प्रधानमन्त्रीको निर्देशन, 'खाल्डाखुल्डी तत्काल पुर्नुस्'

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी तत्काल पुर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएका छन् । उनले बुधबार सम्बन्धित मन्त्री, सचिव, सडक र यातायात विभागका महानिर्देशकलाई कार्यालयमै डाकेर निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको निर्देशन, 'खाल्डाखुल्डी तत्काल पुर्नुस्'

ओलीले कलंकी–थानकोट, चाबहिल–बौद्ध–जोरपाटी सडक तत्काल स्तरोन्नतिसहित कालोपत्रे गर्न, मुलुकभरका सबै सडक, ढल तथा अन्य पूर्वाधार निर्माण गर्दा आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


ओलीले यातायात क्षेत्रको सिन्डिकेट पूर्ण रूपमा अन्त्य गर्न बस व्यवसायी समितिलाई कम्पनीमा रूपान्तरण गर्नेलगायत आवश्यक कार्य तत्कालै सम्पन्न गर्नसमेत निर्देशन दिए । उनले सार्वजनिक यातायात भरपर्दो, सेवाग्राहीमैत्री तथा प्रविधिमैत्री बनाई ज्येष्ठ नागरिक, महिला, अशक्तलगायतलाई प्रदान गरिने आरक्षण सुविधाको उपभोग सहज बनाउन आग्रह गरे ।


प्रत्युत्तरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कलंकी–थानकोट, चाबहिल–बौद्ध–जोरपाटी र उपत्यकाका अन्य सडकका खाल्डाखुल्डी ५० दिनभित्र सर्वसाधारणलाई महसुस हुने गरी व्यवस्थापन गर्ने कार्ययोजनाअनुसार काम भइरहेको बताए । उनले सार्वजनिक यातायातमा सिन्डिकेट पूर्ण रूपमा अन्त्य भएको उल्लेख गर्दै कुनै पनि रूपमा यसको पुनरागमन नहुने दाबी गरे ।


मन्त्री महासेठले सार्वजनिक यातायातलाई व्यवस्थित कम्पनीमा रूपान्तरण गर्नेलगायत तत्कालीन तथा दीर्घकालीन व्यवस्थापनसम्बन्धी काम भइरहेको जानकारी दिए ।

प्रकाशित : असार २७, २०७५ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?