कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नारायणगढ–मुग्लिन सडक : अर्को ठाउँमा पनि भासियो

रमेशकुमार पौडेल

चितवन — निर्माणाधिन नारायणगढ–मुग्लिन सडकको गाईघाट नजिक चिरा परेको छ । सडक भाँस्सिने समस्या देखिएपछि त्यो ठाउँमा एकतर्फी रुपमा मात्रै गाडी चलाउन थालिएको छ । 

नारायणगढ–मुग्लिन सडक : अर्को ठाउँमा पनि भासियो

७० मिटर लम्बाइसम्म चौडाईतर्फ सडकको आधा भाग दबेको छ । अहिले भइरहेको निर्माणका कारणले नभएर सो ठाउँको भौगर्भिक अवस्थाका कारण समस्या आएको निर्माण सम्बद्ध अधिकारीहरुले बताएका छन् ।


यसअघि नारायणगढबाट ८ किलोमिटरको दुरीमा पर्ने भत्तेरी भन्ने ठाउँमा निर्माणकै क्रममा सडक भासिएको थियो ।


नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार मंगलबार बिहान गाईघाट क्षेत्रमा अत्याधिक वर्षा भएको थियो । नारायणगढदेखि १७ किलो मिटर पर मुग्लिनतर्फ पर्ने ठाउँमा पहिरो जाँदा बाटो अवरुद्ध पनि भएको थियो । धेरै नै वर्षा भएपछि खोल्सा खोल्सीहरुमा पानीको मुल फुटेको इन्जिनियर खनालले बताए । त्योसँगै सडकमा चिरा पर्न सुरु भएको उनको भनाई छ ।


‘सुरुमा सानो ठाउँमा सानो चिरा परेको थियो । पछि फैलदै गयो । हिजो मंगलबारदेखि नै एक तर्फी रुपमा मात्रै गाडी चलाउन सुरु भएको छ’ सुचना अधिकारी खनालले भने । आयोजनाको आग्रहमा बुधबार भुगर्भविद् लगायतका इन्जिनियरहरुको टोली आएर सो ठाउँको अध्ययन गरेको छ । सडक चिरा पर्नुको कारणका बारेमा टोली पनि ठोस निचोडमा पुगेको छैन ।

आयोजनाको परामर्शदाता कम्पनी फुलब्राइट कन्सल्टटेन्सीका भुगर्भविद् इन्जिनियर अच्युत कोइराला अहिलेको निर्माणका कारणले समस्या नआएको बताउँछन् । ‘हामीले सरसर्सती हेर्‍यौ । मान्छेहरु भेटेर केही कुराहरु पनि गर्‍यौं । त्यो पहिला पनि भास्सिएको ठाउँ हो भन्ने बुझ्नमा आयो । सडक विभागले ढुंगा माटो थुपारेर त्यो बेलामा पुरेको थियो भनेर हामीलाई बताइयो’ कोइरालाले भने ।


वि.सं. २०५९ सालतिर ठुलो पहिरो गएपछि पुरेको ठाउँ पनि बगाएको र त्यसपछि रक बोल्टिङ गरेर सडक फराकिलो बनाएको हो भन्ने जानकारी प्राप्त भएको उनले बताए । त्रिशुली नदीको आडमा रहेको त्यो ठाउँमा एकातर्फ नदी र अर्को तर्फ पहाड छ । पहाडको कडा चट्टानमा नदीतर्फको कंक्रिटको भागलाई जोड्ने काम गरेको हुन सक्ने कोइरालाको भनाइ छ ।


‘रक बोल्टिङ गरेको देखियो । अहिले रक बोल्टिङले काम गर्न छाडेपछि सडकको भाग नदीतर्फ लच्केको पनि हुन सक्छ । त्यो बेला रक बोल्ट राख्नेसँग नबुझी यसै भन्न सकिन्न । काठमाडौं गएर कुरा बुझेर आउन परे फेरि फिल्डमा आएर खास कारण के हो निर्क्यौल गरौंला’ भुगर्भविद् कोइरालाले भने । झनपछि झन सडक चिरिने क्रम बढेका कारण रक बोल्टले काम गर्न छाडेको हुन सक्ने उनले बताए ।


नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो बनाउन तीन वर्षअघिदेखि विस्तारको काम भइरहेको छ । विस्तारको काम सकिन लाग्दै गर्दा पहिरोलगायतका यस्ता खाले समस्याहरु आउन थालेको छ । सडक चिरा परेको गाईघाटमा अब पहाडतर्फको भित्ता काटेर नै बाटो चौडा बनाउनु उपयुक्त हुने देखेको परामर्शदाता कम्पनीका भुगर्भविद् इन्जिनियर अच्युत कोइरालाको सुझाव छ ।



भाँस्सिएको सडक । निर्माणाधिन नारायणगढ मुग्लिन सडकको गाइघाट नजिक भाँस्सिएको सडक । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर ।

प्रकाशित : असार २७, २०७५ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?