मुस्ताङ टिपर दुर्घटना : मृतकका परिवारलाई जनही ५० हजार

काठमाडौँ — गण्डकी प्रदेश सरकारले मुस्ताङमा भएको टिपर दुर्घटनामा मृत्यु भएका र घाइतेका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले मृतकका परिवारलाई जनही ५० हजार र घाइतेलाई जनही २५ हजार दिने निर्णय गरेको हो ।

मुस्ताङ टिपर दुर्घटना : मृतकका परिवारलाई जनही ५० हजार

गत शुक्रबार सडक निर्माणमा खटिएका मजदुर बोकेको टिपर मुस्ताङको लो घ्याकर दामोदरकुण्ड गाउँपालिकाको स्याङ्बोचेमा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो भने १२ घाइते भएका थिए । घाइतेको पोखराकै मनिपाल अस्पतालमा उपचार भइरहेको छ ।


सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतका अनुसार मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बनाएको ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री, वितरण तथा क्रसर उद्योगका सम्बन्धमा बनाएको कार्यविधि पारित गरेको छ । हाल सञ्चालित क्रसर उद्योग र उत्खनन गर्ने काम मापदण्डविपरीत भएको भन्दै तीन महिनाभित्र व्यवस्थापन गर्न सूचना प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै क्रिकेट खेलाडी करण केसीलाई एक लाख रुपैयाँ दिने निर्णय पनि भएको छ । यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई प्रदेशका कानुन संशोधन गर्ने विधेयकको मस्यौदालाई सैद्धान्तिक स्वीकृति दिएको छ । प्रादेशिक नीति तथा योजना आयोगको उपाध्यक्ष ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनुपर्ने भनिएकामा त्यसलाई संशोधन गरी ३५ देखि ६५ वर्ष बनाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लालमणि ओझाले बताए ।

प्रकाशित : असार २७, २०७५ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?