मौद्रिक नीतिप्रति निजी क्षेत्रको मिश्रित प्रतिक्रिया

रासस

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले बुधबार अपराह्न सार्वजनिक गरेको उक्त नीतिप्रति निजी क्षेत्रका उद्यमी व्यवसायी तथा बैंक र वित्तीय क्षेत्रका अधिकारीले मिश्रित प्रतिक्रिया दिएका छन् ।

मौद्रिक नीतिमा अर्थतन्त्रको विद्यमान अवस्था एवं परिदृश्यका साथै आर्थिक वर्ष २०७५/७६ को बजेटको प्राथमिकता र नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीति ल्याएको हो ।

Yamaha

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले विस्तारकारी मौद्रिक नीति भएकाले सकारात्मक भएको बताए । उनले सकारात्मक लगानी योग्य रकमको अभावलाई सम्बोधन गरेको र ब्याजदरलाई स्थायित्व दिने गरी आएकाले मौद्रिक नीतिलाई सकारात्मकरुपमा लिइएको स्पष्ट पार्नुभयो । स्प्रेड दर घटाएकाले कर्जाको व्याजदर कम हुने र लगानी बढाउन सजिलो हुने अध्यक्ष ढुङ्गानको भनाइ छ ।

मौद्रिक नीतिमा तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा सहुलियतपूर्ण कर्जा उपलब्ध होस् भन्ने उद्देश्यले व्यवस्था गरिएको पुनरकर्जा कोषको सीमा रु ३५ अर्ब पुर्‍याइनेछ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले आफ्नो कुल कर्जा लगानीको क्रमशः ५ प्रतिशत, ४.५ प्रतिशत र ४ प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी तीनै वर्गका संस्थाका लागि यस्तो कर्जा लगानीको न्यूनतम सीमा ५ प्रतिशत तोकिएको छ ।

अध्यक्ष ढुङ्गाना भन्छन्, 'आर्थिक वृद्धिदर र मुद्रास्फीति फरक विषय हो, लक्षित आर्थिक वृद्धिदरका कारण मुद्रास्फीतिमा केही चाप पर्छ । विकासोन्मुख देशका लागि ६.५ प्रतिशतको मूल्यवृद्धि सामान्य मान्नुपर्छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मौद्रिक नीति सुनेपछि अर्थतन्त्र राम्रो धरातलमा भएकाले आउने दिनमा अझ सकारात्मक हुने प्रतिक्रिया दिए । उनले सोधनान्तर घाटा र लक्षित ६.५ प्रतिशतको मूल्यवृद्धि भने चुनौतिपूर्ण रहेको बताए ।

नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मौद्रिक नीति विस्तारित तथा सन्तुलित भएको प्रतिक्रिया दिए । उनले सकारात्मक र नकारात्मक दुवै पक्ष रहेकाले यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।

सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी समग्रमा मौद्रिक नीति सकारात्मक रहेको बताउँछन् । संस्थागत निक्षेप दुरुपयोग हुननदिनेतर्फ सम्बद्ध पक्ष सधैं सचेत रहनुपर्नेमा उनको जोड छ ।

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बजेटलाई सम्बोधन गर्नेगरी मिश्रित मौद्रिक नीति आएको बताए । उनले ग्रामीण क्षेत्रका बैंक शाखामा वैधानिक तरलता अनुपात(एसएलआर) र नगद मौज्दात अनुपात (सिआरआर) नलाग्ने मैद्रिक नीतिमा उल्लेख हुनु सकारात्मक भएको बताए ।

वित्तिय क्षेत्र विकास रणनीतिमा भएको व्यवस्थालाई ध्यानमा राखी वाणिज्य बैंकहरूले २०७६ असारसम्म निक्षेप तथा कर्जाको ब्याजदरको अन्तर ४.५ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरिनेछ । व्याजदर अन्तर क्रमशः घटाउँदै लगिनेछ ।

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाएको भन्दै यसले विद्यमान वित्तीय समस्यालाई सम्बोधन गरेको बताए ।

बैंक अफ काठमाडौँका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले बजारमा तरलता अभाव अन्त्य गर्ने लक्ष्यका साथ प्रस्तुत मौद्रिक नीतिले अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे ।

प्रकाशित : असार २७, २०७५ १८:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नारायणगढ–मुग्लिन सडक : अर्को ठाउँमा पनि भासियो

रमेशकुमार पौडेल

चितवन — निर्माणाधिन नारायणगढ–मुग्लिन सडकको गाईघाट नजिक चिरा परेको छ । सडक भाँस्सिने समस्या देखिएपछि त्यो ठाउँमा एकतर्फी रुपमा मात्रै गाडी चलाउन थालिएको छ । 

७० मिटर लम्बाइसम्म चौडाईतर्फ सडकको आधा भाग दबेको छ । अहिले भइरहेको निर्माणका कारणले नभएर सो ठाउँको भौगर्भिक अवस्थाका कारण समस्या आएको निर्माण सम्बद्ध अधिकारीहरुले बताएका छन् ।

यसअघि नारायणगढबाट ८ किलोमिटरको दुरीमा पर्ने भत्तेरी भन्ने ठाउँमा निर्माणकै क्रममा सडक भासिएको थियो ।

नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार मंगलबार बिहान गाईघाट क्षेत्रमा अत्याधिक वर्षा भएको थियो । नारायणगढदेखि १७ किलो मिटर पर मुग्लिनतर्फ पर्ने ठाउँमा पहिरो जाँदा बाटो अवरुद्ध पनि भएको थियो । धेरै नै वर्षा भएपछि खोल्सा खोल्सीहरुमा पानीको मुल फुटेको इन्जिनियर खनालले बताए । त्योसँगै सडकमा चिरा पर्न सुरु भएको उनको भनाई छ ।

‘सुरुमा सानो ठाउँमा सानो चिरा परेको थियो । पछि फैलदै गयो । हिजो मंगलबारदेखि नै एक तर्फी रुपमा मात्रै गाडी चलाउन सुरु भएको छ’ सुचना अधिकारी खनालले भने । आयोजनाको आग्रहमा बुधबार भुगर्भविद् लगायतका इन्जिनियरहरुको टोली आएर सो ठाउँको अध्ययन गरेको छ । सडक चिरा पर्नुको कारणका बारेमा टोली पनि ठोस निचोडमा पुगेको छैन ।
आयोजनाको परामर्शदाता कम्पनी फुलब्राइट कन्सल्टटेन्सीका भुगर्भविद् इन्जिनियर अच्युत कोइराला अहिलेको निर्माणका कारणले समस्या नआएको बताउँछन् । ‘हामीले सरसर्सती हेर्‍यौ । मान्छेहरु भेटेर केही कुराहरु पनि गर्‍यौं । त्यो पहिला पनि भास्सिएको ठाउँ हो भन्ने बुझ्नमा आयो । सडक विभागले ढुंगा माटो थुपारेर त्यो बेलामा पुरेको थियो भनेर हामीलाई बताइयो’ कोइरालाले भने ।

वि.सं. २०५९ सालतिर ठुलो पहिरो गएपछि पुरेको ठाउँ पनि बगाएको र त्यसपछि रक बोल्टिङ गरेर सडक फराकिलो बनाएको हो भन्ने जानकारी प्राप्त भएको उनले बताए । त्रिशुली नदीको आडमा रहेको त्यो ठाउँमा एकातर्फ नदी र अर्को तर्फ पहाड छ । पहाडको कडा चट्टानमा नदीतर्फको कंक्रिटको भागलाई जोड्ने काम गरेको हुन सक्ने कोइरालाको भनाइ छ ।

‘रक बोल्टिङ गरेको देखियो । अहिले रक बोल्टिङले काम गर्न छाडेपछि सडकको भाग नदीतर्फ लच्केको पनि हुन सक्छ । त्यो बेला रक बोल्ट राख्नेसँग नबुझी यसै भन्न सकिन्न । काठमाडौं गएर कुरा बुझेर आउन परे फेरि फिल्डमा आएर खास कारण के हो निर्क्यौल गरौंला’ भुगर्भविद् कोइरालाले भने । झनपछि झन सडक चिरिने क्रम बढेका कारण रक बोल्टले काम गर्न छाडेको हुन सक्ने उनले बताए ।

नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो बनाउन तीन वर्षअघिदेखि विस्तारको काम भइरहेको छ । विस्तारको काम सकिन लाग्दै गर्दा पहिरोलगायतका यस्ता खाले समस्याहरु आउन थालेको छ । सडक चिरा परेको गाईघाटमा अब पहाडतर्फको भित्ता काटेर नै बाटो चौडा बनाउनु उपयुक्त हुने देखेको परामर्शदाता कम्पनीका भुगर्भविद् इन्जिनियर अच्युत कोइरालाको सुझाव छ ।


भाँस्सिएको सडक । निर्माणाधिन नारायणगढ मुग्लिन सडकको गाइघाट नजिक भाँस्सिएको सडक । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर ।

प्रकाशित : असार २७, २०७५ १८:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT