केसीलाई एयरलिफ्टबाट काठमाडौं लैजाने तयारी

सास रहेसम्म जुम्लामै बस्छु : डा.केसी
एलपी देवकोटा

जुम्ला — चिकित्सा शिक्षा सुधारका माग राखी १२ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीलाई सरकारले एयरलिफ्ट गरेर काठमाडौं लैजाने तयारी गरिरहेको छ । केसीको स्वास्थ्यस्थिति अत्यन्तै नाजुक बनेपछि सरकारले हेलिकप्टर जुम्ला पठाउन लागेको हो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको शय्यामा अनशन बसिरहेका केसीले भने सास रहेसम्म जुम्ला नछाड्ने अडान लिएका छन् । ‘सरकारले काठमाडौं लैजान हेलिकप्टर पठाउँदै छ भन्ने खबर पाएको छु,’ उनले भने, ‘म कर्णालीको पवित्र भूमिमै मर्न तयार छु, माग पूरा नभई काठमाडौं जान्नँ ।’

सरकारले बुधबारै केसीलाई काठमाडौं लैजान हेलिकप्टर पठाउने तयारी गरेको थियो । बुधबार दिउँसो ३ बजे काठमाडौंबाट हेलिकप्टर उड्ने तयारीमा थियो तर केसीले जुम्ला नछाड्ने पुरानै अडान दोहोर्‍याएपछि रोकियो । केसीलाई एयरलिफ्ट गर्न बिहीबार हेलिकप्टर जुम्ला आउने स्थानीय प्रशासनले जनाएको छ ।

केसीको स्वास्थ्यस्थिति दिनदिनै बिग्रँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ‘केसीलाई तत्काल संक्रमणबाट बचाउन सुरक्षित स्थानमा राख्नुपर्ने हुन्छ,’ डा. प्रवीण गिरीले भने, ‘तर उनी अत्यावश्यक औषधि पनि लिन मानिरहेका छैनन् ।’ गिरीका अनुसार मानिसले एक–दुई दिन खाना नखाँदा नै स्वास्थ्यस्थिति तत्कालै बिग्रन्छ । डा. केसीले १२ दिनदेखि मुखबाट केही खाएका छैनन् । मुटुको चाल तलमाथि भइरहेकाले जतिखेर पनि जे पनि हुन सक्ने डा. गिरीको भनाइ छ ।

चिकित्सकका अनुसार डा.केसीको मुटुको चाल बढ्नुका साथै रोगसँग लड्ने क्षमता कमजोर बन्दै गइरहेको छ । त्यस्तै मांसपेशी सुनिने, रिंगटा लाग्ने, छातीको बीच भागमा दुखाइ बढ्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, रगतमा सेतो रक्तकोषिका क्रमिक रूपमा घटदै जाने, पिसाब नहुने समस्या देखिएको छ । स्वास्थ्य जटिल बन्दै गए पनि केसीले सामान्य ग्लुकोज र आवश्यक औषधि लिन मानेका छैनन् ।

यसअघि केसीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले विशेषज्ञ चिकित्सकको टोली जुम्ला पठाएको थियो । तर, केसीले उनीहरूबाट उपचार सेवा नलिने जनाएपछि टोली फर्किएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक सक्षम भएकाले उनीहरूले नै आफ्नो उपचार गर्ने केसीले बताएका छन् ।

प्रकाशित : असार २७, २०७५ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अवैध शुल्क लिन्छन् इन्टरनेट सेवा प्रदायक

नियमविपरीत ग्राहकसँग अतिरिक्त शुल्क
विजय तिमल्सिना

काठमाडौँ — इन्टरनेट सेवा प्रदायकहरूले ग्राहकसँग नियमविपरीत अतिरिक्त शुल्क उठाउँदै आएका छन् । यसबापत प्रयोगकर्तालाई आर्थिक भार त परेको छ नै सेवा प्रदायकहरूले अवैध रूपमा करोडौं कमाइ गरिरहेका छन् ।

दूरसञ्चार नियमावलीमा ग्राहकलाई उपलब्ध गराएको दूरसञ्चार सेवा कुनै कारणले बिग्रेमा नि:शुल्क मर्मत सम्भार गर्नुपर्ने प्रस्ट व्यवस्था गरिएको छ तर इन्टरनेट सेवा प्रदायकहरूले भने हरेक ग्राहकसँग मर्मत सम्भार र अनुगमनजस्ता शीर्षक राखेर रकम असुलिरहेका छन् ।

‘ग्राहकलाई उपलब्ध गराएको दूरसञ्चार सेवा कुनै कारणले बिग्रेमा प्राधिकरणले तोकिदिएको स्तरअनुरूप नि:शुल्क मर्मत सम्भार गर्नुपर्ने प्रस्ट व्यवस्था गरिएको छ,’ दूरसञ्चार नियमावलीको बुँदा नम्बर १५ को ‘ज’ मा भनिएको छ ।

तर, दूरसञ्चार सेवाको अनुमति पाएका इन्टरनेट सेवा प्रदायकहरूले नियमावलीविपरीत शुल्क ग्राहकसँग उठाउँदै आएका छन् । ग्राहकसँग नियमविपरीत विभिन्न शीर्षकका रकम असुलेको भन्दै नियामक निकाय दूरसञ्चार प्राधिकरणले चैत १५ मा सबै इन्टरनेट सेवा प्रदायकहरूलाई शुल्क नलिन सचेत गराउँदै पत्र काटेको थियो ।

प्राधिकरणले पठाएको पत्रमा अनुगमन, प्राविधिक, मर्मत सम्भार, सहायता कुनै पनि शीर्षकमा शुल्क लिन नपाइने उल्लेख गरिएको भए पनि सेवा प्रदायकहरूले अटेर गरेपछि असार ४ गते पुन: पत्र काटिएको प्राधिकरणले जनाएको छ ।

विभिन्न शीर्षकमा रकम असुल्ने सेवा प्रदायकको अनुगमन थालिएको प्राधिकरणले जनाएको छ । अनुगमनका क्रममा विभिन्न शीर्षक राखी रकम लिएको भेटिएको भन्दै प्राधिकरणले मंगलबार सुबिसु र वेबसर्फरलाई पत्र काटेको छ ।

प्राधिकरणले दुई सेवा प्रदायकलाई मात्रै पत्र काटेको भए पनि अन्य सेवा प्रदायकले पनि उपभोक्तासँग इन्टरनेट शुल्कबाहेकको रकम विभिन्न शीर्षकका असुलिरहेका छन् । सबैभन्दा धेरै ग्राहक भएको इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकले आफ्ना ग्राहकसँग मनिटरिङ एन्ड टेक्निकल सपोर्ट शीर्षकमा प्रतिमहिना ५ सय ५० रुपैयाँ असुलिरहेको छ ।

प्राधिकरणको तथ्यांकअनुसार वल्र्डलिंकका ग्राहक २ लाखभन्दा बढी छन् । यो तथ्यांकको आधारमा मापन गर्दा वल्र्डलिंकले आफ्ना ग्राहकबाट मासिक ११ करोडभन्दा बढी असुलिरहेको छ । सुबिसु केबल नेट प्रालिका सञ्चालक सुधीर पराजुलीले प्राधिकरणको निर्देशनअनुसार साउनदेखि यस्ता शुल्क हटाउने बताए ।

प्रकाशित : असार २७, २०७५ २०:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT