चेक गरिरहनु भएको रहेछ,’ उनले भने, ‘कापी च्यातेर फाल्दिएछन् ।’ क्याम्पसका सहयोगीलाई हातपात सहित प्राध्यपाकहरुलाई दुव्र्यवहार गरेको उनले बताए । ‘उत्तरपुस्तिका च्यातेर चौरमा फालेछन्,’ थापाले भने, ‘डिन र परीक्षा शाखाको कार्यालयमा पनि तालाबन्दी गरेर भागेछन् ।’ उत्तरपुस्तिका च्यात्नेहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


कानून संकायका डीन ताराप्रकाश सापकोटाले प्रवेश परीक्षाको उत्तरपुस्तिका च्यातिएको बताए । उनले भने, ‘एउटा समूह क्याम्पसमा छिरेर परीक्षण भइरहेको उत्तरपुस्तिका च्याते, परीक्षण गर्न बाँकी बोरामा राखिएको उत्तरपुस्तिका पनि च्यातेर चौरमा लगेर फाले ।’ उनीहरुले डिन सापकोटालाई हातमा तानेर बाहिर निकालेर कार्यकक्षमा तालाबन्दी गरेका हुन् । ‘कार्यालय सहयोगीले रोक्न खोज्दा हातपात गरियो,’ डीन सापकोटाले भने ।


कापी च्यात्न पुगेका विद्यार्थीले स्वतन्त्र विद्यार्थी समूहको नाममा विज्ञप्ति समेत क्याम्पस हातामा टाँसेका छन् । कोटा प्रणाली लागू गरेर कानुन पढ्न चाहाने विद्यार्थीलाई वञ्चित गर्न खोजिएको विज्ञप्तिमा उल्लेख छ ।


डिनको कार्यालयले कानुन पढाई हुने देशभरको क्याम्पसमा कोटा प्रणाली लागू गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिइएको थियो । कोटा प्रणालीको पक्ष/विपक्षमा विद्यार्थी संगठनहरु पनि दुई खेमामा विभाजित थिए । विद्यार्थी संगठनका केन्द्रीय समितिले कोटा लागू गर्न नहुने सहमति डिनको कार्यालयसँग केही दिन अघि गरेको थियो ।


लगत्तै तिनै विद्यार्थी संगठनका ल क्याम्पसका इकाई कमिटिहरु र अध्ययरत अन्य विद्यार्थीले कोटा प्रणाली लागू गर्नुपर्ने भन्दै अर्को सम्झौता गरेका थिए । विद्यार्थी संगठनकै दोहोरो दबावका कारण डीनको कार्यालयले गत असार २० गते विज्ञप्ति प्रकाशित गरि प्रवेश परीक्षाको नतिजा प्रकाशित गरि भर्ना प्रक्रिया अघि बढ्ने जनाएको थियो । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिका परिक्षण भई रहँदा च्यातिएको हो ।


यसवर्ष कानुन पढ्न ६ हजार ५ सय १० जना विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका थिए । तोकिएको कोटा अनुसार प्रवेश परीक्षा उत्तिर्ण ३ हजार ८ सय विद्यार्थी मात्रै भर्ना भएर अध्ययन गर्न पाउँछन् । डिनको कार्यालयले नेपाल ल क्याम्पससहित देशभरका कानुन पढाई हुने ७ क्याम्पसमा कोटा तोकेको थियो । ल क्याम्पसमा एक शैक्षिक सत्रमा ८ सय र अन्य ६ क्याम्पसमा ५/५ सयको दरले विद्यार्थी भर्ना हुनसक्ने कोटा निर्धारण गरिएको छ । ल क्याम्पसमा पनि सुरुमा ५ सय नै कोटा तोकिएको थियो ।


विद्यार्थी संगठनको मागकै कारण कोटा बढाएर ८ सय पूर्‍याईएको थियो । केहि विद्यार्थी कोटा लागू गरेर पढाई व्यवस्थित र गुणस्तरीय बनाउनु पर्ने र केहि विद्यार्थी कोटा लागू गर्न नहुने समूहमा विभाजित छन् ।


डिन प्रशासन र क्याम्पस प्रशासन दोहोरा चेपेटामा पर्दा क्याम्पसको पठनपाठन समेत प्रभावित हुने गरेको छ । ल पढ्न भर्ना हुने अधिकांश विद्यार्थी नियमित पठनपाठनमा नआउने प्रवृत्ति छ । कानुन संकायतर्फ विद्यार्थीको आर्कषण पनि बढ्दो छ ।

प्रकाशित : असार २७, २०७५ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?