परिमार्जनसहित चिकित्सा शिक्षा विधेयक दोस्रो पटक संसद् लगिँदै

काठमाडौँ — सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रो पटक बिहीबार संसद्मा पेस गर्ने भएको छ । शिक्षा मन्त्रालयले गत शुक्रबार संसद्मा दर्ता गराएको विधेयक बिहीबारको बैठकमा पेस गर्न लागिएको हो ।

परिमार्जनसहित चिकित्सा शिक्षा विधेयक दोस्रो पटक संसद् लगिँदै

राष्ट्रपतिबाट वैशाख १३ मा जारी अध्यादेश निष्क्रिय भएपछि सरकारले विधेयक संसद्‌मा पठाएको हो । यसअघि २०७३ भदौ २९ मा तत्कालीन शिक्षामन्त्री धनीराम पौडेलले चिकित्सा शिक्षा विधेयक पेस गरेका थिए । अघिल्लो संसद्‍को अन्तिम बैठक २०७४ असोज २७ गतेसम्म पारित गर्ने प्रयास असफल भएपछि यो विधेयक निष्क्रिय भएको थियो ।


शेरबहादुर देउवा नेतृत्व सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ कात्तिक २४ गते अध्यादेश जारी गरेकी थिइन् । संघीय संसदको पहिलो अधिवेशनमा प्रतिस्थापन विधेयक पेस गर्न नसकेपछि केपी ओली नेतृत्वको सरकारको सिफारिसमा पुन: वैशाख १३ मा राष्ट्रपतिले अध्यादेश जारी गरिन् । अध्यादेश निष्क्रिय हुनु ५ दिनअघि असार १५ गते सरकारले प्रतिस्थापन विधेयक संसद्‍मा दर्ता गरे पनि असार १७ को बैठकमा कांग्रेसले विरोध जनाएपछि संसद्‍मा पेस गर्नै सकेन ।


डा. गोविन्द केसी अध्यादेशमा भएको व्यवस्था हुबहु विधेयकमा राख्नुपर्ने मागसहित जुम्लामा अनशनरत छन् । यसअघि अध्यादेशमा भएको व्यवस्था जस्ताको तस्तै राखेर विधेयक ल्याउनुपर्ने उनको माग छ । तर, सरकारले केही परिमार्जनसहित विधेयक अघि बढाएको छ । काठमाडौं उपत्यकाभित्र पनि मेडिकल कलेज खोल्न पाउने, अस्पताल खोल्नेबित्तिकै मेडिकल कलेज सञ्चालन अनुमति पाउनेलगायत व्यवस्था विधेयकमा छ । संसद्‍मा विधेयक पेस गरेपछि यसमाथि सैद्धान्तिक बहस हुनेछ भने सांसदहरूले संशोधन दर्ता गराउनसमेत सक्नेछन् । पछिल्लो दुई वर्ष चिकित्सा शिक्षा विधेयकको बहस व्यापक रूपमा भइरहेको छ ।


चिकित्सा शिक्षा आयोगले २०७३ वैशाख अन्तिम साता विधेयकको मस्यौदा सरकारलाई बुझाएको थियो । माथेमा कार्यदलले दिएको प्रतिवेदनका आधारमा डा. भगवान कोइराला संयोजक रहेको आयोगले विधेयक मस्यौदा तयार गरेको हो ।


प्रकाशित : असार २७, २०७५ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?